Skip to content

अनलाइन

“मिति: उ अनलाइ बसेको दिन…”
स्थान: नीलो स्क्रीनको अँध्यारो कुनो

रातको ११ बजिसकेको छ।
घडीका सेकेन्डका सुइहरू जुन कहिल्यै थाक्दैनन् आफ्नै नियमित र निर्लज्ज गतिमा टिक टिक टिक टिक गर्दै दौडिरहेका छन्, मानौं समय थाक्न जान्दैन वा प्रकृतिले थाक्न नै दिदैन।

श्रावण महिना गर्मीको यो ऋतु अब वर्षातको मोडमा छ। तर आकाशमा बादलको उपस्थितिले कुनै शीतलता दिएको छैन। वर्षा नभएकोले पृथ्वी आफैं आगोको गोलो बनेर सुस्तरी सुस्केराहरू फेरिरहेजस्तो लाग्छ।

हावाको पनि गति हराएको छ, र आकाशमुनिको बस्तीमा गर्मीको चाप बोकेको मौनता लह लह तैरिरहेको छ।

झ्यालमा जति बेला मेरा नजर पुग्छ्न, त्यति बेला फलामका डण्डीहरूमा चन्द्रमाको किरण टल्किरहेको देखिन्छ। त्यो चन्द्रकिरण न त उज्यालो छ, न अन्धकार केवल मात्र उपस्थित छ। उसले केही बोल्दैन, केवल सम्झना जस्तै भएर लपक्क टाँसिएको छ फलाममा।

बाहिरी संसार अस्वाभाविक शान्त देखिन्छ। भ्यागुताका आवाजहरू, जो सधैं वर्षातसँगै रमाइला झ्याइ झ्याइ गीत गाइरहन्थे, उनीहरू पनि आज चुप छन्। शायद उनीहरू लाई पनि थाहा छैन, किन आकाश रोएन भनेर। शायद उनीहरू पनि हामीजस्तै प्रतीक्षारत छन्, पानीको, शीतलताको अनि जीवनको।

कुकुरहरू कहीं टाढा टाढा भुकिरहेका छन्। ती भुकाइहरू को अर्थ के हो दैनिक डर, अज्ञात आहट, कि केवल एक्लोपनको प्रतिरोध? म बुझ्दिन। तर त्यो आवाज रातको मौनतालाई चिर्दै, यस अँध्यारोलाई अझै गहिरो र घनिभुत बनाइरहेको छ।

घडीको सुईमा फेरि नजर पुर्‍याउँछु केवल आधा घण्टा मात्र बितेको रहेछ,तर यो आधा घण्टा एक युगजस्तै भारी लागेको छ। छटपटीको कुनै मापन नहुदो रहेछ। म भित्र त्यसले फेरि सुनामी उठाइदिएको छ । प्रेमको एउटा थुङ्गा अर्ध खुलेर, अर्ध टुटेर , अजङ्गको बाध फोड्दै फेरि मनको सन्तुलन भत्काउन हतारिदै आइपुगिसकेको छ।

सधै सजिलो लाग्ने सिरानी आज किन किन कस्तो अप्ठेरो लागि रहेको छ , भोलि उज्यालो हुनासाथ पक्कै अर्को नरम सिरानी ल्याउनेछु । अप्ठ्यारो भएको शरीरलाई सजिलो बनाउने प्रयासमा ओछ्यानमा फेरि कोल्टे फेर्छु। शरीर सुतेजस्तो देखिन्छ, तर मन? मन त अह कहिल्यै सुतेकै छैन। उसले आफ्नै चालमा विचारको हलचल सुरु गरिसकेको छ । शब्दविहीन कुराकानी, जहाँ कयौं यक्ष प्रश्नहरू छन् तर उत्तर………….अह उत्तर दिने कोहि युधिष्ठिर , याज्ञवल्क्य र गार्गी छैनन्।

म कल्पना गर्छु, थाहा छैन अहिले कति शहरहरूमा
कति मान्छेका दिलहरू एकअर्कातिर तानिइरहेका होलान्। कति कोमल नजरहरू एक अर्काको स्क्रिनमा अड्किएका होलान्। कतिका ब्रेकअप भइरहेका होलान र ती आवाजविहीन टुटाइहरूमा कति गहिरो आर्तनाद लुकेका होलान्। केही औंलाहरू मोबाइलमा दौडिरहेका होलान। शायद त्यो नाम जसलाई बिर्सिसकेको भनिएको थियो, तर बिर्सन कहिल्यै सकिएको थिएन आज उसैको नाम टाइप गर्दै प्रोफाइल खोतल्दै होलान्।

केही दृश्यहरू फेरि आँखा मै टाँसिन थालेका होलान्,
कोही “अनलाइन” देखिएपछि मुटु हर्षले काँप्न थालेका होलान्। र फेरि त्यो डिजिटल झिल्कोको दुनियाँमै सही, मानिसहरू फेरि प्रेममा विश्वास गर्न थालेका होलान्।
उनीहरूलाई लाग्न थालेको होला शायद संसार उति नराम्रो पनि थिएन,जति नराम्रो हिजो थियो।

कतै लेखेको भेटेको थिए कि एउटा रातले सधैं नयाँ बिहान जन्माउँछ रे । तर…मैले कहिल्यै सोचेको थिएन कि मेरो लागि एक रात पनि यति लामो हुनेछ भनेर।

जब निन्द्रा लाग्दैन तब त्यो रात कहिल्यै सकिँदैन, जब मनमा कुरा खेल्न थाल्छ्न त्यो मनलाइ कसै गरे पनि बिसाउँन सकिदैन । अनि प्रेम …प्रेम त झन जति बिर्सिन खोज्यो झन् झन् गहिरिएर आउँछ।

निद्राको सागरमा शरीर अलिअलि डुब्न खोजिरहेको छ,
तर मुटुमा भने प्रश्नहरूको विशाल छाल उठिरहेको छ।

म फेरि आफैसँग बोल्न थाल्छु “खैर… अब अरुको कुरा होइन, म आफ्नो कुरा सुनाउछु, तिमीलाई भेट्नु केवल भेट्नु थिएन। तिमीलाई भेट्नु त त्यस्तो अनुभूति थियो, जसरी अन्धकारले पहिलो पटक उज्यालोको स्पर्श पाउँछ। जसरी एउटै प्रश्नमा अल्झिएको नास्तिक मान्छे,कुनै दिव्य अस्तित्वको विश्वास गर्न थाल्छ। तिमी… तिमी त यसरी भेटिएकी थियौ, जुन भेटले मेरो अस्तित्व नै फेरिदिएको थियो।

उमेरको यो मोडमा जहाँ प्रेम अब बालापनको उत्साह होइन,तर परिपक्वताको मौन प्रतिविम्ब हो अनि म आफूलाई बारम्बार सोध्न थाल्छु के हाम्रो भेट सही थियो?
यस्तो प्रश्न जसले निद्रामा पनि मेरो आँखाभित्र पसेर चिमोटिरहन्छ,जसको उत्तर शायद तिमी पनि दिँदिनौं र म पनि बुझ्दिन। तर यथार्थ के हो भने मेरा औँलाहरू हरेक रात मोबाइलमा दौडिरहन्छ्न,उही नाम टाइप गर्छन्, जसलाई म बिर्सन खोजिरहेको हुन्छु। फेरि उसैलाई खोज्छन्, जो कहिले आफ्नो भएर पनि आज टाढा बसिरकि छिन।

दिनभरको थकाइ, दुनियाँको दौडधूप,रातको यो एकान्त शान्ति सबैभन्दा ठूलो सम्झनाको मदिरालयमा पुर्‍याउँछ तिमीलाई।

किन तिमीलाई एक झल्को हेर्दा पनि यो मनलाइ शान्तिको अनुभुती हुन्छ ? किन तिम्रो प्रोफाइल फोटो हेर्दा यो मनलाइ आत्मसन्तुष्टि मिल्छ? जसरी भोक लागेको पेटले खाना पाएपछि राहत महसुस गर्छ, जसरी एक वर्षको बच्चाले आमाको काख पाउँदा महसुस गर्छ, जसरी रुँदै गरेको बालकले एउटा बेलुन माग्दा एक अपरिचित मान्छेले बेलुनको पुरै बन्डल उसको हातमा थमाइदिएर हाँस्दिन्छ।

त्यो स्पर्श, त्यो दृष्टि, त्यो क्षण यथार्थभन्दा पनि बढी न्यानो हुन्छ कहिलेकाहीँ। सायद प्रेम नै यस्तो हो जहाँ हेराइमा पूजा हुन्छ,र मौनतामा कथाहरू बोलिन्छन्। त्यसैले त यो मौनताभित्र, म यो रात, यो ओछ्यान, र यी सोचहरूसँग फेरि तिमीलाई बोलाईरहेको छु…

एउटा कुरा भनौं , यदि पृथ्वीमा कुनै जुवाडी साँच्चै छ भने, त्यो किसान होइन बरु यो समयका अनलाइन प्रेमीहरू हुन्। जुन प्रेम, न त स्कुलको पहिलो चिट्ठी हो, न कलेजको लजालु नजर, न अफिसको झर्कोले थकित क्षणमा मिल्ने सहारा। यो प्रेम त केवल स्क्रिनपारिको अनुहार हो, जसलाई देखेर हर्षको कम्पन हुन्छ। यहाँ प्रेमीले आफ्नो प्रियलाई छुन पाउँदैन, न त आवाजमै माया पोख्न सक्छ। तर, तिनका दुई शब्दहरू—”TAKE CARE “यति गहिरो हुन्छन्, जसले भित्री गहिरिएको चोटलाई पनि मल्हम लगाइदिने गर्दछ।

कहिलेकाहीँ लाग्छ, त्यो अमृतको घैला हो। जसलाइ सुकेको आत्माले एक घुट पिउँदा मात्रै पनि जिन्दगी फेरि सुन्दर र हरियाली लाग्न थाल्छ।

तर यहाँ एउटा कुरा बुझ्न जरुरी छ कि हरेक रातको पनि आफ्नै बिहान हुन्छ अनि सुन्दर बिहानको स्वागत गर्न रातसँग माया गर्न सिक्नुपर्छ।र त्यो माया…अरू कसैसँग होइन, पहिले आफूसँग गर्नुपर्छ।

जब एकपटक टुटेको मान्छे फेरि कसैसँग माया गर्छ भने ,त्यसमा न त कुनै ध्वनि हुन्छ, न त आहट न त कुनै नाटक नै । त्यो त शून्य जस्तै हुन्छ अदृश्य, तर घोर रूपमा उपस्थित हुन्छ। यो पीडाको आवाज केवल एक जनाले सुन्छ उसको आफ्नै मुटुले मात्र।

पहिलो पटक माया गर्न सजिलो हुन्छ। जुनसुकै अनुहार हेर आकर्षित होउ, झुम, प्रेम गर। तर दोस्रोपटक? त्यो त विश्वासको चिहानबाट उठेर फेरि प्रेमको फूल फुलाउनु हो। त्यो क्षण हो,जहाँ तिमी जसलाई भगवान ठान्थ्यौ,उसैले तिमीलाई राक्षसको चित्र कोरेर जान्छ। त्यस धोका पछिको पीडा…त्यसमा त शब्दहरू पनि हार खाने गर्दछ्न।

त्यसपछि, जिन्दगी एक्कासि विज्ञानजस्तो लाग्न थाल्छ।
V = IR किन हुन्छ? भन्ने मात्र होइन,पावर फैक्टर किन बिग्रन्छ ?. र त्यो सुधार्न रोइ रहनु पर्ने हो ?भनेर पनि बुझिन थाल्छ। र यति बुझ्दा बुझ्दै, एकदिन हामी पनि ती बिल्डिङका कोठाभित्र समाहित हुन्छौं, जुन कोठा हरेक रात चुपचाप सुक्क सुक्क गर्दै आँसु झार्न बाध्य छ।

१० बाई १५ को त्यो एकान्त कोठा,जहाँ त्यो ओछ्यानले मात्रै थाहा पाउँछ कि आज त्यो मानिस कति तल झरिसकेको छ,कति अपूर्ण महसुस गरिरहेको छ। र बाहिरको दुनियाँ त्यसले त भन्छ सब ठिक छ…सब ठिक छ..सब ठि….क छ। हेर त्यो कति खुसी छ , हेर त्यो कति
सुखी छ ।

जिन्दगीको ज्ञान रोकिँदैन, साह्रै चाखलाग्दो कुरा त के हो भने जिन्दगी आफैं पनि कहिल्यै रोकिँदैन। त्यो त न थाक्दछ, न कुराकानी नै गर्छ, बस चुपचाप हिँडिरहन्छ तिमी रोउ या हास।

हामी भने, कहिले धुवाँ बन्छौं त कहिले खरानी।जीवनको त्यो सिगरेट जसलाई समयको आगोले बालेको छ, हामी आफ्नै पोलाइमा रमाएका हौं। धुवाँ बन्यौं, माथि उठ्यौं,
तर त्यो उडाइ सधैं निर्दोष भने थिएन कहिले आफन्तले पोले कहिले आफैँलाई पोल्यौ।

धुवाँ त उडेर हराउँछ,तर बाँकी के रहन्छ? खरानी। त्यो खरानी जसमा हाम्रो अस्तित्व केवल सम्झनाको धूलो बनेर बाँच्दछ। र आज हामी….?

हामी त पाँच इन्चको स्क्रिनमा आफ्नै संसार बोकेर हिँडिरहेका हौं। जहाँ भावनाहरू इमोजी बनेका छन्,
र माया एक ठुलो भ्रम। अनलाइन भइरहने यी प्रेमीहरू उनीहरू जस्तै हामी पनि एकान्त भित्रबाट चिच्याइरहेका छौं,तर आवाज बाहिर आउँदैन। किनभने अब हाम्रो चिच्याहट पनि “टाइपिङ…” बनेर सीमित छ। हामी खोजिरहन्छौं, हामी जस्तै रुँदै गरेका अरू कोही। जो सायद बुझोस्—हामी को हौं। र यस्तै खोज्दै गर्दा कहिलेकाहीँ कोही भेटिन्छ, जो भन्छ, “म पहिलो त होइन होला, तर अन्तिम पक्कै हुनेछु।” तर यहाँ प्रश्न उठ्छ कसले निर्धारण गर्दछ कि अन्तिम को हो भनेर ? मन? समय? वा परिस्थितिले ?

शायद, त्यो अन्तिम पनि केवल भ्रम हो र फेरि, भ्रमसँगै जिन्दगी पनि चलिरहन्छ।

जिन्दगी जहाँ प्रेम अधुरो हुन्छ, मान्छे अधुरा बाँच्छन्,
तर खोज कहिल्यै अधुरो हुँदैन। शायद एकदिन,कुनै भित्र-भित्रै टुटेका, तर बाहिर हाँसिरहेका मनसँग हाम्रो नजर जुध्ला अनि सायद त्यसदिन, हामीहरू एकअर्काको लागि पूरा बन्न सक्ने छौँ ।

तर आजको रात?
आजको रात पनि उस्तै छ साँच्चिकै एक्ला मानिसहरू अझै अनलाइन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *