Skip to content


धेरै समयपछि म देहात फर्केको थिएँ घुम्नकै लागि । अझै पनि एउटा घर र केही कठ्ठा खेत बाँकी थियो देहातमा हाम्रो । ठेक्कामा दिएका थियौँ । बिचरा ठेक्कावाल पैसा पुर्याउन हाम्रै घर आउँथ्यो । कति सोझो थियो त्यो भने देख्दै टिठ लागेर आउँथ्यो । ऊ देहातमा हाम्रै घरमा बस्थ्यो । बुबाले घर भने सित्तै दिनुभएको थियो त्यसलाई । मेरो परिवारमा सबैभन्दा मनपर्ने मान्छे म नै थिएँ उसको । त्यसैले ऊ देहातमा आउन बारम्बार आग्रह गर्दथ्यो मलाई । मेरो घर आउँदा पनि कहिले परेवाको जोडी, कहिले आँपको अचार हालिएका डब्बाहरू, कहिले सुकाएका माछाका सिलहरू कोसेलीको रूपमा ‘यो चाहिँ सानो बबुवालाई’ भन्दै छुट्टै बोकेर आउँथ्यो । म सानोमा खुब घोङी खान्थे अरे उसकै घरमा, खुब मीठो मानेर । उसले लुकाइ-लुकाइ घोङी खान दिएको केही सम्झना पनि आउँछ मलाई । ‘आब न बबुवा देहातमा । म खुब मीठो पकाएर घोङी खुवाउँछु ।’ उसकै बारम्बारको आग्रहमा म देहात गएको थिएँ।

खुब रमाइलो लाग्यो मलाई देहात । जहाँ जता हेरे पनि ती बालककालका क्षणहरू नजरभरि घुँघुँती खेल्न झुत्तिन्थे । कतै खरले, कतै खबटाले त कतै टायलले ओत लगाइएका, बाँसकै टाटी, बाँसकै खाँबाले बनेका घरहरू, देख्दा मेरो बाल्यकाल फरक्क फर्किन्थे ती झुप्राहरूभित्र । आँगनभरि घुरघुर मा.. घुर… गर्दै घुर्दै गरेका परेवाहरू, पैनीमा कुलकुल,, क्वाँक्-क्वाक् गर्दै पौडिरहेका हाँसहरू । ओहो ! ती अतीतका मीठा सम्झना र पलहरूले छपक्क छोपे मलाई । खै किन-किन आँखा भरिँदै आए । मन मीठो सम्झनाले मसक्क हाँस्यो । ‘साँच्चै जन्मभूमि साह्रै प्यारो र रमाइलो लाग्दो रहेछ क्यारे ।’ मेरा प्रत्येक ढुकढुकीले यस्तै-यस्तै शब्द बोलिरहेको थियो।

मेरा ती सजल आँखा केही टाढा एउटा आकृतिमा गएर ठोक्किन पुगे । झल्याँस्स बिउँझिएझैँ भयो मस्तिष्क तर सम्झना तरङ्गियो । नसा-नसामा त्यो तस्बिर बग्यो तर ठम्याउन सकेन जिउँदो वा मुर्दा ? त्यो मानव समाजभित्र छ वा कुनै परलोकमा । कसको आकृति हो त्यो ? हाम्रो ठेक्कावाल रामदास चाचाको ? वा उसको बाबु रामविलासको ? वा भगवान्
रामको ? के ऊ हामीभित्रै छ ? मानव समाजभित्रै छ ? धेरै रिङ्गायो मन । कता-कता खै के रिसका जराहरू उमि्रए । कतै सहानुभूतिका छालहरू उर्लन थाले । कतै दयाका पात्रहरू जम्जमाउन थाले । एकोहोरो हेराइभित्र स्वाट्ट पसे रामदयाल चाचा।

निक्कै बूढा भइसकेछन् । गाला बेस्करी चाउरिएर खोबिल्टा परिसकेछ । लठ्ठी साहारा नै रहेछ । आङका कपडा झल्लरझैँ देखिएछन् ती पनि घुर्मैलो भएका । सेतै कपाल, दाह्री, जुङ्गा, काला हात पाखुरा, गोडा । बाक्लो सानो-सानो गोलो सिसा भएको पावरदार चश्मा । एउटा हातमा कालो-कालो छिद्रा पर्न खोजेको खाल्डो कचौरा, कचौराभित्र छ्यास्मिसे चामल अनि केही एक-दुईका सिक्का पैसा । के यिनी रामदयाल चाचा नै हुन् त ? एकछिन मन सशङ्कति भयो । स्मृतिका गहिरो दृष्टिले झुक्काउन सकेन । हो, उनी रामदयाल चाचा नै हुन्, पक्का भयो मन । आँखा एकटक त्यही आकृतिमा टाँसिरहेको थियो । पैताला उनीतिर सुस्क-सुस्क बढ्दै थिए । आवाज चिच्चाउन खोज्थ्यो ‘रामदयाल चाचा ! बयलगाडा लिएर जमुना-कुसुम खान जाने होइन ? घाँस-दाउरा पनि एकैपटक घरमा आउँछ । चाचाले ‘चल न तो बबुवा । जङ्गल तो हमरको जाने नै छ ।’ भन्दै बयलगाडा लिएर आए । म गुड्दै गरेको बयलगाडाको बारमा समातेर माथि चढ्न खोजेँ । चाचाले एक हातले गोरुको रसी समात्दै अर्को हातले मलाई तानेर गाडामाथि राखे । हामी जङ्गलतिर जाँदै गर्दा गाडामाथि चढ्ने रमुवा, पुरन, घरीक्षण, प्रकाश, पिङ्की, थुप्रै जना भयौँ । देहातबाट जङ्गल टाढै थियो । चाचाले जलखाई पनि बोक्नुभएको रहेछ । चाचाको जलखाई हामीले त त्यहीदेखि नै खान सुरु गर्यौँ । चाचा गाडा हाँक्दै रहनुभयो, हामी चाचाको टुप्पी कसले पहिला तान्न सक्ने ? भन्दै चाचाको टुप्पीमा खेल्न थाल्यौँ । सबै जना एकैपटक चाचामाथि झुम्मिँदा झण्डै चाचा गाडाबाटै झरेका ! म झसङ्ग झस्किएँ । विषयवस्तु अतीतसँग टाँसिएको रहेछ । म त वर्तमानमै पनि हराएछु।

सबैको चाचा थिए रामदयाल चाचा । एउटा छोरासहित पति पत्नी बस्दथे एउटा सानो झुप्रोमा तर मन महलजस्तो थियो । काम उनको साहूकोमा बयलगाडा चलाउनु भए पनि हरेक घर आँगनमा, हरेक मान्छेको साथमा उनी रहन्थे हरदम । गाउँमा उनले काम नसघाइदिएको सायदै थिए कोही । मिलमा पिसानी गर्न लानुपर्यो । खेतमा औषधि छर्नुपर्यो, सिसौको रूखमा चढेर घिरौँला टिपिदिनुपर्यो, परेवाको खोर बढारिदिनुपर्यो, उनी निस्वार्थ हरेकको काममा सघाउन पुगेका हुन्थे । ‘भगवान्को दुआ छ, दुई हात पाऊ, यसैले कमाएको पुगिहाल्छ । दुसराको कथि लोभ कर्नु ?’ उनी ठूलो हृदय, खुल्ला मनका थिए । साथै खुसी देखिन्थे, सधैँ हाँसिरहन्थे।

एकपटक बेस्सरी रोएको देखेको छु मैले रामदयाल चाचालाई जतिखेर उनको छोराको मृत्यु भएको थियो ज्वरोको कारण । धेरै ओखती गरे उनले । धेरै गाउँका जान्नेलाई देखाए तर आखिरमा छोरोलाई गुमाए । त्यसबेलामा अत्यन्तै दुःखी देखिएका थिए चाचा । बिचरा सासविनाको छोरालाई लिएर आकुल-व्याकुल भएका थिए उनी । त्यसबेला उनको पीडामा गाउँ दुखेको थियो । हामी बच्चाहरू पनि रोएका थियौँ।

त्यहाँपछि त झन् रामदयाल चाचा बच्चाहरूलाई यति प्यारो गर्दथे कि जति उनीहरूका आमाबाबुले गरुन् । हामी घाममा स्कुलबाट फर्किंदा पालैपालो साइकलमा घरसम्म ल्याइदिनुहुन्थ्यो । कतिपटक हात समातेर स्कुलै पनि पुर्याइदिनुभएको छ चाचाले मलाई । कति अरू बालसाथीहरूलाई जिस्काउँदै, बोकेरै पनि स्कुलमा छाड्न जानुहुन्थ्यो उहाँ । छुट्टीका दिनहरूमा बयलगाडामा राखेर जङ्गल, नहरतिर डुलाउन लानुहुन्थ्यो् । ‘खुब लिखिए पढिए हँ बबुवा । खुब बड्का आद्मी बन्नुपर्छ ।’ उहाँ हामीलाई पढ्न लेख्न उक्साउनुहुन्थ्यो।

एकपटक प्रकाशले स्कुलमा आफ्नो कपी र पेन्सिलै हराएछ । घरमा उसको आमाले उसलाई पिटेर हैरान । भोलिपल्ट कपी-पेन्सिलविना नै ऊ रुँदैरुँदै स्कुल जाँदै थियो । बाटोमा प्रकाशलाई रोकेर रामदयाल चाचाले नयाँ कपी र पेन्सिल किनिदिँदा प्रकाश कम रमाएको थिएन । उल्टै चाचाले नै बुईमा बोकेर उसलाई स्कुल पुर्याएका थिए।

पास्पत साहूको बगैँचामा पसेर अम्बा र आँप चोर्दाको क्षणले मलाई सधैँ घोचिरहन्छ । साथीसाथीको लहलहैमा हामी पास्पत साहूको बगैँचामा पस्यौँ । त्यहाँ लटरम्म आँप, अम्बाहरू पाकिरहेका थिए । पास्पत साहू अत्यन्तै लोभी र डरलाग्दो थियो । त्यसलाई देख्दैमा हामीलाई रिस उठ्थ्यो । आज त्यसकै बगैँचामा सुटुक्क पस्यौँ हामी । सकुञ्जेल टिपेर आँप, अम्बा खायौँ । बगलीमा पनि हाल्यौँ तर बगैँचाबाट निस्कने बेलैमा पास्पत साहू आइपुग्यो । अरू त्यहाँबाट कुलेलम ठोके तर म र नारायण अल्झिएर लड्यौँ । पास्पतेले समाइहाल्यो हामीलाई । हामी डरले कालो-नीलो भयौँ । पास्पतेको त डर छँदै थियो, अब हाम्रा बुबा-आमाले झन् के गर्ने, भन्ने हुन् ? डर शङ्काले हामी भुतुक्क भयौँ । आँखाबाट आँसु चुहिँदासम्म पनि त्यसले छोडेन हामीलाई । आँपकै फेदमा बाँधेर राख्यो । भाग्ने साथीहरूले चाचालाई यो कुरा सुनाएछन् । दौडँदै चाचा आएर खै के के भने पास्पतेलाई ? पास्पतेले चाचालाई नै पो पिटौँलाझैँ गर्यो । अन्तमा दुई सय रुपियाँ तिरेर त्यहाँबाट छोडाए चाचाले हामीलाई । त्यसको भोलिपल्ट एक पसरी आँप किनेर ल्याएछन् चाचाले । नहरको चौरमा बसेर खाँदा कम मज्जा आएको थिएन।

अँ अर्को घटना पनि याद आउँछ मलाई । वर्षाको समय थियो । सिमसिम पानी पनि परिरहेको थियो । चाचा हाम्रो घर पछाडि जमेको पानी निकासा गर्न कुलो खनिरहनुभएको थियो । पैनीबाट झ्याउ……. झ्याउ……… बच्चाहरू कराएको हामीले पनि सुन्यो । ‘बगायो……. बगायो………… किशोर……… !!’ यस्तै आवाज सुन्यौँ हामीले । गर्दागर्दैको काम चटक्कै छोडेर चाचा पैनीतिर दगुर्नुभयो । अन्य मान्छेहरू पनि त्यतैतिर कुदे । बर्खाको भेल उर्लिएको पैनीले देवनारायण र किशोरलाई बगाएछ । चाचा त त्यहाँ पुग्ने बित्तिकै पैनीमा हामफाल्नुभयो । ‘रामु छिटो गर् छिटो………. लौ न रामु !’ मान्छेहरू पैनीको डिलमा बसेर कराउँदै थिए । चाचाले दुवैको कपालमा समातेर पैनीबाट बाहिर निकाल्नुभयो । मेरो त डरले मुटु काँपिरहेको थियो । धन्न चाचाले बचाउनुभो मोराहरूलाई।

चलचित्रको रिलझै, उर्लिएको भेलझैँ कुनै रोकतोक, बगेको बगेकै गर्न थाल्यो । कोसिस पनि भएन कि वा कोसिस गर्ने क्षण नै आएन, गर्नै खोजिए कि के भयो ? त्यस तस्बिरमा आँखा गाडिरहृयो, स्मृतिका अनगिन्ती प्रतिबिम्बहरू अगाडि आएर उभिईरहे । म टोहोलो भएछु।

‘सानो बबुवा । कथि भयो ?’ रामदास चाचाले बोलाउँदा पो म अतितबाट फर्किएँ । ‘चाचा उनी रामदयाल चाचा होइनन् ?’ तुरुन्त सोधेँ मैले । ‘हो नि । कस्तो याद बबुवालाई ? चुड्कीमे चिनिहाल्यो, अरू लोकले त चाचालाई बिर्सिगयो बबुवा ! बिचरा चाचा मागजोक कर खान्छ । बूढा भयो अब तो उसको साहारा वी कोइ छैन ! मेरो सम्झनामाथि झन् चोट पुग्ने गरी रामदास चाचाले भने । ‘अनि उनको श्रीमती खोइ त ?’ झट्टै सोधे मैले । ‘बहुत भै गयो व मरेको । बिमारीको ओखती गर्नै सकेन चाचाले । बिचरा चाची बहुत बुरा हाल मे मरिगयो ।’ रामदास चाचाको बोलीसँगसँगै नेत्रजल टुपुक्क खसेछन् ओठ नै नेर मेरा अनि ‘हगि चाचा !’ भारी गलाले आफ्नो स्वरलाई मुखबाट निकालेछ।

रामदास चाचालाई लिएर म रामदयाल चाचा भएको ठाउँमा गए । ‘चाचा पाऊ लागें !’ यसरी नै भनें मैले- ‘कौन छि ?’ चाचाले त्यो पावरवाला चश्माको सिसाबाट निहाल्दै गलित स्वरमा सोधेँ । ‘व प्रेम माडसा’बका छोड्का लैका नबु बौबा !’ रामदास चाचाले मेरो परिचय गराइदिनुभयो । ‘अहिले कस्तो छ तिमीलाई ? बुबाआमा कहाँ छन् ? कस्ता छन् , के गर्दैछौ ? पढ्न-लिख्न छाड्यौ कि अझै पढ्दैछौ ? पढ्न लिख्नुपर्छ है । जागिर गर्छौ कि गर्दैनौ ? सानो थियौ, अहिले त यत्रो भएछौ अनि कसरी चिन्नु ?’ दयालचाचा बोल्नुभएन तर हातको इशाराले, ती सजल आँखाले सबै कुरा बोले । चाचाको हरेक औँला, आँखा, ओठ पढेँ मैले, अझै हाम्रो माया थियो उनको मनमा । ‘चाचा बूढा हुनुभएछ । जाउ चाचा रामदास चाचाकोमा । बसेर गफ गर्न मन लाग्यो मलाई चाचासँग………. !’ मैले बोल्दा-बोल्दै रामदयाल चाचाले मेरो कुममा बिस्तारै धाप मार्नुभयो र आफ्नै बाटो लाग्न थाल्नुभयो । उहाँका आँखा भरिएका थिए, गलाबाट बोली निस्किएको थिएन । मैले प्रस्टै अनुभव गर्दैथिएँ।

मैले पर्सबाट पाँच सयको नोट निकालेर चाचाको कचौरामा राखिदिएँ । चाचाले लिन मान्नुभएको थिएन । ‘एक रुपियाँ देउ एक रुपियाँ !’ भन्दै हुनुहुन्थ्यो इशाराले । मैले जबरजस्ती पाँच सय एक रुपियाँ दिएँ । ‘भगवान् ने दुआ करे………. !’ फत्फताउँदै दयालचाचा लागे आफ्नो बाटो।

मेरो मन झन् ढक्क फुलेर आयो । नाकका पोरा पनि फुलेको महसुस गर्दै थिएँ मैले । त्यो बेलाको गाउँ, आफू, प्रकाश, रमुवा, नारायण, किशोर, देवनारायण……….. धेरैलाई सम्झिएँ मैले । उनीहरू पढे लेखे होलान् । आ-आफ्नो व्यवहारमा लागे होलान् । हामीलाई पढ्न हौसाउने, चोरीबाट बचाउने, मृत्युको मुखबाट निकाल्ने, दयाको सागर रामदयाल के उनी हाम्रै समाजमा छन् त ? कि यी बेसहारा बूढो रामदयाल नै हुन् त ?’ मेरो मन भुट्भुटिइरहृयो।

‘चल् बबुवा !’ रामदास चाचाले मेरो हात समातेर भन्नुभयो । ‘चाचा ! आज रामदयाल चाचालाई पनि हाम्रै घरमा, हामीसँगै घोङी खुवाउन लगौं न हुन्न ?’ मैले रामदास चाचालाई भने । उहाँ मेरो अनुहार हेरेको हेरेकै हुनुभयो । मेरो आँखा भने अझै रामदयाल चाचाको आकृतिमा टाँसिइरहेका थिए । दयाल चाचा थ..र..थर.. काँप्दै, लठ्ठीको साहारामा आफूलाई अगाडि बढाउँदै हुनुहुन्थ्यो !
-रौतहट

Leave a Reply

Your email address will not be published. Required fields are marked *