Skip to content

अधुरो प्रेम

चैत्र महिनाको कुरा हो।

चैत्रको गर्मी भन्नासाथ सम्झना आउँछ पुराना पंखा, जुन चलिरहँदा पनि गर्मी बोकेर दौडिरहन्छ; सडकको किनारमा थकाइले लम्पसार परेका कुकुरहरू; निधार पुछ्दै तिर्खाएका बुबा, भान्सामा पसिना चुहाउँदै गरेकी आमा, र ती झ्यालहरू जसले धुलो त रोकेको हुन्छ, तर गर्मीलाई भने रोक्न सकेको हुदैन ।

यो गर्मीमा मौनता घाम झैँ झरेर आफ्नै नगिचै आउँछ। पातहरू चल्दैनन्, रुखहरू बोल्दैनन्, घडीको टिकटिक मात्र सुन्न सकिन्छ र त्यस मौनतामा मान्छेहरू आफैँसँग डराउन थाल्छन्।

चैत्रको गर्मीमा छतहरू मात्र तात्दैनन्, केही अधुरा सपनाहरू पनि फेरि पाक्न थाल्छन्। केही बिर्सिएका अनुहारहरू सम्झनामा फर्किन्छन् र केही प्रश्नहरू जसको उत्तर कहिल्यै पाइएको हुँदैन उनीहरू फेरि मनभित्र घाम जस्तै बल्न थाल्छन्।

यो मौसम प्रेमको होइन, तर पुरानो प्रेम सम्झन थाल्ने मौसम हो। यो मौसम परिवर्तनको होइन, तर आफूभित्र बगेको थकान नाप्ने मौसम पनि हो।

चैत्रको गर्मी यो यस्तो किसिमको घडी हो जहाँ समय ढिलो हिँड्छ, तर भित्रभित्रै धेरै कुरा चुपचाप घटिरहेको हुन्छ।

चारैतिर मौनताको एउटा बाक्लो पर्दा झुण्डिएको थियो।
र त्यस मौनताभित्र एउटै छत बाँकी थियो जहाँ तातो टायलमाथि एक्लै सुतेकी थिई “मीरा।”

सादा कुर्ता-सलवार, अनुहारमाथि एउटा खरानी-रङ उडेको पुरानो सल। उसको अनुहार सुतिरहेको जस्तो देखिए पनि, त्यो निद्रा साँचो भने थिएन। छतमाथिको तातो हावाले उसको थकान त सायद चुसिसकेको थियो, तर उस्तै गहिरो कुनै सोचले उसलाई गहिराउदै लगिरहेको थियो।

सायद मीराको उमेर बीस-बाइस वर्षको हुन सक्छ। तर उसका आँखाहरूमा त्यो उमेर भने थिएन। ती आँखाहरू हेर्दा लाग्थ्यो उसले लामो यात्रा तय गरिसकेकी छे,र बाटो भरि उबडखाबड थिए, तर प्रश्नहरू, केवल प्रश्नहरू थेग्न नसकिँदो गरी जमेका थिए।

जतिबेला उनकि आमा दिउँसोको भात खाएर धन्दा सकेर पल्टिनुहुन्थ्यो, र बुवाले पसिना पुछ्दै आँपको छायाँमा आँखा चिम्म गरेर टोलाउनुहुन्थ्यो। मीरा पनि त्यही बेला चुपचाप छतमा आउँथी जसले बोलाउँदैन थियो, तर धेरै कुरा सम्झाउँथ्यो उसलाइ।

छतसँग उसको कुनै रिस वा वैरभाव थिएन। छतले उसभित्र गुम्सिएका कुरा खोलिदिन्थ्यो। जसरी कुनै घाउ पीडा दिन छोडेपछि पनि दाग भने बाँकी रहन्छ स्मृति बनेर।

त्यो दिउँसो छत अझ बढि अलिक नै मौन थियो। छेउको पुरानो घरबाट रेडियो बज्दै थियो
“वर्ष तिमी छमछम गरी वर्षिदेउ न…”
तर यहाँ कुनै वर्षा थिएन।
थियो त केवल चर्को घाम, मौनता, अनि एक्लोपन।

अचानक उसको कानमा एउटा चिरपरिचित मधुर स्वर आयो “अझै पनि छतमै सुत्छ्यौ?”

मीरा चकित भई अनुहारमा छोपिएको सल हटाएर हेरिन्।

उ त्यही थियो ” मोहन।”

दश वर्ष अघिको त्यो केटो जसले हरेक गर्मीयाममा उसको छतमा आएर चङ्गा उडाउँथ्यो,र ढल्दै गरेको घामलाई हाँसोले रोकेजस्तो गर्ने गर्थ्यो।

अब उ अलि अग्लो भएको थियो,तर कता कता थकित पनि देखिन्थ्यो। शर्टको कलर मोडिएको, निधारमा चिटचिट पसिनाको रेखा र आँखा? त्यसमा कुनै पुरानो वर्षायामको रिमिझिम झरि झल्किरहेको थियो।

“तिमी?” मीरा हठात मुस्कुराइ । स्वरमा अचम्म कम, तर एउटा धड्कन बढी थियो।

“छेउको अधिकारी अंकलको नाति नै हुँ म अझै पनि ।” उसले हाँसो थाम्दै भन्यो,
” म अहिले काठमाडौँ बस्छु। हजुरआमा भेट्न आएको थिएँ। अनि मनले भन्यो हेर त मोहन , त्यो केटी अझै पनि तातो घाममा त्यो छतमा सुतिरहेकी छे कि छैन?”

मीरा हल्कासँग मुस्कुराई “अब त छत मात्रै बाँकी छ, मोहन… बाँकी सबै बदलिइसकेको छ।”

मोहन केही बोलेन। चुपचाप आएर छतको पर्खालमा अडियो। गल्लीतिर बरफ बेच्ने साइकल घिसार्दै गयो।
घन्टीको टिन्टिनाहट घामसँगै हरायो।

“तिमीलाई याद छ?” मोहनले बिस्तारै मीराको कानमा साउती मार्यो,एक दिन बर्खामा हामी छतमा भिज्दै चिया खाएका थियौं नि ?

मीरा हल्कासँग हाँसी “र त्यसपछि म बिरामी परेँको थिएँ…
हजुरआमाले भन्नु भएको थियो मिरासँग धेरै त्या चोचो जोड्न जाने हैन। कसै सङ्ग बोल्ने हैन त्या खुरुखुरु पढ नत्र मामालाइ भनेर गाउँ पुर्याउन लगाउछु।

दुवै गलल हासे तर त्यो हाँसो थकित थियो।
जसरी कुनै पुरानो गीति रेडियोले बजाउँछ थोरै खरखर, थोरै संगीत।

“र तिमी साँच्चै बोल्न छाड्यौ…है” …मीरा बिस्तारै बोलि।

आवाज छतमाथिको कुनै पुरानो इँटसँग ठोक्किएर रोकिएजस्तो लाग्यो।मोहन चुप रह्यो । उसको आँखाले केही भन्न खोजेका थिए तर शब्दहरूले साथ थिइरहेका थिएनन् ।

मीरा गहिरिएर टाढा हेर्दै बर्बराइ यस्तै हो मोहन “केही सम्बन्धहरू छतजस्ता हुन्छन्…खुल्ला, उज्याला तर नितान्त एक्ला।

मोहनले पसिना पुछ्यो।

अहिले के गर्दैछ्यौ?

केही होइन। सिलाइ-बुनाइ। आमालाई हेर्दा लाग्छ हाम्रो जीवन भान्सा र छतको बीचमै बित्ने छ होला। म पनि शायद त्यही गरिरहेकी छु।

मोहनले पर्खालमा औंलाले धूलो कोट्याउदै भन्यो “म सोच्थेँ तिमी कति ट्यालेन्ट थियौ तिमी धेरै टाढा पुग्नेछौ अनि आफ्ना सपना पुरा गर्नेछ्यौ। तिमी त्यो थियौ जसको आँखामा दिशा आशा विश्वास र भरोसा हुन्थ्यो ।

मीरा हाँसी। त्यो हाँसो गहिरो थियो, तर त्यसभित्र लामो थकान लुकेको थियो।

मैले पनि सोचेकी थिएँ मोहन तर कसैले मेरो कानमा चुपचाप भनिदियो केटीहरूको सपना देख्ने हक हुँदैन
अनि म त्यसैमा सहमत भइदिए।

छत मौन भयो। तारमा सुकाइएको सारी हल्का मधुरो हावाले हल्लाइरहेको थियो । सारीको पिँधबाट पानीको अन्तिम थोपा खस्न लागेको थियो।

मीराले सुस्तरी भनि म अझै उहीँ छु, मोहन…बस अलि थोरै थाकेकी।

मोहन तत्काल बोल्यो “र म पनि अझै उहीँ छु मीरा
त्यो वर्षाको छेउमा, तिम्रो नजिक। बस अलिक एक्लो।”

त्यहाँ कुनै गुनासो थिएन। कुनै सफाइ थिएन। थिए त केवल केही पलहरू ……जुन बाँचिरहेकै थिए त्यस छतमा, त्यो चर्को घाममा बिस्कुन बनेर

तलबाट आमाको आवाज आयो
“मीरा, केही खा न केटि! गर्मीमा छतमा नबस न हौ त्यसरी !”

मीराले आँखा चिम्म गरि।
ऊ चाहन्थी सबै यत्तिकै रोकियोस्। त्यो घाम, त्यो मोहन, त्यो मौनता र त्यो छत जसले उसलाई बिर्सिन दिँदैन।

तर समय कहाँ रोकिन्छ र!

मोहनले बिस्तारै भन्यो
मीरा म जान्छु ल। शायद फेरि यहीँ छतमै भेटौला।

मीरा केही बोलिन। बस सल फेरि आँखामाथि राखि।

टाढा रेडियोमा अर्को गीत बज्दै थियो। भान्साबाट भाडा खसेको आवाज आइरहेको थियो। छतमाथि एउटी युवती, चुपचाप… घाम, छत, र एक अधुरो सम्बन्धले घेरिएकी थिइ।

केही सम्बन्ध अधुरा हुँदैनन्।
उनीहरू पूरा हुन्छन्, बस हाम्रा भागहरू पूरा हुँदैनन्। अनि
केही छतहरू एक्ला हुँदैनन्, बस मात्र त्यहाँ कोही हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *