Skip to content

होलेरीबाट ‘जनयुद्ध’ लाई नियाल्दा

  • by

‘होलेरी’ भन्ने अत्यन्त मीठो शब्द छ र कतै अङ्ग्रेजीको ‘होली’ शब्द तन्किएर नेपालीमा होलेरी भएको रहेछ कि भन्ने सम्झनाले यस शब्दको मिठासभित्र पवित्रताको पनि आभास आउँछ । यस्तो मीठो र पवित्र शब्द केही वर्ष पहिले जनमानसमा अत्यन्त डरलाग्दो रूपमा प्रस्तुत भएको थियो अर्थात् होलेरी रोल्पाको अत्यन्त विकट ठाउँमा रहेको डरलाग्दो जङ्गल क्षेत्र हो ।
तीस वर्ष पहिले म रोल्पाको पूर्वी र दक्षिणी क्षेत्रका कुनाकाप्चा घुमिसकेको व्यक्ति भए पनि यसको उत्तरी क्षेत्र अत्यन्त विकट छ र त्यसै विकट क्षेत्रको डरलाग्दो जङ्गल होलेरी हो भन्ने कुरामा म विश्वस्त थिएँ । त्यसैले म माओवादी गतिविधिलाई साहित्यमा उतार्न लिवाङदेखि उत्तरतिर नै जान रुचाउँथेँ र उत्तरतिरको जङ्गलमा मैले मित्रताका दुई प्रमुख पात्र ‘जसु’ र सरोजको निर्माण गरेको थिएँ तर त्यस समयमा उनीहरू रोल्पाका जनतासँग माया गाँस्न सफल भए पनि जनयुद्धको आवश्यकताभन्दा अर्कै विषयलाई महìव दिँदै रोल्पाको खुङ्ग्रीबाट विछोडका आँसु लिएर बिदा भएको हुँदा म पुनः त्यस क्षेत्रमा अरू पात्रहरूलाई लिएर प्रवेश गरेको हुँ । अन्य ठाउँमा जीवनका तीतामीठा अनुभव बटुलेर सङ्घर्षको मैदानमा उत्रेका दासता मुक्ति उपन्यासका नायकनायिकाहरूलाई मैले प्यूठानको बाटो हुँदै रोल्पा पुर्‍याएर त्यसै क्षेत्रमा केन्दि्रत गराएको छु र त्यस उपन्यासकी प्रमुख नायिकाको स्थायी बसोबास रोल्पामा गराउनुका साथै बुद्धिजीवीहरूलाई ग्रामीण क्षेत्रमा आकषिर्त गर्न खोजेको घटनाले रोल्पाको त्यसै क्षेत्रलाई इङ्गति गरेको छ ।
यस सानो भूमिकापछि म पुनः ‘होलेरी’ भन्ने शब्दतिर नै जान्छु । हो, केही वर्ष पहिले होलेरी धेरै चर्चित थियो । ‘त्यहाँ माओवादीहरूको ठूलो सम्मेलन भइरहेको छ’, ‘भएभरका सबै नेताहरू त्यहीँ छन्’, ‘सम्पूर्ण नेताहरूलाई एकै ठाउँमा सिध्याउन सैनिकहरू तम्तयार छन्, आदेशको मात्र पर्खाइ छ’ आदि अनेक समाचारहरू प्रसारित भइरहेका हुन्थे र कुन समयमा कस्ता विनाशलीला सुन्नुपर्ने हो भनेर सम्पूर्ण जनमानस त्रस्त थिए तर त्यस्तो आदेश आएन या कार्यान्वयन भएन जनताले बुझ्न सक्ने कुरा थिएन, त्यसैले बहुप्रतिक्षित डरलाग्दो समाचार सुन्न जनतालाई परेन । सुस्तसुस्त त्यहाँबाट सैनिकहरू पछि हटेको कुरा सुनिएको हो र नेपालको राजनीतिले कोल्टे फेर्न सुरु गरेको हो ।
त्यसपछि माडी र झिमरुकमा मात्र होइन बागमती र गण्डकीहरूमा धेरै पानी बग्यो, मर्ने र मार्ने प्रतिस्पर्धा मात्र होइन गाडेका लाससमेत निकालेर आतङ्ककारीहरूका क्षतिको विवरण प्रमाणित गर्न र त्यस्ता प्रमाणबाट शान्ति आउँछ भनेर जनतालाई आश्वस्त गर्न सत्तासीनहरू कसरत गर्दै रहे । त्यसरी सतवरियामा लास निकालिएको दर्दनाक दृश्य देख्नुका साथै त्यस्तै दुर्दशा देखाउने क्रममा चुत्राबेँसीमा पनि देखियो । रातो पहिरनमा ठाँटिएकी युवा लडाकु महिलाको क्षत्विक्षत् लास देख्दा कलम र कापी समाउनुपर्ने ती हातले किन र कसरी बन्दुक समाउन पुगे होलान् भनेर सबैका मनमस्तिष्क तड्पिएको थियो । ती सबै घटना धेरैजसो रोल्पाकै आसपासमा भएका र ती क्षत्विक्षत् दृश्यावलीमा देशप्रेमी रोल्पालीहरू नै बढी संलग्न भएको अनुमान जोसुकैले लगाउन सक्थे । यसरी रोल्पा र होलेरी मानिसका मनमस्तिष्कमा थिए भने कोल्टे फेरेको राजनीतिले होलेरीको सम्मेलन स्थललाई भारततिर प्रवासमा सार्‍यो । त्यसपछि मात्र ‘नयाँ नेपाल’ निर्माण गर्ने विभिन्न शक्ति एक हुने तयारीमा लगेका हुन् र आतङ्ककारी गतिविधि भनिने कुरालाई जनयुद्ध शब्दमा रूपान्तरण गर्न सबै नेताहरू सहमत भएका हुन् । यसैलाई परिप्रेक्ष्यमा मैले दासता-मुक्ति उपन्यासमा लेखेको छुः
‘शान्ति !’ यहीँ एउटा शब्द थियो त्यो बेला मानिसहरूको सपना, जपना र रटनामा । शान्ति आउँछ भने ‘जे सुकै होस् !’ ‘जोसुकैले राज्य गरोस् !’ जनतालाई अरू कुनै कुराको चासो थिएन । धेरै वर्षदेखि यस्तो मनस्थितिमा शान्तिको मात्र खोजीमा रहेका मानिसहरूका लागि बुद्ध भगवान्को जन्मस्थलमा ‘कामरेड धरती’ बुद्ध नै भएर सम्मानित भइन् ।
परिवर्तित सन्दर्भमा होलेरी पुग्न कुनै ठूलो कुरा थिएन र त्यतातिार जाने मैले उद्देश्य पनि राखेको थिइन । यसरी मनमस्तिष्कमा नाचिरहेको रोल्पाको दृश्यावली र होलेरीको त्यो त्रासदीपूर्ण समयको सम्झना सुस्तसुस्त धुमिल हुँदै गइरहेका थिए । अचानक २०६४ सालको लक्ष्मीपूजाको दिन प्यूठानको पवित्र स्थल स्वर्गद्वारी पुग्ने योजना बन्यो ।
स्वर्गद्वारी दुईतिरबाट पुग्न सकिने रहेछ । एउटा परापूर्वकालदेखि हिँडेर जाने गरेको माडी खोलाको किनारामा अवस्थित प्यूठानको भिङ्ग्रीबाट ठाडै उकालो चढेर करिब चार घण्टामा पुगिने बाटो र अर्को दाङ घोराहीबाट बस जाने कच्ची बाटो हामी बसबाट नै जाने विचार गरी लक्ष्मीपूजाको दुई दिन पहिले दाङको घोराहीतिर लाग्यौँ । घोराहीबाट बस चढेर स्वर्गद्वारी जाने क्रममा आधाजसो बाटो रोल्पा जिल्लामा पर्ने रहेछ । यसरी कच्ची सडकमा करिब दुई घण्टा बसमा गुडेपछि हामी एउटा मनोरम डाँडामा सुनौला घाम लागेको समयमा पुग्यौँ । त्यो ठाउँ नै रोल्पाको प्रसिद्ध ‘होलेरी’ रहेछ । अनि मात्र मनमस्तिष्कमा सुरक्षित रहेका पुराना घटना र दृश्यावलीहरू पुनः मेरो सामु अवतरित भए र म त्यस चिरपरिचित होलेरीलाई निर्मिमेष हेरिरहन थालेँ ।
त्यो भयानक समय । कल्पनाका तरेलीमा नाचिरहेको अन्धकारमय जङ्गलको त्यो परिदृश्य र त्यसैसँग गाँसिएको होलेरीलाई यस सुनौलो समयमा रमाइलो डाँडामा भेटाउँदा कताकता विश्वास गर्न सजिलो भएन । रोल्पा जिल्लामा दुई तीन दिन हिँडेपछि पुगिने कुनै दुर्गम र अत्यन्त विकट ठाउँमा कल्पना गरिएको त्यो होलेरी र यो होलेरी एउटै भएको कुरामा कसरी विश्वास गर्नु ? त्यस होलेरीमा म आफू कहिल्यै पुग्न सकुँला भन्ने सपनामा पनि सोचेको थिइन तर यस होलेरीमा त म तीस वर्ष पहिले पुगेको थिएँ । इन्जिनियर शारदाप्रसाद शर्मा र म अरू सहयोगीहरूसँगै घोराहीबाट हर्नक, लोहारपानी, तिराम, देवीथान, भिङ्ग्री हुँदै खुङ्ग्री पुगेका थियौँ । घोराही-प्यूठान-रोल्पा सडकको रेखाङ्कन गर्ने क्रममा तत्कालीन निर्माण यातायातमन्त्री बालाराम घर्तीमगरको घर र तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराको घर रहेको मिजिङ हुँदै लाहा लेख चढेका थियौँ ।
लिवाङबाट र्फकने क्रममा हामीले उत्तरतिरका पहाडहरू अवलोकन गर्न पाएका हौँ र पश्चिमको बाटो लागेर पश्चिम रोल्पा र दक्षिणको केही भागमा यात्रा गर्ने अवसर पाएका हौँ । र्फकने क्रममा नदी तरेर दक्षिणको पहाड चढेपछि मसिना लेख भेटिएको हो र त्यतिबेला यात्रा गर्ने क्रममा सुनेका उमागाउँजस्ता केही नाम मेरो मस्तिष्कमा अझै ताजा नै छन् तर अहिले होलेरीमा उभिएर स्थानीय वासिन्दासँग सोधपुछ गर्ने क्रममा मसिना, उमा गाउँ आदि ठाउँ देख्दा माओवादी योद्धाहरूले केन्द्र बनाइरहेको डरलाग्दो भनिने क्षेत्रमा म तीस वर्ष पहिले नै यात्रा गरिसकेको रहेछु । जनयुद्धको यस जन्मभूमिमा आफूले धेरै वर्ष पहिले पदचाप छोडेको मृदुल अनुभूतिले मलाई ज्यादै भावुक बनायो ।
होलेरीबाट पूर्व लागेपछि बस रोल्पा जिल्ला छाडेर प्यूठानतिर लाग्ने क्रममा थियो । बाटोमा माओवादी छापामारहरूको शिविर र त्यहाँ लडाकू छापामारहरूका सक्रियता देख्न पाउँदा नयाँ अनुभूति प्राप्त भयो र स्वर्गद्वारी जाने यस तीर्थयात्रामा अत्यन्त रमाइलो अनुभूति थपियो । पुर्खाहरूले अत्यन्त माया गरेको यो ठाउँ, नेपालका मात्र होइनन् भारतका समेत श्रद्धालुहरूले सदैव सस्नेह यात्रा गरिरहने यो ठाउँ, महाप्रभुले तपस्यापूर्वक जीवन बिताएको यो पवित्र भूमि जहाँ सयौँ वर्षदेखि अखण्ड अग्नि प्रज्वलित भएर सम्पूर्ण देशवासीलाई र विदेशी श्रद्धालुहरूलाई समेत निमन्त्रणा गरिरहेको छ । त्यस ठाउँमा पुग्न बसबाट यात्रा गर्न पाउँदा र जनयुद्धमा सक्रिय रहेका ठाउँहरूको भ्रमण गर्न पाउँदा सुनमाथि सुगन्ध थपिएको अनुभूति बटुल्दै हामी रोल्पा, प्यूठान र दाङका हरिया पहाडहरूको दृश्यावलोकनमा रमाउँदै स्वर्गद्वारी पुग्यौँ ।
अर्को दिन फर्किने क्रममा हामी ठाडै बाटो झरेर भिङ्ग्री पुग्यौँ । ठाडो ओरालो बाटो ओर्लने क्रममा अत्यन्त असजिलो लाग्यो । पूरा तीन घन्टा विनाविश्राम हिँडिरहेर भिङ्ग्री पुग्ने बेलामा अरू बढी एक पाइला पनि चाल्न नसक्ने स्थितिमा मेरी जीवनसङ्गनिी निर्मला आचार्य र म पुग्यौँ तर पनि ओर्लने क्रममा मेरो मनमस्तिष्कमा सदैव मायालु ठाउँ ओगटेर बसेको रोल्पाका ती पहाडहरू, खुङ्ग्री, मिजिङ, वडाचौर आदि गाउँहरू, लुङ्ग्री खोला र माडीखोलाका साथै प्यूठान जिल्लाका रमणीय पहाडी दृश्यावली निर्मलालाई देखाउनुका साथै भिङ्ग्रीको बाटो भएर तीस वर्ष पहिल्यै हामी हिँडेको कुराको वर्णन गर्न पाउँदा मेरो थकाइ कम भएको थियो । त्यस क्षेत्रप्रति अरू स्नेह थपिएको थियो । भिङ्ग्रीमा धेरैतिर जाने यात्रीहरू थिए । तिनीहरूमध्ये एउटा रोल्पाली परिवारप्रति म आकषिर्त भएँ । वडाचौरका एक जना युवा आमा, श्रीमती र छोरीलाई स्वर्गद्वारी यात्रा गराएर सबै सँगै घर र्फकने क्रममा रहेछन् । उनीहरूले रोल्पातिर जाने बस कुरिरहेको समयमा मैले उनीसँग केही जानकारी हासिल गर्न चाहेँ ।
माओवादी जनयुद्धको त्यस उर्वर भूमिमा त्यस्ता हट्टाकट्टा युवा परिवारलाई तीर्थयात्रा गराउने गरी घरमा निश्चिन्त भएर कसरी बस्न सकेका हुन् भन्ने प्रश्नमा उनले आˆनो कुरा बताए । बाबाआमा र दुई भाइ छोरा, एउटी बुहारी भएको त्यस घरबाट उनका भाइ जनयुद्धमा गएका रहेछन् तर उनलाई त्यहाँ बस्न मन नलागेर भागेर भारततिर गएकाले त्यस परिवारमा आपत्ति आइलागेको रहेछ । ‘पछि बाबाले जरिवाना तिरेपछि हामीलाई केही भएन तर भाइ आएका छैनन्’ भन्ने जवाफ दिने ती मगर युवा अब शान्तिको समयमा देशमा नै बसेर केही प्रगति गर्न सकिएला भनेर पूर्णरूपले विश्वस्त देखिए । यसरी त्यस क्षेत्रमा युवाहरू कोही जङ्गलमा र कोही मुग्लान पुगेर गाउँ खाली छन्, शव उठाउन मलामी पनि पुरुष पाइँदैन’ भन्ने त्यस समयको हल्ला पूर्णरूपले सत्य रहेछन् । जीवन जसरी तसरी आˆनो बाटोमा चलिरहेकै रहेछ भन्ने सन्तुष्टिको अनुभूति पनि प्राप्त भयो ।
अन्तमा, रोल्पा जाने बस आइपुग्यो र अत्यन्त आतुरतासित बस कुरिरहेका सम्पूर्ण यात्रीहरूसहित ती युवाका परिवारजन पनि बस चढे । बस चढ्ने क्रममा तिनकी बाह्र-तेह्र वर्षकी फुर्तिली छोरीको सक्रियता देख्दा मलाई रमाइलो लाग्यो । जनयुद्धले गाउँ रित्याएको भए र गाउँप्रतिको सम्पूर्ण आकर्षण सिद्धिएको भए ती नानी गाउँ र्फकन त्यति खुसी किन हुन्थिन र ? हाम्रा छोराछोरी काठमाडौँमा रमाइलो नभेटाएर अमेरिका, बेलायत र अस्ट्रेलियाका भिसा प्राप्त गरी त्यता जान पाउँदा जसरी रमाउँछन्, ती नानी रोल्पा जाने बस चढ्दा त्योभन्दा बढी रमाइन् भने मेरो मनमस्तिष्क पनि तिनीसँगै रोल्पातिर लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *