एउटै त आकाश छ
तिमी मेघ लागेको देख्छौ
म अप्सराहरु नाचेका आकृति देख्छु
किरिङमिरिङ घनिभूत बादलमा,
तिमी डराउने बाढीको आहट सुन्छौ,
म तिनै थोपाहरूमा
सुख्खा भएका खेतमा हरियालीको सपना देख्छु।
तिमी छाताको ओत खोज्छौ,
म तिनै बर्खे छिटाहरूमा जीवनको सन्देश भेट्छु।
तिमी आफ्नो डर जे जे मा लुकाउँछौ,
म त्यस त्यसलाइ चुमेर नयाँ यात्रा थाल्छु।
एउटै त आकाश छ
तिमी अँध्यारोको गीत गुनगुनाउँछौ,
म तिनै रातभित्र बिहानको अरनिमा खोज्छु।
तिमी थाकेर लम्पसार पर्छौ,
म ढलेका हातले फेरि बिउ छर्दै बाँच्न सिक्छु।
तिमी क्षितिजको अन्त्य हेर्छौ,
म त्यहीँबाट सुरु हुने नयाँ यात्रा देख्छु।
एउटै त आकाश छ,
तिमी रात देख्छौ, भयानक नाद सुन्छौ,
म उज्यालोको छायामा
गहिरो अरुणको रङ्ग बुन्छु।
तिमी गुँड छोड्दै गरेको देख्छौ,
म चरा फर्कंदै गरेको महसुस गर्छु।
तिमी मौनतालाई सारथि बनाउछौ
म प्रकृतिको संगीत समाउछु
एउटै आकाशमुनि,
तिमी रातको कथा बुन्छौ
म बिहानीको सपनामा रमाउँछु….