म मर्न चाहन्न थिएँ… यस्तो निस्सासिएको, मौन, एक्लो मृत्यु…जहाँ सासहरू गनिन्छ्न, तर बाँचेको महसुस कहिल्यै हुँदैन।
म त चाहन्थेँ जिन्दगी लामो होस्, हो, अत्यन्तै लामो…
तर त्यस लामो यात्राको प्रत्येक मोडमा तिमी सँगै हौँ।
कहिले झर्किएर, कहिले ठुस्किएर, तर अन्त्यमा सधैं अंगालोमा भएको। म चाहन्थेँ बिहान तिमीले बनाएको त्यो अदुवा चियाबाट दिनको सुरुवात होस्। जहाँ तिमी रिसाउँदै भन्थ्यौ तिम्रो पो केही काम छैन, भान्साको काम र मेलापात त सधैं मैले मात्र गर्नुपर्छ!
र म हाँसेर भनिदिन्थे तिमी रिसाउँदा पनि कति राम्री देखिन्छौ थाहा छ?
त्यो साँझ, जुन ढिलो हुँदै रातमा गुम्सिन्थ्यो तिमी एक हातमा पानीको गिलास बोकेर आउँथ्यौ, अर्को हातले कपाल सम्हाल्दै बडबड गर्थ्यौ ” हे भगवान ! कुन पापको फल भोग्दै छु है म त! मेरी बहिनीको बुडोले त रानी बनाएर राखेका छ्न, हरे नारायण ! मेरो कर्म भने त…” र म तिमीलाई जिस्क्याउँदै भन्थेँ त्यही दाहालको छोरालाई छोडेर किन त मेरो पछि लाग्यौ नि? अनि तिमी त्यही कुरा सुनेर हाँस्थ्यौ। त्यो हाँसो… जसको आवाज अझै पनि मेरो कानभित्र घन्कन्छ।
झगडा हुन्थ्यो हामीबीच, तर त्यो झगडाको जरामा प्रेम उम्रेको हुन्थ्यो। रातमा खाना खाँदा तिमी मेरो थाल घिसार्दै भन्थ्यौ “नुन अलि बढि भए जस्तो लाग्छ…”तर मलाई त त्यो नुनले केही फरक पार्दैनथ्यो,किनभने तिमी बिना त मेरा प्रत्येक दिन नै बेस्वाद थिए।
अनि जब तिमी मेरो छातीमा टाउको राखेर निदाउँथ्यौ
त्यो क्षणमा म सम्पूर्ण संसार बिर्सिन्थेँ, किनकि मेरो सम्पूर्ण ब्रह्माण्ड तिमी थियौ, तिमी थियौ मेरो रातको चन्द्रमा, तिमी थियौ मेरो श्वासको धडकन।
तर आज…म बाँचेको छु हो, साँस त चलिरहेको छ,तर त्यो साँसभित्र जीवन छैन। आज म हाँसेको छु तर त्यो हाँसो भित्र जीवन छैन । किनभने त्यो हाँसोभित्र एक आत्मा छ, जो हरेक रात तिमीलाई सम्झेर चिच्याइरहेको छ।
तिमी बिना यो जीवन… एउटा भित्तामा अड्किएर झुण्डिएको घडी जस्तै हो, जसमा समय त देखिन्छ, तर चल्दैन। तिमी बिना म…शब्द बिना कविता लेख्न खोज्ने मूर्ख कवि जस्तै भएको छु।
मैले बन्द भएका ती कोठाहरू खोलेर हेरेँ , तिम्रो महसुस त त्यहाँ अझै पनि सजीव भएर बाँचिरहेका रहेछन् ।
तिमीले दिएको त्यो थोरै पल… त्यो केही वर्ष, त्यो केही महिना तिनीहरू नै मेरा सम्पूर्ण आयु हुन्। म अहिले बाँचेको छु केवल ती सम्झनाहरूको मृत्युभोजमा। र हरेक रात सुत्दा… म आशा गर्छु कि भोलि बिहान खुल्ने छैन मेरा आँखाहरू, र म तिमी भएको संसारतिर पुग्नेछु।
सायद अर्को जन्ममा …..
जब समयले हामीलाई धोका दिएन भने ,वियोगले नाटक मन्चन गरेन भने हामी फेरि भेट्टिनेछौं र हाम्रो अधुरो कथालाई अन्ततः पूर्ण बनाउनेछौं। तर जबसम्म त्यो दिन आउँदैन तिमीले दिएको ती हाँसो, रिस, रोष, माया…यी नै मेरो जीवनका सबैभन्दा अमूल्य धरोहर हुन्।
धन्यवाद…
तिमीले मबाट अधुरो भएर पनि यो प्रेमलाई अमर बनाइदियौ। तिमीले नदिएको साथलाई पनि मैले अस्तित्वमा राखिरहेको छु किनभने म प्रेम गर्दथेँ, गर्दछु… अनि सायद सधैं गरिरहनेछु।
…..१४ महिना भयो श्रीमती बितेको आज सम्म दिपेन्द्रको कोठामा मधुरो बत्ती बलिरहेको छ, बत्तीका उज्याला किरणहरु कुनै कुनाबाट हामफालेर बाहिर बाघचाल खेलिरहेकाछ्न ।
लाग्छ दिपेन्द्र सदा झै आज पनि सुतेको छैन।