पहिले गिद्ध उड्थे आकाशमा—
मृत शरीर खोज्दै,
सफा गर्दथे पृथ्वीको पीडा,
शवहरूको सिँगारकर्ता थिए—
प्रकृतिका सफा सैनिक।
तर आज—
गाउँ सुनसान छ,
न त आकाशमा छाया,
न त रूखमा गुँड।
गिद्धहरू खोइ त?
खोज्दै जाँदा
पत्ता लाग्यो—
उनीहरू सबै
कोट र टाइमा लपेटिएर
टोपी र बिल्लामा सजिएरर
सभामञ्चको कुर्सीमा बसिरहेका छन्।
हेर त!
कसरी टल्किन्छ उनीहरूको जिउ,
तर तिनका आँखा त—
उस्तै रह्छन्, शिकार खोजिरहेका।
तिनका मुख पनि उस्तै रहेछन्
कोपर्छन्, चुस्छन्
ती बोल्छन् भाषण,
तर शब्दमा गन्ध छ—
पुराना मृत सपनाहरूको।
अब गिद्धले शिकार गर्दैन
मात्र टल्किने चाहना मात्र उसले चिन्छ,
अब उनीहरूले हड्डी चपाउँदैनन्
माटोको माया कुल्चेर
देशको आत्मा चुस्छन्—
इतिहासका काला अक्षर झैँ
लुट्छन् देशको अस्मिता र ऐश्वर्य
कागजका दस्तावेज चाट्दै।
कसले भन्छ गिद्ध हराए?
उनीहरू त अझै छन्—
नयाँ भेषमा,
पुराना आदतमा।