१. विषय प्रवेश
मोफसलको साहित्यिक आँगनमा उदाउँदै गर्नुभएका साहित्यकार वीरेन्द्र थोकलिहाङको उत्कृष्ट नाटक संग्रह हो यदि उसको भविष्य बन्छ भने । नाटककार वीरेन्द्र थोकलिहाङ एक उदाउदा सशक्त साहित्यकारका रुपमा स्थापित व्यक्तित्व हुन् भन्ने कुरा उहाँको साहित्यिक यात्राबाट स्पष्ट हुन्छ। साहित्यकार बिरेनजीले आफ्ना थुप्रै कृतिहरू प्रकाशित गरिसक्नुभएको छ। गुम्सिएको अभिव्यक्ति (उपन्यास २०४८) घाँडो (कथा संग्रह २०५२) प्यासी ओठ (उपन्यास २०६३) पीडा बोर्डिङ मास्टरको (कविता संग्रह २०६४) युद्धमा मारिएकी लुङा बहिनीको चिठी (कविता संग्रह २०६५) र यदि उसको भविष्य बन्छ भने (नाटक संग्रह २०७६) आदि जस्ता गहकिला साहित्यिक कृति हरु नेपाली साहित्यको भण्डारमा सुम्पिएका छन्।
२. यदि उसको भविष्य बन्छ भने (नाटक संग्रह २०७६) माथि विहङ्गम दृष्टि
नाटककार वीरेन्द्र थोकलेहाङद्वारा लिखित यदि उसको भविष्य बन्छ भने नाटक संग्रह २०७६ सालमा प्रकाशित भएको नाटक हो। यस नाटकको प्रकाशन सीताकुमारी जबेगु सिता लावतीले गर्नुभएको छ यस नाटकमा तीनवटा नाटकहरु संग्रहित रहेका छन् । तुहिन्छन् यसरी क्रान्तिका सपनाहरू पहिलो नाटकका रूपमा यस एकाङ्कीमा समेटिएको छ। त्यसैगरी दोस्रो नाटकको रूपमा वेलकम टु एड्स शीर्षकको नाटक समावेश छ। तेस्रो नाटक कृतिको रुपमा यस कृतिकै नामबाट नामांकृत यदि उसको भविष्य बन्छ भने शीर्षकको नाटक रहेको छ । विभिन्न समय कालखण्डमा प्रदर्शनार्थ लेखिएका यी नाटकहरूमध्ये दोस्रो नाटक वेलकम टु एड्स नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पूर्वाञ्चल नाट्यमहोत्सव २०५३ मा धनकुटामा वञ्चित भएको नाटक हो। यस नाटक संग्रहमा समाविष्ट नाटकहरूले नेपाली समाजमा विराजमान गरिरहेको विकृत राजनीतिमाथि व्यङ्ग्य गरेको छ । त्यस्तै धनसम्पत्ति पद र प्रतिष्ठाका पछि लागेर मोजमस्तीमै जीवन बिताउन चाहने नवधनाड्यहरू कसरी प्राणघातक रोगका शिकार बन्छन् भन्ने कुरा पनि नाटकले कलात्मक रुपमा प्रस्तुत गरेको छ । यति मात्र नभएर समाजमा कलंकित पात्रहरू मात्र होइनन् सम्मानित व्यक्तित्वहरू पनि हुन्छन्। उनीहरु आफ्नो खुसी भन्दा अरुको खुसीका लागि समर्पित हुन्छन् भन्ने जीवन दृष्टिकोण पनि यस नाटकले प्रस्तुत गरेको छ ।
२.१ बाह्य संरचनागत नाटकीय पक्ष
लघु आयाममा संरचित यदि उसको भविष्य बन्छ भने नाटक संग्रहमा संग्रहित पहिलो नाटक तुहिन्छन् यसरी क्रान्तिका सपनाहरु नाटकमा छ वटा दृश्यहरू रहेका छन्। मञ्चनका दृष्टिले अत्यन्तै उपयोगी र सान्दर्भिक स्थानगत भौगोलिक परिवेश र साझ सज्जाहरुलाई आधार बनाई कथावस्तुहरूको पात्रहरू यस नाटकमा चयन भएका छन् । नाटककारले दोस्रो नाटकका रूपमा समावेश गरेका वेलकम टु एड्स शीर्षकको नाटक एक अङ्कमा नै सीमित रहेको छ। यसमा नाटकीय धर्मभन्दा बढी एकाङ्कीको विधागत धर्म आरोपित भएको छ विषयवस्तु स्थानगत परिवेश र पात्रको चयन भने अत्यन्त सान्दर्भिक र उपयुक्त देखिन्छ । पात्रका संवादहरू जीवन्त छन् । नाटक सङ्ग्रहको शीर्षकीकृत नाटक यदि उसको भविष्य बन्छ भने तेस्रो नाटकका रूपमा यस कृतिमा अटाएको छ यस नाटकमा चार दृश्यहरु रहेका छन् । यस नाटकमा पनि विषयवस्तु अनुकूल एवं शीर्षक अनुकूल परिवेश र पात्रको चयन गरिएको छ। संवादहरू अत्यन्त सरल, मिठासपूर्ण सन्दर्भ अनुकूल पात्रको स्तरानुकूल मञ्चीय किसिमको रहेको छ। कुनै पनि नाटकमा भद्दा हुने गरी बहुपात्रको संयोजन गरिएको छैन ।
२.२ आन्तरिक शिल्पी संरचना
२.२.१ विषयवस्तु
नाटककार वीरेन्द्र थोकलीहाङले आफ्नो नाटक संग्रहको पहिलो नाटक तुहिन्छन् यसरी क्रान्तिका सपनाहरू मा अत्यन्त गहन राजनीतिक विषयवस्तुलाई पस्किएका छन्। नेपाली राजनीतिक इतिहासमा कसरी दाउपेच र स्वार्थको खेल हुन्छ भन्ने कुरालाई यस नाटकले सजीव रुपमा प्रस्तुत गरेको छ। यस नाटकमा दुई शक्तिशाली छिमेकीहरूको बीचमा रहेकाे कमजोर अवस्थाको व्यक्तिले कसरी लाचार बन्नुपर्छ र छिमेकीको चालमा आफ्नो जीवन चलाउनुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्दै देशको वास्तविकतालाई दिन प्रस्तुत गर्ने विषयवस्तु नाटककारले पस्किएका छन् । नाटकमा भरत सिंह, फूलप्रसाद र चाङलाई मुख्य प्रतिनिधि पात्रका रुपमा प्रस्तुत गर्दै देशको राजनीतिक परिदृश्यलाई छाया बनाई उनीहरुको माध्यमबाट देशको वास्तविकता झल्काउने विषयवस्तु यस नाटकको हो। तल्ला गरी छिमेकीको इशारामा घर चलाउँदा माथलाघरे छिमेकी पराई बनेको प्रसङ्ग र माथलाघरे छिमेकीको इशारामा घर चलाउदा तल्ला घरे छिमेकी पराई बन्ने गरेको कुरा नाटकमा देखाएर नाटककारले सिङ्गो देशको छाया छविलाई नाटकमा कलात्मक रुपले प्रस्तुत गरेका छन् । आफू आत्मनिर्भर बन्न नसकी छिमेकीको भर पर्नुपर्दा छिमेकीले कसरी आफू अनुकूल कमजोर छिमेकीलाई प्रयोग गर्न सक्छ र उबाट कसरी फाइदा उठाउन सक्छ भन्ने कुरालाई सदृष्टांश प्रस्तुत गरेका छन् । नाटक अध्ययन गर्दा सामान्य जस्तो लाग्ने अथवा मञ्चमा हेर्दै जाँदा सामान्य जस्तो लाग्ने विषयवस्तुले सिङ्गो देशको समस्या र वास्तविकतालाई पोखेको छ । आफ्नो देशको राष्ट्रिय मुद्दामा अडान लिन खोजे पनि कुनै न कुनै छिमेकीको सहारा बिना अडान लिन नसकेपछि देशको स्वाभिमान तहसनहस पार्न पछि नपर्ने राजनीतिक वृत्तलाई यस नाटकले गतिलो झापड दिएको छ । छिमेकीले सिमाना मिच्ने जग्गा हडप्ने जस्तो मिचाहा प्रवृत्ति देखाएर यसबाट कमजोर देशलाई शक्तिशाली छिमेकी देशले पनि सिमाना मिच्ने र हडप्ने गरेको कुरा यस नाटकमा देखाइएको छ । आत्मनिर्भर र स्वावलम्बी बन्न नसकेपछि जति नै स्वाभिमानी कुरा गरेपनि ऊ आफ्नो शैलीमा टिक्न सक्दैन भन्ने तीतो यथार्थ नाटकले प्रस्तुत गरेको छ ।
नाटककार वीरेन्द्र थोक्लिहाङले आफ्नो नाटक संग्रहको दोस्रो नाटकका रूपमा वेलकम टु एड्स शीर्षकको नाटकलाई समावेश गरेका छन्। उनले यस नाटकमा धनसम्पत्ति र शक्तिले सम्पन्न मानिसहरूले आफ्नो जीवनको बर्बादी कसरी सजिलैसँग गर्न सक्छन् भन्ने विषयवस्तु पस्किएका छन् । अकुत सम्पत्ति कमाए पनि स्वास्थ्यका लागि सचेत नरहदा र जीवन मोजमस्ती सिवाय केही पनि होइन भने मोजमस्तीमा लिन हुँदा जीवनमा अनायासै कसरी भयानक रोगको शिकार बन्नुपर्दो रहेछ भन्ने वास्तविकता यस नाटकमा प्रस्तुत भएको छ । आफ्नो परिवारको आदर्श जीवनको मूल्य मान्यता आदि जस्ता पक्षलाई व्यवस्था गरेकै कारण यस नाटकका मुख्य पात्रहरू एड्स जस्तो भयानक रोगको शिकार बन्न पुगेका छन्। परिवारको सही मार्ग निर्देशनलाई आत्मसाथ नगर्दा अत्यन्तै नराम्रो ठानिएको सामाजिक कुलतको सिकार पनि बन्न मानिस बाध्य हुँदो रहेछ भन्दै सामाजिक विकृतिलाई यस नाटकले विषयवस्तु बनाएको छ । सामाजिक विकृतिका सिकार बनेका यस नाटकका पात्रहरू मोजमस्तीमा त डुबेकै छन् तर त्यसले उनीहरुको जीवनलाई बर्बादीतर्फ धकिलिरहेको छ भन्ने तथ्य नबुझेकै कारण उनीहरु मृत्युलाई स्वीकार्नुको विकल्प देख्दैनन् । त्यसकारण एड्स जस्तो भयानक रोगलाई स्वीकार गर्ने रमाइलोको साथ आत्मसाथ गर्ने देखावटी पार्टीको आयोजना गरेर विकृतिलाई बढवा दिँदादिँदै उनीहरू दुर्व्यसनको सिकार बने त्यसैबाट मृत्युवरण गर्न पुग्दछन् । भोग विलासले मानिसलाई आनन्द मात्र दिँदैन ृत्युको मुखमा पनि पुर्याउँदो रहेछ भन्ने सामाजिक सन्देश दिने विषयवस्तु यस नाटककारले यस नाटकमा टिपेका छन्।
नाटकका थोक्लिहाङले यस नाटकको अन्तिम तथा तेस्रो नाटकको रूपमा यदि उसको भविष्य बन्छ भने शीर्षकको नाटक समावेश गरेका छन् । यो नाटक यस नाटक संग्रहको शीर्षकीकृत नाटक पनि हो। यसै नाटकको नामबाट नाटक संग्रहको नामाकरण भई कृतिका रुपमा जन्मिएको छ। यस नाटकमा आफ्नो परिवारको सुखका लागि जस्तोसुकै त्याग गर्नुभन्दा पनि आफ्नो राष्ट्रको लागि परिवार नै त्याग गर्न सक्ने त्यागी पुरुषको त्याग र समर्पणको विषय उठाइएको छ । देशले के दियो भन्दा पनि आफूले देशलाई के दिन सकियो भन्ने मूल मान्यता राखेर जीवनमा अघि बढ्नुपर्छ भन्दै बिग्रिएको भत्किएको अविकसित भएपनि आफ्नै देशमा बस्न रुचाउने व्यक्तिको कथा वस्तु नाटकमा समेटिएको छ । विकसित र वैभवशाली सम्पन्न देश हङकङको आइडीको पछाडि लागेर विदेशिने आफ्नी श्रीमतीलाई उसको भविष्य बन्छ भने आफूलाई छोडेर पनि विदेश जान अनुमति दिने त्यागी व्यक्तिको विषयवस्तु यस नाटकले लिएको छ । धन सम्पत्ति सुख सुविधा र विकासको पछि लाग्नु भन्दा आफ्नो देशमा बसेर दुःखमा रमाउन सक्नु पनि आफ्नै किसिमको आनन्द अनुभूति हुन्छ भन्ने मान्यता यस नाटकको विषयवस्तुले प्रस्तुत गरेको छ । आफ्नो भविष्य खोज्दै विदेशिएकी श्रीमतीले विदेशमा नै परपुरुषसँग विवाह गरेपछि पनि मन नदुखाउने पुरुषपात्र यदि उसको भविष्य बन्छ भने त्यो पनि ठिकै हो भन्ने बडो उदार मनका पात्रको विषयवस्तु नाटकमा आएको छ । आफ्नो खुसी र स्वार्थ भन्दा पनि अरुको खुसी र स्वार्थलाई नै बढावा दिने त्यागी पात्रको त्याग र समर्पणलाई यस नाटकले आफ्नो विषय बनाएको छ। यति मात्र नभएर पराईभूमिमा मानिस जीवनकाल रमाउन सक्दैन अन्तत ऊ आफ्नो देशको शरणमा फर्किन बाध्य हुनुपर्छ भन्ने देश प्रेमी भावना मुखरित गर्ने विषयवस्तु यस नाटकले लिएको छ ।
२.२.२ पात्र विन्यास
नाटककार वीरेन्द्र थोकलेहाङद्वारा लेखिएको यस नाटकका पात्रहरू सबै सहज स्वाभाविक र विषयवस्तु अनुकूल रहेका छन्। पहिलो नाटकका रूपमा रहेको त्यो इन्चन यसरी क्रान्तिका सपनाहरु शीर्षकको नाटकमा भरत सिंह, फुलप्रसाद, चाङ, हरामीलाल, भारती, क्रान्ति, परदास, स्वामीभक्त आदि पात्र देखिएका छन् । यी पात्रहरूमध्ये भरत सिंह, फुलप्रसाद, चाङ मुख्य पात्रका रूपमा नाटकमा आएका छन्। उनीहरुले नै यस नाटकको सिङ्गो विषयवस्तुलाई आफ्नो वरिपरि घुमाउन सफल भएका छन् । छिमेकीहरु बीचमा हुने स्वार्थको लडाई देखाउनका लागि यी तीन पात्रहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। नेपाली राजनीतिक वृत्तमा देखिएका विकृतिहरुलाई विमवात्मक रुपमा प्रस्तुत गर्नका लागि यी तीन पात्रहरूको सफल प्रयोग नाटककारले यस नाटकमा गरेका छन्।
यस नाटक संग्रहको दोस्रो नाटकको रुपमा रहेको वेलकम टु एड्स शीर्षकको नाटकमा आएका पात्रहरू पनि अत्यन्तै सहज र स्वाभाविक किसिमका छन् उनीहरूको भूमिका कथावस्तुको स्तर अनुकूल नै देखिएको छ। कुनै पनि पात्रहरूको भूमिका असहज र बनावटी लाग्दैनन्। यस नाटकमा आएका पात्रहरू किंकु, आमा, चिन्जा, चेखक आदि हुन् । जसमा किङकु र चिन्जा मुख्य पात्रका रूपमा देखिएका छन्। यी दुवैजना पात्रहरू भौतिक भोग विलास र भोजमस्तिष्कमा बिलिन भएर आफ्नो व्यक्तिगत स्वास्थ्य बिगार्नुको साथै सामाजिक वातावरण पनि बिगार्ने अश्लिल पात्रका रुपमा नाटककारले उभ्याएका छन् । पैसाले सबथोक किन्न सक्छ तर जीवन किन्न सक्दैन भन्ने तीतो यथार्थ बोध गर्ने यी दुई अन्त्यतः मृत्युवरण गर्न बाध्य बनेका छन् । पैसा पद प्रतिष्ठा र शक्तिको उन्मादले मानिसको जीवन तहस नहस हुन्छ भन्ने कुरा देखाउनका लागि यी पात्रहरूको प्रयोग गरिएको छ। यिनीहरु पैसाको आडमा गरिने भोग विलासबाट नै मानिसहरु कसरी अनायासै दुर्व्यसनको सिकार बन्न पुग्दछ भन्ने कुरा प्रमाणित गर्ने जीवन्त पात्रहरू पनि हुन् ।
नाटक संग्रहको तेस्रो नाटकको रूपमा रहेको यदि उसको भविष्य बन्छ भने शीर्षकको नाटकमा आएका पात्रहरू पनि अत्यन्त स्वाभाविक किसिमका देखिन्छन्। यस नाटकमा देशभक्त, निशा, दिदी, मुक्ति, बाबा आदिपात्रहरु देखिएका छन् । यी पात्रहरूमध्ये यस नाटकको मुख्य नायक भूमिका निर्वाह गर्ने पात्र देशभक्त हुन् । उनी आफ्नो देशभन्दा ठूलो कुरा केही पनि संसारमा छैन भन्ने मान्यता राख्दछन् । देशभक्त देश नै परिवारभन्दा ठूलो हो भन्ने मान्यताकै कारण हङकङको आइडी भएकी श्रीमतीलाई समेत उतै एक्लै जान सहजै स्वीकार दिने र आफू स्वदेशमा नै बसी देशकै हितमा लाग्न चाहने एक सच्चा राष्ट्रपेमी पात्र हो। आफूलाई छोडेर वैभवशाली विदेश गएर उतै रमाउन सक्ने श्रीमतीलाई यदि उसको भविष्य बन्छ भने जे गर्न पनि छुट दिने र आफू देशमा नै बस्न चाहने देशप्रेमी युवाको भूमिका देशभक्तले निर्वाह गरेका छन् । अन्तत ः उनकै भावना र विचारको विजय भई विदेशिएर पनि पराई पुरुषसँग विवाह गरेकी श्रीमती आफ्नै देशको मायाले तानिएर देशमा फर्किन चाहेको विषयवस्तु देखाई देश नै ठूलो हुन्छ भन्ने कुरा देखाउन सक्ने सचेत शिक्षित पात्रका रुपमा यहाँका पात्रहरु आएका छन्
२.२.३ नाटकीय जीवनदृष्टि
यस नाटकमा परिवर्तनका लागि आन्दोलन भएका र ती आन्दोलनबाट प्राप्त उपलब्धिहरूले वास्तविक रुपमा सहिदहरुको सपना साकार पार्न नसकेको र आन्दोलनका नामबाट सत्तामा पुगेकाहरु स्वार्थमा लिप्त भएका कारण छिमेकीहरूको पेलानमा परेको अनि जनताहरुले कुनै पनि परिवर्तनको आभास नपाएको वास्तविकता प्रस्तुत गर्ने र विकृत राजनीतिप्रति व्यङ्ग्य गर्ने नाटकीय जीवन दृष्टि अँगालेको देखिन्छ । राष्ट्रिय रूपमा देखिएका सामाजिक समस्या राजनीतिक समस्या र दाउपेचको प्रवृत्तिलाई व्यङ्ग्य गरी जनतालाई सुखद अनुभूति गराउनको बदला स्वार्थको राजनीति गर्ने राजनीतिज्ञप्रति तीव्र व्यङ्ग्य प्रहार गर्ने नाटकीय उद्देश्य यस नाटकबाट प्रष्ट हुन्छ। त्यस्तै आधुनिकताको नाममा विकृत सभ्यता निम्त्याई रोगिएको व्यक्ति र समाजलाई सचेत गराउनका निम्ति पनि यो नाटकले आफ्नो नाटकीय जीवन दृष्टि बनाएको पाइन्छ । जीवनमा पैसा नै सबैभन्दा ठूलो कुरा हो पैसाले सबै प्राप्ति हुन्छ भन्ने मानिसहरु वास्तवमा पैसा भन्ने केही होइन पैसाले केही पनि प्राप्ति नहुने रहेछ जीवन नै ठूलो कुरा हो भन्ने तथ्यमा पुगेको देखाउनु यस नाटकको अर्को जीवन दृष्टि हो । यसैगरी अहिलेका आधुनिक पुस्ताका मानिसहरुमा विदेशप्रतिको मोह र विदेशमा सजिलैसँग पैसा फल्छ र टिप्ने हो भन्ने भ्रमबाट प्रताडित समाजको चित्रण गर्नु यस नाटक संग्रहको उद्देश्य रहेको देखिन्छ। । यति मात्रै नभएर देशमा केही कुनै पनि सम्भावना छैन भन्ने व्यक्तिहरुलाई देशभक्त भावना विकास गराई देशलाई केही दिन सक्नुपर्छ भन्ने भावना विकास गराउनु पनि यस नाटकको जीवनदृष्टि रहेको छ। वास्तवमा विदेशमा हामीले सोचेको जस्तो सुख प्राप्ति हुँदैन देशमा जस्तो संस्कार संस्कृति मिल्ने व्यक्ति हुँदैन भन्दै अन्त्य त देश नै प्राण भन्दा प्यारो हुन्छ भनेर देश फर्किने अभियान चलाउन सक्नु आजको आवश्यकता हो भन्ने चिन्तन प्रस्तुत गर्नु पनि यस नाटकको अर्को अभिष्ट वा नाटकीय जीवन दृष्टि रहेको पुष्टि हुन्छ ।
३. निष्कर्ष
वर्तमान नेपाली समाजको राजनीतिक परिवेशमा, सामाजिक परिवेशमा अनि भौतिक परिवेशमा देखिएका विषम परिस्थितिहरूको चित्रण गर्नु यस नाटकको मुख्य अभिष्ट रहेको देखिन्छ । समग्रमा यस नाटकले उठाएका विषयवस्तुहरु अत्यन्त समसामयिक किसिमका रहेका छन् । शीर्षक चयन, विषयवस्तु चयन, पात्र चयन, परिवेश निर्माण, साज सज्जा, संवादत्मक अभिव्यक्ति, मञ्चीयता आदि सम्पूर्ण पक्षबाट यदि उसको भविष्य बन्छ भने नाटक संग्रह अत्यन्त उत्कृष्ट नाटक संग्रहको रूपमा नेपाली साहित्यमा भण्डारण हुन पुगेको छ ।
ओम श्रेष्ठ