Skip to content

वाहिद देखि अरौश – एउटा अविस्मरणीय यात्रा

म तेहरान कहिल्यै गएको छैन। तर दुबाइमा भेटिएका धेरै इरानीहरूले इरानलाई मेरो मनमा एउटा नक्साजस्तो कोरेका छन्। भेटेका अधिकांश इरानीहरू शान्त छन्, रिसाहा छैनन्। व्यापारमा उनीहरूको पकड बलियो छ। अनुशासन, धैर्य र आत्मविश्वास उनीहरूको स्वभावमा देखिन्छ। पुरुष र महिला दुवै शारीरिक रूपमा सन्तुलित, स्वस्थ र आकर्षक देखिन्छन्। हेर्दा लाग्छ, इरान कुनै साधारण देश होइन, एउटा महादेशजस्तै हो। नदी, तालतलैया, समुद्र, मरुभूमि, मैदान, पहाड, इतिहास, संस्कृति…..इरानमा नहुने कुरा सायदै होला।

मेरो कुरा सकिन नपाउँदै ट्याक्सी चालक (मेट्रो ट्याक्सी) लामो सास फेरे। त्यो सासमा थकान थियो, पीडा थियो, र दबिएको आक्रोश पनि।

अरबहरू आए र हाम्रो देश बर्बाद गरे। हामीमाथि पछिल्ला चौध सय वर्षदेखि अत्याचार भइरहेको छ। सबैले अरब र मुसलमानलाई पीडित ठान्छन्, तर उनीहरू जत्तिका अत्याचारी सायद संसारमा अरु कोही होलान।

उनले आफूलाई देखाएर भने, म इरानमा वकिल थिएँ। क्यानडाको मोन्ट्रियलमा ट्याक्सी चलाएँ। मेरो दाजु ठूलो व्यवसायी थिए, तर उनलाई पनि जर्मनी भाग्नुपर्‍यो। स्कुलमा हुँदा सहपाठीहरूले भन्थे, ‘नमाज पढ।’ नमाज नपढ्दा पिटाइ खाइन्थ्यो। त्यसो भए म किन नमाज पढूँ?

मैले सोधेँ, तिमी मुसलमान होइनौ र?

म जोरोएस्ट्रियन हुँ। अहुरा मज्दाका उपासक! ड्राइभरले गर्वका साथ भने।

म किन मुसलमान बन्ने? हाम्रो धर्मग्रन्थमा धेरै सुन्दर कथा कविता अनि मानवताका कुराहरू छन्। कसैलाई मार्ने कुरा छैन, दिनमा पाँचपटक हात काट्ने आदेश छैन। हाम्रो धर्ममा जबरजस्ती धर्म परिवर्तनको नियम छैन। यदि तिम्रो विचार मसँग मिलेन भने एकै चोटिमा टाउको काट्ने हुकुम छैन। एकपछि अर्को विवाहको उल्लेख छैन, बाल विवाहलाई प्रोत्साहन गरिँदैन। उनीहरूको धर्ममा क्रूरता र जंगली यौन बाहेक के छ?

उनले शाहनामाको कुरा गरे। रुस्तम सोहराबको कथा, हजारौं वर्ष पुरानो इतिहास, रोमन र युनानीहरूसँगको युद्ध, इरानी सभ्यताको गौरव। इब्न सिना, अल राजी, उमर खय्याम…यी सबैलाई संसारले अरबी नामले चिन्ने गर्छ, तर उनका अनुसार, उनीहरू इरानी आत्माका सन्तान थिए।

इरान भनेको हामी हौँ, उनीहरू कब्जा गर्नेहरू हुन्। उनीहरूले हाम्रो कमजोरी र विभाजनको फाइदा उठाएर देश कब्जा गरे, हामीलाई धर्म परिवर्तन गर्न बाध्य पारे, ठीक त्यस्तै जसरी उनीहरूले जहाँ जहाँ गरे। शाहको समयमा हामी धेरै राम्रो थियौँ, तर यी मुल्ला आए अनि कट्टरता फैलाएर हाम्रो जीवन कठिन बनाइदिए। मुल्लालाई हटाउने धेरै प्रयास भए, तर किन हो किन, अमेरिकालाई पनि मुल्ला मन पर्छ, अहिले त रसियालाई पनि । यो सबै पैसाको खेल हो, तिमी बुझ्दैनौ। मलाई लाग्छ संसारकै सबैभन्दा भ्रष्ट सरकार इरानी सरकार हो। मलाई लाग्दैन उनीहरू आफ्नो धर्ममा विश्वास गर्छन्। उनीहरू सत्तामा बसेर थाकेका छन्, तर सत्ता छोड्नेवाला छैनन्।

( यी वाक्यले मलाइ यति उकास्यो कि हतपत मोबाइलको नोट मा लेखी हाले :- उनीहरू सत्तामा बसेर थाकेका छन्, तर सत्ता छोड्नेवाला छैनन्।)

मैले पारसीहरूको भारत पलायन, भारतीय समाजमा उनीहरूको योगदान, संस्कृति र पहिरनमा परेको फारसी प्रभावको कुरा उठाएँ। एउटा समूह आठौँ शताब्दीमा भारत गएको ,अर्को समूह उन्नाइसौँ शताब्दीमा गएको अनि पारसीहरूको कारण भारतमा अखबार, चित्रकला, रंगमञ्च, सिनेमा सबै संस्कृति विकास भएको कुरा पनि उठाएँ । भारतीय महिलाहरूले साडी किन लगाउँछन् भन्नेमा पनि फारसी प्रभाव छ भन्ने पढेको थिए। के इरानमा अहिले पनि जोरोएस्ट्रियनहरुको अस्तित्व बचिरहेको छ ? मैले कौतुहलताका साथ सोधे ।

सायद एक हजार बीसजति होलान्। करिब चालीस कुल छन्। हाम्रो एउटा सांसद पनि छ तर ऊ चुपचाप बस्छ। हामी उसको मौनताको कारण बुझ्छौँ उसको घाँटीमा एउटा मात्र टाउको छ!

के इरानमा बाहिरबाट मुसलमानजस्तै देखिने तर घरभित्र अहुरा मज्दाको पूजा गर्नेहरू पनि छन् र? मैले प्रश्नहरुको चाङ खडा गर्दै सोधेँ।

पक्कै छन्। धेरै मानिसहरू बाँच्नका लागि त्यसो गर्दछ्न। उदाहरणका लागि, मेरो नाम ‘वाहिद’ हो। यो अरबी नाम बुबाले समाजमा घुलमिल गर्न सजिलो होस् भनेर राखिदिनु भएको हो। मेरो एउटा फारसी नाम पनि छ ‘अरौश’।

तर तपाईं इरान जाँदा, जस्तै एयरपोर्टमा, उनीहरूलाई थाहा हुँदैन कि तपाईं मुसलमान होइन भनेर ?

हुन्छ नि। उनीहरूले मलाई मेरो परिवारको नाम ‘जाम’ बाट चिन्छन्। ‘जाम’ एउटा पुरानो फारसी सम्राटको नाम हो, र एउटा देवताको नाम पनि। ‘जाम’ ‘जमिन’ अर्थात् धरतीबाट बनेको हो।

तपाईं कति समयदेखि आफ्नो देश जानुभएको छैन?

वाहिद जामले लामो सास फेरे, अन्तिम पटक बाह्र वर्षअघि गएको थिएँ। इरान अद्भुत देश हो। माय होमल्यान्ड! म साँच्चै देश फर्किन चाहन्छु, तर कुनै बाटो छैन।

यदि इच्छा छ भने बाटो पनि होला, मैले मनमनै सोचेँ। यदि इच्छा छ भने बाटो हुन्छ, फर्किँदै गर्दा ड्राइभरले भने।

जोर्डनमा जन्मेका, जोर्डनको पासपोर्ट, प्यालेस्टिनी मूलका, धेरै राम्रो अंग्रेजी बोल्ने। “म त्यति राम्रो अंग्रेजी बोल्दिनँ। मेरो बहिनीको छोरीको अंग्रेजी धेरै राम्रो छ। म उसको जस्तो बोल्न सक्दिन। म अलिकति अंग्रेजी बोल्न सक्छु, किनकि कुवेतमा मेरो बोस अमेरिकन थिए। कुवेत पैसा कमाउने ठाउँ हो, बुझ्यौ? क्यानडामा ट्याक्सी चलाएर जति कमाउँथेँ, त्यसको तीन गुणा कुवेतमा कमाएँ। असली कुवेतीले चाह्यो भने सरकारी कार्यालयमा काम लगाउन सक्छ। काम नगरे पनि सरकारले हरेक महिना करिब ७,००० डलर भत्ता दिन्छ। घरमा पाँच छ जना कामदार हुन्छन्। त्यसैले काम गर्नै पर्दैन। कुवेती नागरिकता जन्मसिद्ध हुन्छ। बुबा कुवेती नभए कुवेती कहिल्यै हुन सकिँदैन। म नै थिएँ, यति वर्ष कुवेत बसेर पनि कुवेती पासपोर्ट नपाएको! किन? उनीहरूको नियम त्यही हो!”

म यहाँ यसकारण आएको हुँ कि संसार आफ्नै आँखाले हेर्न चाहन्छु। मलाई अब धर्म वा राजनीति सङ्ग केही मतलब छैन। मेरा आमाबुबा जोर्डनमा शरणार्थीका रूपमा आए। उनीहरू मरेर बाँचेजस्तै भए, कडा मेहनत गरे र आफ्नो जीवन संघर्ष गरे। म संसार हेर्न चाहन्छु, त्यसको मजा लिन चाहन्छु, र त्यसको फल पाउन चाहन्छु। म बिहे गर्नेछैनँ। म बस मजा लिनेछु। आउदो फेब्रुअरीमा म दुबाइ बाट रूस जादैछु। त्यहाँका केटीहरू धेरै सुन्दर हुन्छन्। केही अन्यथा नसोच्नु, मैले तिमीलाई सत्य मात्र भनेको हुँ। मैले एउटा पनि झूट बोलेको छैन है। एक्वाफिना पानीको घुट्को लिदै फेरि हास्न लाग्यो।

अन्त्यतिर संवादले नेपाल छोयो। नेपाल घुम्ने इच्छा व्यक्त गर्दै कहिल्यै नदेखेको नेपालबारे उनले विगतको शान्त छवि सम्झिए। आज नेपालीहरू खाडीमा क्लिनिङ, सेक्युरिटीमा अनि अति नै निम्न ज्यालामा सीमित भएको यथार्थप्रति उनको टिप्पणी कठोर तर इमानदार थियो। बङ्गलादेश, प्यालेस्टाइन ,पाकिस्तान ,लिबिया, सिरिया , जर्मनी, बेलायत सहित अनेकौं देशको उदाहरण दिदै उनले नेपाललाई चेतावनी दिदै भने अवैध आप्रवासन, अन्धाधुन्ध खुला धर्मान्तरण, भूराजनीतिक खेल बुझ्न ढिलो नगर्नू। देश बचाउनु इतिहासको जिम्मेवारी हो।

ट्याक्सी रोकियो। भाडा कार्डबाट तिरे तर टिप्स लिन अस्वीकार गरे । भेट फेरि कहिल्यै होला या नहोला भन्ने अनिश्चिततासहित बिदाइमा उनले ईश्वरको नाम लिए।

जनवरी १ तारिख बिहानको चिसो सिरेटो ; म उत्रिए ट्याक्सी हुइँकिँयो …..मन अमिलो हुँदै भारी भयो। त्यो भेट एउटा व्यक्ति अरौश सङ्ग मात्रसँग भएको थिएन। त्यो इरान, नेपाल र विश्व परिवेश सँग भएको साक्षात्कार थियो। एउटा ड्राइभरको आत्मकथाले देखाएको इतिहासको चिरा, राजनीति र पहिचानको द्वन्द ; हाम्रो आफ्नै देशको ऐनामा देखिएको प्रतिबिम्ब थियो।

यात्रा सकियो, तर मनमा भने अनेकौं प्रश्नहरूको प्रारम्भ भयो….

Leave a Reply

Your email address will not be published. Required fields are marked *