Skip to content

मेरा देशका सिपाही

मेरो देशका सिपाही,
आज पनि दुर-दराजका युद्धभूमिमा,
मृत्युसँग सम्झौता गरिरहेका छन।
भयंकर युद्धको धुवाँले आकाश मडारिएको छ
आगोका ज्वालाले पृथ्वी जर्जर चर्किरहेको छ
बन्दुकको नालले शत्रुलाइ ताकिरहेको छ।
ऊ दासत्व सँग एकोहोरो सम्झौता गरिरहेको छ।

तर, उता—
चिसा हिउँले हड्डी चिसाउँदै गर्दा,
यता देशको आत्मा थर्थर कापिरहेको छ।
गोर्खालीको हुँकार युद्धभूमिमा गर्जिँदा,
सिमानाका स्तम्भहरू भने यहाँ ढलिरहेका छन्।
उता
युद्ध जितेर अरूको आयतन बढाउदै गर्दा ,
यहाँ आफ्नै गाउँ, नदीनाला, र पहाडका छायाहरू हराइरहेकाछ्न।

गोलि र बारुदको आवाजले
उता माटोलाई कम्पित बनाउँदा,
यहाँ आला सिउँदा पखालिरहेका छन्,
उता लागेका युद्धभुमिका तुवालोले
यता बगिरहेका छन् आँसुका खोलाहरु
अनि सुख्खा भएका छ्न बगर र घाटिहरु

मेरो देशका सिपाही,
तिमी त्यहाँ बहादुरीको गाथा लेखिरहेका छौ
तर यहाँ देश,
कायरताको मौनतामा हराइरहेको छ ।

तिमीले जितेको युद्धको मूल्य,
देशले किन हारेर चुकाउनुपर्छ?
तिमीले खन्याएको रगत,
देशको मौनताले किन बिर्सिन्छ?

हे मेरा देशका सिपाही,
ब्युझाइदेउ सुतेको सगरमाथा
फर्काइदेउ भृकुटी र सीता
रोकिदेउ मुगलान जाने मदनलाइ
तिमीले अरूका लागि वीरताको फसल धेरै उब्जायौ,
तर कहिले रोप्छौ आफ्ना लागि विजयको विरुवा?
तिमीले रचेका वीरगाथाहरू,
अरूको लागि इतिहास बने,
तर कहिले लेख्छौ आफ्नै देशको स्वर्णिम कथा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *