कठै ! देश हाम्रो बिझ्यो नीलकाँडो
उखेलेर फालौँ गरौँ काम चाँडो ।
बढ्यो लोडसेडिङ भयो अन्धकार
कहाँ खोज्न जाउँ अघिको बहार ।
मझौला र साना कति धेर काम
लथालिङ्ग पार्यौ हरे राम ! राम !!
गुडाएर लड्डु झिल्ली झार्न थाल
रमाओ कमिला झिँगा मोज मार ।
गरायौ निर्वाचन सभा संविधान
गराउँछौ कैले रोगको निदान ?
बढायौ महँगी चढाएर जेट
उडायौ हुरीमा हरियाली खेत ।
भयो खेल धेरै कमिशन राम्रो
यही खेलले याम गुज्य्रो नराम्रो ।
कुपुत्रहरूको गति छाड चाला
देखेर रुन्छिन् धरणी बिचारा !
न वर्षन्छ पानी, न त फल्छ अन्न
सफा स्वच्छ हावा अब ता बहन्न ।
