Skip to content

त्यो समय

आजका बच्चाहरूलाई केवल यति भन्नुपर्छ,
“बाबु, फ्रिजमा पानीको बोतल राखिदे त”,
ओहो! यस्तो प्रतिक्रिया आउँछ, मानौं कुनै ठूलो सजाय सुनायौं। आँखा ठाडो बनाएर हेर्छन्, खाउला झैँ गरेर।

तर हामीले त्यो समय देखेका छौं —
जहाँ पानीको प्रत्येक घैला इनार, कुवा वा धाराबाट बोकेर ल्याउनुपर्थ्यो। महिलाहरू टाउको र कम्मरमा गाग्री राखेर हिंड्थे, पुरुषहरू काँधमा गाग्रो बोकेर पाखा पखेरा, उकाली ओराली पार गर्थे।

अन्न पिस्न मिल थिएन,
ढिकी र जाँतो चल्थे — त्यो पनि हातको बलले।
गहुँ, मकै, धान, कोदो , फापर सबै आफैंले हलो जोतेर, घुँडा धसाएर उब्जाइन्थ्यो। इन्धन पनि आफैं जोहो गरिन्थ्यो गोबरका गुइँठा, रुखका हाँगाबिँगा, पराल।

पशुहरू घरका सदस्य झैं हुन्थे, गाई गोरु बाख्रा बाच्छा बाच्छी सबैका नाम हुन्थे पुन्टी गाई , तारे गोरु, मालती बच्छी ….। हसिया, खुर्पाले घाँस काटिन्थ्यो। बिहान स्कुल जानुअघि नै खेतमा गोरु हाँकिसक्नुपर्थ्यो, छोरीहरूले घाँसका भारी बोकिसक्थे। स्कुलबाट फर्कँदा बाटैमा छलफल चल्थ्यो — “कसको बारीमा घाँस राम्रो छ?
भोलि छुट्टी छ, गाई बाख्रा चराउन कता लाने?”

अझ रातपरेपछि मट्टितेलको टुकी बालिन्थ्यो। त्यो मधुरो उज्यालोमा आँखा थक्थे, तर मन थाक्दैनथ्यो।
बरु सपना देखिन्थे, सिमखेत उकास्ने , हाकिम हुने , सरकारको सिन्दुर पहिरिने ठूला, उज्याला अनि रंगीचंगी भरिपूर्ण।

तर आजभोलि? दिनभर मोबाइल र कम्प्युटर चलाउँछन्,
र भन्छन् — “थकाइ लाग्यो!” हो हुन त त्यो समय र यो समय मिल्दैन शरीर सङ्गै अहिले मस्तिष्क पनि थाकेको हुन्छ।
हामी त दिनभर काम गर्थ्यौं, कहिलेकाहीँ भोकै पनि सुत्थ्यौं तरपनि थकाइ भन्ने शब्द नै सुनेका थिएनौं।

दस–दस वटा रोटी खान्थ्यौं , मकैको भातमा भर्खरै खारेको घिउ हालेर खाइन्थ्यो । काका बाजेहरुको त कसले धेरै घिउ खान सक्छ भन्ने प्रतिस्पर्धा हुने गर्थ्यो।
तर कसैको पेट फुलेको देखिदैन थियो असबाफ मोटोपन भन्ने कुरा थिएन, बारी भरि खेत भरि करेसामा फलफूल लटरम्म हुन्थे, ग्यास्ट्रीकको अत्तो पत्तो थिएन ।

त्यो पसिनाले भिजेको शरीरमा रोटीको स्वाद फरकै थियो।
दालमा मातृत्वको स्वाद थियो । खानामा थोरै नुनिलो मात्रै भए पनि आत्मा सन्तुष्ट हुन्थ्यो।
माछा–मासु घरमै हुन्थे खसी, बोका, लोकल कुखुरा बजारको छेउ पनि पुग्नुपर्थेन।

हिजो सम्म केटाकेटी सोच्ने आफुलाइ आज हेर्छु बिस्तारै दाह्रीमा केस्रा केस्रा बनेर हिउँ बग्न थालेका छ्न , केशमा बादलले आफ्नो डेरा पकड जमाइसकेको छ । अलिकति अमिलो चिल्लो पिरो बढी भए इनो खोज्नु पर्छ । उस्तै परे हस्पिटल नै पुग्नु पर्ने अवस्था भैसक्छ ।

अहिले जीवन सजिलो भएको छ, तर सम्बन्ध अत्यन्तै गाह्रो। सुविधा सरल किसिमले आयो, तर ममता चटक्कै हरायो।

त्यो समय जहाँ दुःख थियो तर नपाएको चिजको गुनासो लालच र ईर्ष्या थिएन। थकाइ थियो तर आत्मा भरिएको महसुस हुन्थ्यो।

आज पनि जब म ती कुराहरु सम्झिन्छु आँखा रसाउँछ, र मनले भन्छ,हो, कठिन थियो तर साँच्चै सुन्दर थियो त्यो समय।

तपाईंहरु कस कसले देख्नुभएको छ त्यो समय?

Leave a Reply

Your email address will not be published. Required fields are marked *