Skip to content

मिसन चौरासी

गाउँको पश्चिम पाखामा गोधूलिका अबिर वर्षा भएर रात पर्न थालेको आभास भइसकेको थियो। जुनकिरिले आफ्नो सानो बत्तीले अँध्यारोलाई चिरेर उज्यालो छर्ने कोशिश गरिरहेका थिए। त्यसको उज्यालोले सबैलाई झस्कायो। भ्यागुताहरू ट्वार ट्वार गर्दै कराउन थाले, उनीहरूको यो घोषणाले गाउँभरि हलचल मच्चियो।

तर, सबैलाई यो समाचार मन परेको थिएन। मुसा र छुचुन्द्राहरूले गहिरो भेला बोलाए। छुचुन्द्राले मुसालाई भने, “यो जुनकिरीको कामले हाम्रो रातभरिको शान्ति खलबलायो। यसको विरोध गर्नुपर्छ।”

त्यसैबेला लामखुट्टेहरूको “माथिल्लो तह” ले विशेष बैठक बोलायो। उनीहरूले गाउँभरि हलि र बाउसे खोज्न थाले। “यो सिजनमा बाढी आउँदै छ, हामीलाई कडा श्रमिक चाहिन्छ,” उनीहरू आपसमा सल्लाह गर्न थाले। तर, भुस्याहा कुकुरहरूले भने यो कुरामा खासै ध्यान दिएनन्। उनीहरू भने आफ्नै अर्थोपार्जनका जोखाना हेराइमा व्यस्त थिए। “यो बर्षाको मौसम हाम्रो लागि ठिकै आम्दानीको समय हो,” एउटाले अरूलाई सम्झायो।

यसबीच, च्याठिएका छिमेकीले ओठ लेप्राएर धारे हात लगाउँदै भन्न लागे “अहिले त सिंगो गाउँ बौलाएको छ। कुनै राम्रै उपाय खोज्नुपर्छ।”

गाउँमा अनमत्त साढेहरू पनि कम थिएनन्। उनीहरू भने रोपाइँमा आउने सुन्दरीहरूमा कर्के नजर लगाउदै जुङ्गा मुसार्दै बसिरहेका थिए।

यसैबीच बेठी बजेर गाउँ बेशी गलल हल्लियो । बस्न्यात काजि झसङ्ग झस्किए।

बडा काजिले बल्ल हलो हेर्न थाले। तर हलो त पहिले नै कहिले भाँचिएर थन्किएको रहेछ। उनले लामो र गहिरो सास फेर्दै भने, “यो खेत फेरि पनि बाझो को बाझो नै रहने भो। हामी यति झगडा गरेर पनि केही गर्न नसक्ने भयौ।”

रात फेरि अँध्यारो भयो। जुनकिरीको बत्तीले जति उज्यालो पार्ने प्रयास गरे पनि, गाउँको बाझो खेत र मनस्थिति उस्तै रह्यो। बत्ती बाल्नु, गाउँ उठ्नु, र अन्त्यमा कसैले केही नगर्नु गाउँको पुरानै कथा भयो ।

सधै ब्रीटिस कालका युद्ध कथा सुनाउने रइटार बा कलकत्ते बिडीमा च्यार्‍र माचिस घोटेर पुरानो रेल कुदाए झै धुवाँको लप्को फ्याँस्स फ्याँक्दै कटाक्षको मट्याङ्ग्रा भावनाको छानामा टिङ्ग पारे ….

घुमौरीको लौरो टेक्दै रइटार बा सुस्तरी अगाडी बढ्दै थिए। म एक अवोध शिशु झै अवाक् एक टक पाइला गन्दो भए एक , दुई ,तीन ….अस्सी , एकासी , बयासी , त्रियासी ……चौरासी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *