Skip to content

नेपाली साहित्यका विविध विधाका सम्बन्धमा इतिहास खोज्ने, तिनीहरूको वर्तमान अवस्था केलाउने र ‘बिहानीले नै दिउँसो कस्तो होला भन्ने सङ्केत देखाउँछ’, भनेझैँ यसैका आधारमा भोलिको अनुमानित मूल्याङ्कनको आकलन गरिँदैआएका कार्यक्रमहरू धेरै पहिलेदेखि नै हुँदै आएका पाइन्छन् । विश्वसाहित्यको तुलनामा नेपाली साहित्यको इतिहास त्यति पुरानो र मजबुत छैन भन्ने तथ्यहरू त प्रस्तुत भइसकेकै हुन् तर पनि लगभग दुई सय चालीस वर्षको इतिहास बनेको नेपाली साहित्यले पनि विधागतरूपमै प्रशस्तै उन्नति-प्रगति गरिसकेको छ । हाम्रो आˆनो भूमि, आˆनो परिवेश, आˆना साधनस्रोत र आˆनो उन्नतिअनुसार जागृत चेतनाबाट सिर्जित हाम्रो साहित्यको समग्र अवस्थाको मूल्याङ्कन गरिनु पनि उत्तिकै आवश्यक छ ।
यसै सम्बन्धमा वि.सं. २०६६ भदौ ५ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘नेपाली साहित्य ः हिजो, आज र भोलि’ विषयक एक विचार गोष्ठीको आयोजना गरिएको थियो । सामाखुसी साहित्य समाज, काठमाडौँद्वारा आयोजित उक्त कार्यक्रममा अग्रज साहित्यकार एवं साहित्यिक पत्रकार भवानी घिमिरेको त्यसैरात भएको असामयिक निधन र निर्धारित धेरै कार्यक्रमहरू एकै समयमा परेका कारण पनि उल्लेख्य उपस्थिति नरहेको भए पनि महत्त्वपूर्ण व्यक्तित्वहरूको सहभागिता थियो ।
‘नेपाली साहित्य ः हिजो, आज र भोलि’ शीर्षकमा साहित्यकार कृष्ण धरावासीको एकल कार्यपत्र प्रस्तुत गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथिमा- वरिष्ठ साहित्यकार वैरागी काइँला, विशिष्ट अतिथिमा- डा. दुर्गाप्रसाद भण्डारी हुनुहुन्थ्यो । कार्यपत्र एउटै मात्र भए पनि कार्यपत्रमाथि टिप्पणी गर्नेहरूमा चाहिँ समालोचकत्रय- डा. खगेन्द्रप्रसाद लुइटेल, डा. ज्ञानू पाण्डे र रामप्रसाद ज्ञवाली हुनुहुन्थ्यो । कार्यपत्र प्रस्तोता धरावासीले प्रस्तुतिको प्रारम्भमै “यो कार्यपत्र नभएर गोष्ठीमा छलफलका लागि विषय प्रवेशको माध्यमपत्र मात्र हो र यसलाई त्यसैअनुरूप मात्र लिइदिन आग्रह गर्दछु” भन्नुले विषय यति महत्त्वपूर्ण भएर पनि अलिक खल्लो अनुभव गर्नुपरेको थियो । हिजो, आज र भोलि गरी तीन खण्डमा बाँडिएको धरावासीको गोष्ठीपत्रलाई आधार मानेर त्यसका महत्त्वपूर्ण अंशको सार प्रस्तुत गर्दै टिप्पणीकर्ताहरूका टिप्पणीका खँदिला अंशहरूलाई पनि यहाँ प्रस्तुत गरिएको छ । नेपाली साहित्यको इतिहास, वर्तमान अवस्था र भोलिको अनुमानबाट साहित्यिक पाठकलाई धेरथोर लाभ पुग्ने विश्वास गरिएको छ ।
हिजो
पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई बल प्रदान गर्दै उदयानन्द र यदुनाथहरूले वीर रसका कविताहरू रचना गरेर काव्यिक यात्रा प्रारम्भ भएको मानिन्छ । वि.सं. १८७३ देखि १९४० सम्मको ६७ वर्षको कविताले वीरधाराबाट मुक्त भएर आध्यात्मिक चेतनाको खोजी गरेको छ । एकीकरणको जीतको उन्माद, हारको पीडा र वेदनाहरूबाट मुक्तिको बाटोको खोज गर्दै जाँदा रामभक्ति र कृष्णभक्तिका गीत, भजन र गाथा गायनहरू आउन थाले । यसमा सबैभन्दा उत्कृष्ट योगदान भानुभक्त आचार्यको छ । भक्तिधाराका रूपमा एकातिर आएको छ भने अर्कोतिर निर्गुण भक्तिधारा पनि देखिएको छ । राम भक्तिधाराका भानुभक्त आचार्य, कृष्ण भक्तिधाराका इन्दिरस र निर्गुण भक्तिधाराका सन्त ज्ञानदिलदास हुन् भने वि.सं १९४१ देखि १९७४ सम्मको ३३ वर्षको अवधिलाई शृङ्गार कालका रूपमा हेरिन्छ र मोतीराम भट्टले यसलाई अगुवाई गरेका छन् ।
वि.सं. १९७५ देखि प्रारम्भ भएको आधुनिक नेपाली कविताले आजसम्म धेरैवटा खुड्किलाहरू पार गरेको छ । परिस्कारवाद, स्वच्छन्दतावाद, प्रगतिवाद, प्रयोगवाद, आदि हुँदै समसामयिक धारासम्म आएको हो । राणा शासनको विरोध गर्ने क्रममा राजनीति, मुक्त विद्रोह र क्रान्तिका कविताहरू जन्मिन थाले र लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ले अगुवाई गरेको छ । सम, देवकोटा, सिद्धिचरण, व्यथित, आदिको कलमले विद्रोह गरेको छ । यसैबेला गोपालप्रसाद रिमालले नेपाली कविताको आधुनिक यात्रामा क्रान्तिकारी पाइला अघि बढाए ।
नेपाली साहित्यको अघिल्लो काल काव्यात्मक देखिन्छ । वि.सं. १९९१ को शारदा प्रकाशनपछि नेपाली साहित्य अनेक विधामा छरिन थालेको पाइन्छ ।
आज
आज जहिले पनि प्रश्नात्मक र आलोच्य हुन्छ । आजसँग कोही पनि सन्तुष्ट हुँदैन । भोगको सम्पूर्ण प्राप्ति आजसँग छ तर त्यही आज हरेक क्षण असन्तुष्टिको घेरामा पर्दछ । आजमाथि उभिएर हामी हिजोलाई हेछार्ंै र भोलितिर फर्किन्छौँ । हरेक क्षण चुनौती छ आज र भोलिमा पुग्न प्रत्येक पाइला कठिनाइ छ । विभिन्न समयमा देशमा भएका राजनीतिक परिवर्तनहरूसँगै साहित्यिक सिर्जनाले पनि नयाँनयाँ बाटो तय गर्दै आएको छ । राजनीतिक घटनाक्रम र राज्यको नीतिले साहित्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।
वि.सं. २००७ सालको परिवर्तनले नेपाली साहित्यमा पनि एकाएक नयाँखाले चेतना जागृत भयो । गोपालप्रसाद रिमालबाट प्रवेश गरेको गद्य कविता, विश्वेश्वरप्रसाद कोइरालाबाट प्रवेश गरेको मनोविज्ञान र गुरुप्रसाद मैनालीबाट हुर्केको सामाजिक यथार्थवादी लेखनपछि विभिन्नखाले प्रयोगहरू भएका छन् । परिस्कारवाद, स्वच्छन्दतावाद, प्रगतिवाद, झर्रोवाद, तेस्रो आयाम, राल्फा, बुट पोलिस, अमलेख, अस्वीकृत जमात, यङ राइटर्स क्लबलगायतका धेरै पाइलाहरू अघि बढेका छन् । २० को दशकको प्रयोगवादी अमूर्त धाराको प्रभाव ३० को दशकमा पुग्दा सरलतामा परिणत भएको छ । यसैबीच नेपाली साहित्य प्रयोगवादी र प्रगतिवादी धारामा स्पष्टरूपले विभाजित हुँदै समानन्तर प्रकारले अघि बढिरहेको पाइन्छ ।
वि.सं. २०३६ सालपछि राजनीतिकरूपमा आएको परिवर्तनले सिर्जनाहरू पनि उन्मुक्त हुँदैआएका पाइन्छन् । २०४६ सम्म आइपुग्दा साहित्यका प्रायः सबै विधाले प्रतिरोध लेखनलाई मूलधार बनाइसकेका थिए । आस्था-विचार जे जस्तो भए पनि लेखन चाहिँ प्रगतिवादी प्रभावको पाइन्छ । २०४६ पछि चाहिँ लेखनमा चिन्तन र दर्शन केन्दि्रत देखिन्छ । प्रतिरोध लेखनमा बानी भएका लेखकहरू नयाँ व्यवस्था आइसकेपछि अर्थात् आफूले सम्बोधन गरेको व्यवस्था आइसकेपछि अब के लेख्ने भन्ने अन्योल देखियो । माओवादी आन्दोलन प्रारम्भ भएपछि पुनः छटपटीहरू लेखिन थाले भने माओवादीधारका लेखकहरू क्रान्तिको पूर्ण समर्थनमा लेख्न थाले । यसक्रममा धेरै लेखक, पत्रकारहरू आक्रमणको शिकार भएका छन् ।
वि.सं. २०५८ को दरबार हत्याकाण्डपछिको राजनीतिक मोडले लेखकहरूमा गणतान्त्रिक चेतना जागृत गराएको पाइन्छ । यसले सबैलाई साझामञ्चमा उभ्याएको जस्तो अनुभव हुन्छ । यसैमा केही नयाँ शिल्पहरू लीलालेखन, मुक्त अभियान, उत्तरआधुनिकता आदिले हुर्किने अवसर पाए । वि.सं. २०१२ देखि नै नयाँ खोजको छटपटाइ प्रारम्भ भएको झर्रोवादी आन्दोलनदेखि यहाँसम्म आइपुग्दा हरेक पुस्तामा केही नयाँपन दिँदैआएको छ ।
भोलि
आजको नेपाली साहित्य अझै पनि स्पष्ट बाटो नपाएको र अन्योलभित्रै छट्पटाइरहेको देखिन्छ । राजनीतिले यति ठूलो फड्को मारिसक्दा पनि सामाजिक, मनोवैज्ञानिक तथा साहित्यिक चेतनाले भने खासै गति समातेको देखिँदैन । लेखकहरूमा नयाँयुगलाई सम्बोधन गर्ने सन्देशहरू र प्रस्तुतिका सघन शिल्पहरू अझै विकसित हुनसकेका देखिँदैनन् । लेखकहरू दल विशेषका प्रचारकजस्ता देखिन्छन् । लेखिएका कपितय उपन्यास, काव्य र नाटकहरूले एक पार्टीको पक्षमा अर्को पार्टीको आलोचना गरिरहेका पनि भेटिन्छन् । गणतान्त्रिक नेपालमा लेखकहरूको यो अन्योल र ढुलमुलेस्थिति नेपाली साहित्यको चिन्ताजनक काल हो ।
६० को दशकमा लेखिएका कृतिहरू अहिले जुन प्रकारले चर्चामा छन्, पठनीय छन्, तिनीहरू पनि अनिकालमा भेटिएका सामग्रीजस्ता मात्र लाग्दछन् । आज पनि राजधानीका व्यस्त अस्पताल र क्याम्पसहरूमा सप्ताहपुराण कथावाचन भइरहेका छन् । पुराणमा भएको आकर्षण हाम्रा कृतिले छेउ पनि भेटेका छैनन् ।
नेपाली साहित्यले भानुभक्तदेखि उठाएर लिएर आएको साहित्यको मूलधारमा बल्ल परिवर्तनका सङ्केतहरू देखिन थालेका छन् । खासगरी ५० को दशकबाट वैरागी काइँलाको नेतृत्वमा नेपाली साहित्यमा पनि बहुभाषिक स्वरहरू सुनिन थालेका छन् । साहित्यले सिमान्तिकृत समुदायका आवाजहरू लेख्न थालेको देखिन्छ ।
सयौँ भाषाभाषी र जातजातिले भरिएको देशमा लेखनको अथाह क्षेत्र अमेजनबेँसीको अपार जङ्गलझैँ अव्यवस्थित छ । सांस्कृतिक, आञ्चालिक, लिङ्गीय, जातीय,लगायतका विषयहरू लेखिन नपाएर खानीका कोइलाझैँ रहेका छन् । अबको साहित्यले देख्नुपर्ने दिशा त्यतातिर छ । झण्डै तीन सय वर्षको नेपाली साहित्यको अबको उत्तरोत्तरकाल समाजका चेपचेपमा, कोषकोषमा प्रवेश गरी दमित संस्कृति, भाषा, जाति र मनोविज्ञानको अध्ययनमा केन्दि्रत हुनुपर्छ । अबको नेपाली साहित्यले फर्किनुपर्ने पाटो भनेको सांस्कृतिक अध्ययनको पाटो हो । धेरै वर्ष विदेशी सिकोमा बितेको हाम्रो विगतको छायाँबाट अब आगतलाई जोगाउनुपर्छ । अबको लेखनले नेपालीयता अँगाल्न सक्नुपर्छ, नेपालीय शिल्प, शैली र चिन्तनको आˆनै उचाइ कायम गर्नुपर्छ । पश्चिमेली बौद्धिक दासताबाट मुक्तिको चेतनाका ढोका खोल्न स्वअध्यनन र स्वमूल्य निर्धारणको स्वाभिमान जाग्नुपर्छ ।
रामप्रसाद ज्ञवाली
कार्यपत्रको विषय भेग भयो र सरसर्ती हेर्दा विषयवस्तु कविताको विकासक्रममा मात्र केन्दि्रत देखियो । बौद्धिकता र अनुभूतिजन्य कुराहरूमा निबन्धात्मक शैलीमा काल्पनिक जलप लगाइएको पाइयो । आधार साहित्यिक विकासक्रमको छ तर चर्चा कविताको मात्र छ । कविताका प्रयोगवादी र प्रगतिवादी दुई धारामा प्राप्ति र अप्राप्तिमा केन्दि्रत छ । दुवैमा असन्तुष्टि ज्यादा पाइन्छ । कविताको राजनीतिक इतिहास जस्तो भयो । स्रोत-अनुसन्धानका माध्यमहरू खुलाउन नसक्नु कमजोरी हो ।
मूल्याङ्कनमा महत्त्वपूर्ण पाटो छुटेको छ । लक्ष्मीनन्दन पन्तले उद्घोष गरेको प्रगतिवादी धाराका साथै कृष्णलाल अधिकारी र धरणीधरले उतिबेलै गणतन्त्रको उद्घोषको नारा उरालेका थिए । महानन्द सापकोटा, गोपालप्रसाद रिमालका क्रान्ति चेतनाको धारको मूल्याङ्कन कम भयो । कोचेले मूल साहित्य सापेक्ष र वर्गीय हुन्छ भनेका छन् । निरपेक्ष साहित्य हुँदैन । सबैका सिर्जना सबैलाई उस्तै लाग्दैन । महेन्द्रले पनि जनताका पक्षमा कविता लेखेका छन् । राजनीतिक मोडबाट कविताको विश्लेषण गर्ने तर कविताको कलात्मकता र प्रगतिशीलतालाई अवमूल्यन गर्नु भएन ।
कार्यपत्रमा भोलिको बाटो पहिल्याउन निष्कर्ष भएन । भोलि हुनसक्ने सम्भावना देखाइएन । पढ्ने बानीमा विकास छैन । अन्तर्राष्ट्रिय बन्नुभन्दा पहिला राष्ट्रिय बन्नुपर्‍यो । उता बासी भएका कुरालाई यता ल्याएर आधुनिकता हुँदैन । हाम्रो प्रतिबद्धतामा कमी भएका कारण नेपाली साहित्यमा उन्नति-प्रगति हुन नसकेको हो ।
डा. खगेन्द्रप्रसाद लुइटेल
धरावासीको प्रस्तुति आत्मपरक अभिव्यञ्जनासहितको निबन्धात्मक लेख भयो । लेखन हेर्दा नेपाली कविताको अतित, वर्तमान र भविष्य भनेको भए हुन्थ्यो । भोलि भनेको अनुमान मात्र हो । मान्छेको जीवन र साहित्यको जीवनमा धेरै फरक छ । मान्छेले सय वर्ष कमैले भोग्छन् तर साहित्यमा यो आयु भनेको केही होइन । आज भनेर १९९१ देखिलाई भनिएको ठीक भएन । समसामयिकता सामान्यतः पचास वर्ष भित्रलाई मानिने विश्व मान्यता छ । अझ भन्ने हो भने ०३६ पछिकोलाई हामीले आज मान्नुपर्छ । कथामा विश्वेश्वर र गुरुप्रसादलाई च्वास्स छोएर मात्र विषय समेटिदैन ।
प्रगतिशीलता भनेको अग्रगमन हो । स्वच्छन्दता र प्रगतिवादलाई एकै ठाउँमा राख्न मिल्दैन । स्वच्छन्दतावाद हावामा महल बनाउने हो भने प्रगतिवाद जगमा महल हो । नेपाली साहित्यमा मुद्दालाई प्राथमिकता नदिउँ । आजबाट भोलिका लागि पाठ सिक्नुपर्छ । आˆनो अस्तित्व आफैँले जोगाउने हो, पूर्वीय वाङ्मयवादै नपढेका पश्चिमाहरूको भरपर्नु हुँदैन ।
डा. ज्ञानू पाण्डे
यसमा छलफलका लागि प्रशस्त ठाउँ देखिए । भोलिका लागि निराश हुनुपर्ने स्थिति आजले देखाउँदैन । आज आशलाग्दो छ तर परिवर्तनलाई जोड दिएकाहरूको मूल्याङ्कन छुटेको छ । पूर्वीय दर्शनका जराहरू खोतलेर गाँठाहरू फुकाउनुपर्छ, त्यो राम्रो पक्ष हो तर नेपाली साहित्य विश्वमानचित्रमा कहाँ छ भन्ने चिन्ता लिनैपर्छ । देवकोटाले उतिबेलै उठाएको चिन्तामा उनको सतवाषिर्कीसम्म आइपुग्दा पनि केही भएको छैन । आफैँले आˆनोबारेमा भनेर मात्र प्रमाणित हुँदैन । हामीले सामग्री दिन सक्नुपर्छ र त्यसबाट मूल्याङ्कन हुन्छ । नेपाली साहित्यको दायरा फराकिलो भएको छ । डायस्पोरिकलेखनलाई पनि छुटाउन मिल्दैन । भोलिका लागि मूलतः अनुवाद र डायस्पोरिकलेखनको खोज आवश्यक छ ।
हामीले प्रभावलाई शक्तिका रूपमा लिनुपर्छ । विश्वव्यापीकरणको जमानामा प्रभावलाई नकार्न मिल्दैन । आजको युग एक विश्व-एक नागरिक ‘विश्व नागरिक’ को धारणामा मौलिक पहिचानका साथ प्रवेश गनर्ैैपर्छ ।
vvv vvv vvv
कार्यक्रममा विशिष्ट अतिथि डा. डी.पी. भण्डारीले तीन कालको साहित्यलाई निचोरेर नवीनकाल ल्याउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । साहित्य भनेको विद्रोह पनि हो र यसले समयअनुसार गति लिन्छ । त्यही गतिले आज हुँदै भोलिलाई समाउँछ, डा. भण्डारीको निचोड थियो ।
प्रमुखअथिति वैरागी काइँलाले- अहिले हामी नयाँ नेपाल निर्माणको कल्पनामा छौँ भन्नुहुँदै साहित्यकारहरूले पनि त्यसमा समाहित हुनुपर्ने बताउनुभयो । समाजको शक्ति सन्तुलनमा विभिन्न वर्ग देखापर्छन्, समाज परिवर्तनमा राजनीतिकस्तरबाट ओर्लिएर लेख्नुपर्छ भन्नुहँदै हिजो बालकृष्ण समले एउटा दमाईलाई नायक बनाएर चिसोचुल्हो लेख्दा उनलाई धेरैले गाली गरेथे तर समको त्यो कदम सामाजिक न्याय थियो र अबकाले पनि शोषित, पीडित, दमित र पिछडावर्गको पक्षमा लेख्नुपर्छ भन्नुभयो । भोलिका लागि नागरिक सचेतता कायम राख्दै सबै वर्ग, जाति, समाज मेरा हुन्- हाम्रा हुन् भनेर लेख्नुपर्ने उहाँको विचार थियो ।
‘नेपाली साहित्य ः हिजो, आज र भोलि’ जस्तो गहन विषयलाई एउटै आलेखमा समेट्न खोजिनु र त्यसमा पनि प्रस्तोताले यो कार्यपत्र होइन, गोष्ठीको उठानको ‘गोष्ठीपत्र’ मात्र हो भन्नुले कार्यक्रमको उद्देश्यमै ठेस लागेको थियो । धेरैजस्तो कार्यक्रमहरूमा कार्यपत्र भनेर प्रचार गरिने तर प्रस्तोताले आˆनो अल्पज्ञान र झारा टराईबाट मुक्त हुनलाई ‘यो कार्यपत्र होइन’ भनेर प्रस्तुत हुने प्रचलनले के नेपाली साहित्यमा ‘यो कार्यपत्र हो’ भनेर लेख्न सक्नेहरूको अभाव नै छ त ? भन्ने प्रश्न पनि उब्जिएको छ । कार्यपत्र प्रस्तोताले टिप्पणीकर्ताहरूबाट जोगिने प्रयास गर्ने, गोष्ठीको छलफलको निचोड निकाल्नलाई आयोजकहरूले ‘र्‍यापोर्टर’ को व्यवस्था गर्न नसक्ने, छलफल हुने र कार्यक्रमपछि त्यसको पूरै औचित्य समाप्त भएको मान्ने प्रवृत्तिले हाम्रा गोष्ठीहरू ग्रसित छन् । यसै रोगबाट यो महत्त्वपूर्ण कार्यक्रम पनि ग्रसित भएको अनुभव गर्नुपर्‍यो । भोलि अर्को यस्तै कार्यक्रम कसैले गर्न चाहृयो भने कम्तीमा पनि यो कार्यक्रममा यस्तो निचोड निकालिएको थियो भन्ने आधार बनेदेखि कार्यक्रमको अभिलेख रहने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *