Skip to content


समयले उसलाई यस्तो मोडमा ल्याएर छोडिदियो कि ऊ अब कसैको स्पर्शमा रहेर बाँच्न चाहन्छ । लामो समयसम्म ऊ एक्लो रहँदा आफूलाई कहिल्यै कुनै कुराको असहज महसुस गरेको थिएन । ऊ अरूको भावनालाई सधैँ कदर गर्न खोज्थ्यो तर कहिल्यै सहज र सरल हुँदैनथ्यो । कुनै न कुनै कुरामा ऊ चुकेको हुन्थ्यो । त्यस्तो विडम्बनाले उसलाई बेलाबेलामा दुःखी बनाउँथ्यो । आज उसलाई फेरि पुनः बिहे नगरेकोमा पछुतो लागेको छ । अनन्त भावनाका कटु भोगाइहरू उसले आजसम्म एक्लै भोगेको छ, अनि सङ्गालेको छ, थिचिएको छ । आजसम्मका ती दिनहरू उसले कसरी गुजार्यो त्यो उसैलाई पनि थाहा छैन होला ? उसलाई यति मात्र थाहा छ, एउटी नारीको सहभागिता र असहभागिता जीवनको निम्ति कति ठूलो दुःखद र सुखद आधार हुनसक्छन्. । आज मात्र उसलाई पूर्वाभास भएको छ।

विछोडपछिका आधा यात्राको बोध उसलाई आज केही हलुका भएको महसुस भएको छ । ऊ खुसी भए पनि त्यो क्षणलाई उसले भित्रैबाट दबाएको छ । कसैको अगाडि फेरि ऊ हलुका हुन पनि चाहँदैन तर जीवनभर बाँधिएको त्यस जन्जिरबाट मुक्ति पनि त पाउनु छ अब । त्यसैले ऊ आफ्ना जीवनका सुख, दुःखका रेखाहरू फेरि हेर्न खोज्छ र देखाउन खोज्छ कसैलाई । बसेको कुर्सीबाट ऊ जुरुक्क उठेर एकतमासले बर्बराउन थाल्छ, हेर म सामान्य मान्छे हुँ, मलाई अरू केही पनि चाहिँदैन, सिर्फ माया, प्रेम र भावना भए पुग्छ । मसँग अरू केही पनि छैन । दुई चार अक्षर जानेको छु । केही काम गरेर जीविकोपार्जन गर्न सक्छु । उसले एक साथसाथै सबै कुरा ओकल्यो । त्यसपछि थचक्क पुनः त्यही कुर्सीमा बस्यो । ठीकै छ, तिमीलाई म मन पर्छु भने बिहे गर्न तयार छु । उसले आफ्नो अन्तिम निर्णय सुनायो । उसको विचारमा ती महिलालाई केही अप्ठ्यारो पनि पर्ला र उनी गम्भीरताबाट केही तरङ्गित होलिन् भन्ने सोचेको थियो तर कुरो उल्टो रहृयो । उनी मुद्रामा कति पनि विचलित नभई, उपेक्षित जस्तै भावमा ठीकै छ ! भइहाल्छ नि ! भनी दिइन् । त्यसमा उनीले केही अप्ठ्यारो महसुस गरिनन्।

उनी खासै बोल्दिनथिन्, त्यहाँ बसेको लगभग दुई घण्टामा धेरै बोलेकी भए मुस्किलले बीस-तीस शब्दहरू बोलिन् होला । त्यसपछि उनी त्यही गम्भीरतातिर हराइन् । उसलाई अझै धेरै कुरा बोल्नु थियो । त्यसैले ऊ पुनः बोल्ने बाटो खोज्छ । ए ! सरी, तपाईंको नाम सोध्नै बिर्सेछु । ऊ खिस्स हाँस्छ । विगतका वेदनाले थिचेका ओठहरू । ठीकै छ, त्यसमा के को सरी । मेरो नाम यामुना, उसले सहजरूपमा बताई।

ए ! झण्डै नाम मिलेको, उसको मुखबाट केही शब्दहरू फुस्किन लागेको थियो तर कसो कसो ती शब्दलाई दबायो र बाहिर झ्यालबाट केही हेरेजस्तो गर्यो । ऊ एक किसिमले निराश पनि थियो । विगतका कुराहरूलाई बिर्सेर ऊ त्यस वातावरणमा रमाउन चाहन्थ्यो । त्यसैले ऊ आज नारीप्रतिको आकर्ष्ाणमा मुग्ध छ । के उसले नारी जातिको सङ्गत कहिल्यै गरेको थिएन ? ती नै र त्यस्तै सङ्गतले ऊ भित्र हीनताबोधको र आत्मग्लानिको ठूलो पोखरी बनाएको थियो । त्यसैले होला आज सोम सानु उसमा जीवन साथीप्रति हार्दिक भएर समर्पित हुने तीर्खा बढाएको थियो । उसले जीवनमा त्यस्तै केटीको सङ्गत गर्यो, त्यस्ती केटीको जसको परिभाषा गर्न ऊ अझैँ सक्दैन । अपरिभाषीय भएरै छोडी निष्ठुरीले खै, छोडी पनि कसरी भनुँ, त्यही त अबुझ भएको छ, उसको मन-मस्तिष्कमा । यो उसको जीवनमा ठूलो समस्या र चुनौती भएर आएको छ।

उसले तिनलाई बेलाबखत नदेखेको पनि होइन तर यति मात्र हो, उसको मन र भावनाभित्र लागेको घाउलाई त्यस भेटले सधैँ आलो पार्छ । उसको त्यो घाउलाई बिसेक पार्न उसले के गरेन तर सबै निरर्थक भएपछि बिक्षिप्त भएर ऊ त्यही रक्सीको शरणमा पुग्थ्यो र केही क्षण भए पनि ऊ आफूलाई शान्तिको अनुभव गथ्र्यो । रक्सीलाई साथी बनाएर उसले तीन चार वर्ष जति गुजार्यो । आफ्ना साथीहरूसँग प्रायः बोल्दैनथ्यो । कसैले केही सोधिहालेमा प्रतिउत्तरमा आज मेरो मुड अफ छ । केही बोल्न पनि मन छैन । प्लिज एक पेग खाउ न भन्थ्यो । यस्तै दिनचर्याले उसका दिनहरू बित्थे । उसको मन-मस्तिष्कमा मच्चिएको द्वन्द्वलाई रक्सीका पेगहरूले कहिल्यै शान्ति र उज्यालोको अनुभव उसलाई गराउन सकेन । उसमा कुनै पनि सकारात्मक परिवर्तन आउन सकेन । अर्थात् शारीरिक परिवर्तन, ऊ असाध्यै दुब्लाएको थियो । चिन्ने जान्नेहरू भन्ने गर्थे यसलई रक्सीले खाइसकेको तर उसलाई यो अवस्थामा ल्याउने पक्षबारे कसैलाई चासो लिने फुर्सत थिएन । भट्टीमा सधैँ एकोहोरिन्थ्यो र बरबराउँथ्यो । त्यो जमुना मलाई असाध्यै माया गर्थी यार । अझैँ पनि माया गर्छे जस्तो लाग्छ । बाटामा देख्दा बोलौं जस्तो गर्छे । साँच्ची ममा कस्तो कस्तो हुन्छ यार ! सत्ते अझै पनि माया लाग्छ । चुरोटको लामो सर्को बनाउँदै ऊ यस्ता कुरा गरिरहन्थ्यो । कहिलेकाहीँ रक्सीले मात्तिएर आफ्नो कोठामा पुग्थ्यो । कोठामा राखिएका सामान यताउता छथ्र्यो । दराजको ऐनामा आफ्नो अनुहार खुम्च्याएर एकोहोरो रुन्थ्यो । अनि त्यही रक्सीको घुट्को घुटुक्क पारेर रुन्चे हाँसो हाँस्थ्यो । आँखाबाट आएको आँसुलाई पुछ्दै कुर्सीमा थचक्क बसेर लेख्न थाल्छ आफ्ना वेदनाहरू । हुन लागेको उसको त्यो बिहेले उसको जीवनलई एउटा निश्चित भङ्गालोमा हिँडाउँछ भन्ने विश्वास भने उसमा पनि थिएन । किनकि नारीप्रति आशक्ति थियो तर विश्वासचाहिँ गर्दैनथ्यो । आफ्नो सम्पूर्ण व्यथाहरू समझदार ती जीवनसाथीको पोल्टामा खन्याउने र निश्चित भएर नवजीवनको सुरुवात गर्ने भन्ने कुराले उसलाई निक्कै रोमाञ्चित भने तुल्याएको थियो आज । उसलाई कताकता अप्ठ्यारो महसुस भइराखेको थियो तर त्यस अन्तिम निर्णयले खुसी पनि ल्याएको थियो । फेरि ऊ झ्यालबाट माथि हेर्छ चम्किएको बिजुलीसँगै चिसो हावा र पानीको वषर्ा हुन्छ । उसभित्रका द्वन्द्वका पीडा शिथिल हुन्छन् । त्यसपछि केही शान्त, केही उज्यालोको अनुभव गर्छ ऊ । अनि नवआगन्तुक श्रीमतीको न्यानो स्पर्शमा रमाउँछ।

कुनै पनि पुरुषको बिहेपछिको पहिलो रात जीवनको अविस्मरणीय रात हो ऊ सोच्दै थियो । यस्तै यस्तै कुरामा ऊ हराएको थियो । फोनिक तथा फेन्टासिक सपनामा हराउँदै थियो ऊ । ती युवतीलाई दुलही पछ्यौराभित्र रमेको देख्छ । त्यसै पनि गम्भीर स्वभावकी युवती र त्यसमा पनि सुहागरात । त्यही कोठालाई सुगन्धित मनमोहक र मादक पारिएको ठान्छ । उसले के गरौं के गरौँ जस्तो लागेर होला झ्याल खोलेर हेर्छ । आकाश फेरि गर्जिएको थियो धुम्मिएको कालो बादल सम्पूर्णरूपमा पोखिन चाहन्थ्यो होला सायद । बाहिर पानीका थोपाहरू थपथपाइरहेका थिए । नजिकैको घण्टाघरको बाह्र बजेको जोडको घण्टीले उसको त्यो फोनिक सपनालाई झस्काउँछ र ऊ पूर्वअवस्थामा आउँछ।

समयको अन्तरालमा उसको त्यो सपनाले विपनाको स्वरूप लिन्छ । उनै आँखा जसभित्र अनमोल उदासीको रहस्य गहिरिएको छ । दुलहीले आँखा लुकाइन् उसलाई पनि हतार देखाउन लाज लागेको थियो । उसले काम नपाएझैँ नजिकको टि.भी बन्द गर्यो । लजाउँदै ऊ दुलहीकै छेउमा पुग्यो । लामो समयसम्मको त्यो गहुँगो जीवनलाई उसले आफ्नी अर्धाङ्िगनीको काखमा मुन्टो लुकाएर पल्टियो । दुलही सायद उकुसमुकुस गर्दै थिइन् । त्यसको उसले केही प्रवाह नगरी आफ्नो सम्पूर्ण रहस्य खोलिरहृयो । दुलही आफ्नो गम्भीर स्वभावभन्दा बढी नै छट्पटाइरहेकी देखिन्थिन् । उनको गहिराइको रहस्य खोल्न सके उसको प्राप्ति ठूलो हुने थियो । यसै इच्छाले प्रेरित थियो ऊ । यस्तै भावनाभित्र ऊ रातभर बोलिरहृयो । दुलहीको सही तपाईंले उनी आफूभित्र संवेदनशील बन्दै गएकी छन् भन्ने उसले चाल पायो । ऊ फेरि पनि निरन्तररूपले पोखिदै गयो । ऊ आफ्नो जीवनका पूर्व-वृत्तान्त बताउँदै थियो । वास्तवमा यस्तै केटीको मुटु चुडाइले नै म तिमीसँग यसरी बिहे गर्न आकृष्ट भएँ जस्तै लाग्छ । यसरी आफ्ना विगतका तुनाहरू दुलहीसँग फुकाउँदै थियो ऊ । उसका ती स्मरण शब्दहरूबाट दुलही पनि द्रवित भइसकेकी थिइन् । त्यसैले उनीभित्रको रहस्यबाट पनि सुस्त-सुस्त सुमधुर शब्द ध्वनिहरू तरङ्गित हुन थालेका थिए।

कति कर्णपि्रय आवाज छ उनको सायद कम बोलेरै धेरै मीठो हुन्छ होला आवाज । त्यस्तै सुमधुर आवाजमा दुलही भन्छिन् र त्यस्तो नियतिले डोर्‍याएतिर मानिसले नचाहे पनि डोरिनुपर्छ भन्ने कुरा म पनि स्वीकार्छु । त्यसैले नारी जातिको सम्बन्धमा पनि पुरुषको समान स्वतन्त्र धारणा राख्नुहुन्छ भन्ने कुरा मलाई पूर्णरूपमा विश्वास छ । दुलहीको कुरा नटुङ्गिदै ऊ बोल्न थाल्दछ । “हेर ! म नारी पुरुषको स्वतन्त्रताको सम्बन्धमा समान धारणा राख्छु । यो कुरो उसले यति आत्मविश्वाससाथ भनेको थियो कि त्यसमा शङ्का गर्ने ठाउँ थिएन । लोग्ने मानिसहरू जतिसुकै उदार भए पनि स्वास्नी मानिस जस्तो उदार हुन त सक्दै सक्दैनन् तर पनि मैले यस्ता जोडी पनि देखेको छ, स्वास्नीमान्छेभन्दा लोग्नेमान्छे नै उदार रहेको।

तपाईंका सबै कुरा मैले सुने । त्यसमा मलाई दुःख लागेको छ । संसारै यस्तो हो कसैलाई सुख र कसैलाई रोदन । तपाईंको जस्तो नभनुँ तर मेरो पनि तपाईंसँग मिल्दोजुल्दो कथा छ । उनले अहिल मलिन स्वरमा भनिन् । त्यसपछि उसलाई ठूलो आवाजसँग चट्याङ पर्यो । सम्पूर्ण पृथ्वी नै कम्पित भएझैँ । त्यस चट्याङ कतै नपरी आफ्नै मुटुभित्र परेजस्तो भयो । उसले केही देखेन । आफ्नो शरीर कामेजस्तो भयो उसलाई र बोल्न पनि सकेन तर उनी एकोहोरो बोलिरहेकै थिइन्- म केही वर्षअघि मन पर्ने साथीसँग पोखरा घुम्नको लागि रात्रि बसमा चढेकी थिएँ । बस आधा बाटोमा पुग्दा नपुग्दै जाममा पर्यो । त्यसपछिका कुराहरू क्रमशः उनी बयान गरिरहेकी थिइन् तर त्यस्ता कुरामा सोध्न मात्र होइन सुन्न पनि नसक्ने भइसकेको थियो ऊ । उठेर टेबुलमा राखेको चुरोटको खोलबाट एउटा चुरोट सल्काउँछ र लामो सास फाल्दै सम्पूर्ण धूवाँ कोठामा फाल्छ । कोठाको वातावरण कालो बादलले छाएको आकाशजस्तो देखिन्छ । त्यो वातावरणलाई छेड हान्दै उनी भन्छिन्- तपाईं अलिक बढी चुरोट पिउनु हुँदोहरेछ । हुन त यसले मलाई होइन तपाईंलाई नै हानि गर्छ । अँ… म के भन्दै थिएँ । अलिक लाड्डे स्वरमा भन्दै थिइन् उनी ए ! ऊ चुरोट पनि खाँदैनथ्यो त्यस रात थाहा छ ? निक्कै जाडो थियो । सायद पुसको महिना हुनुपर्छ । हामीलाई जाडोले निकै सताएको थियो । मैले ओडेको सल उसलाई दिएँ तर फेरि मलाई जाडो भयो, अनि सायद, आफ्नै धुनमा बोलिरहेकी थिइन् उनी।

उसको अनुहार रातो भएर आयो । उसले आफ्ना ओठहरू टोक्यो । आँखा ठूलो पार्दै जुरुक्क उठ्यो, दराज खोल्यो र रक्सीको बोतल निकाल्यो । त्यो बोतलको रक्सी एक घुट्कैमा सिध्यायो । तपाईंले मलाई पहिले नै वाचा गर्नुभएको थियो नखाने तर यति चाँडै वाचा भङ्ग ? हेर्नुहोस् मैले भने नि त्यस्तो जाडोमा उसले बसमा पनि रक्सी पिए । अब उसलाई भाउन्न भएर आयो । उसको अगाडि अँध्यारो छायो । केही देखेन उसले, छामछुम गरेर झ्याल खोल्यो र बाहिर हेर्यो, आकाशमा कालो बादल मडारिँदै थियो । जस्तै उसको जीवनमा भइराखेको छ । ऊ चुपचाप ढोका खोलेर बाहिरियो । केही समयपछि पुनः ऊ आफ्नो कोठामा अचेत अवस्थामा आइपुग्यो र सोफामा पल्टियो । समान-स्वतन्त्रताको उसका आदर्शहरू यसरी फुटेर गए, जस्तै ऐनाझैँ । सायद त्यो रात उसका लागि एउटा दुःखान्त र अन्तिम रात थियो।

1 thought on “अन्तिम रात”

Leave a Reply

Your email address will not be published. Required fields are marked *