Skip to content

“नारायणगोपाल हुने रहर त सबैले पाले तर नारायणगोपालले हासिल गरेको तालिम र कठोर अभ्यासतिर कसैले ध्यान दिएनन्,” संगीतकार दीपक जंगमका यी शब्दहरूभित्र लुकेको छ, आजको पुस्ताको गायकीको यथार्थ । यसभन्दा ठीक अघिल्लो पुस्ताकाहरू आज थकाइ मारेको स्िथतिमा देखिन थालेका छन् । उनीहरूको स्वर उचाइबाट झरेको धेरै भइसक्यो तर नयाँ गीत-गायनबाट फेरि पुरानै उचाइमा चढ्ने सम्भावनातिर कसैले जमर्को गरेको देखिँदैन ।

उदय सोताङ, रामकृष्ण ढकाल, यम बराल, आनन्द कार्कीहरू कुनै समय नेपाली गायनका उदाहरण थिए । मनिला सोताङ, कुन्ती मोक्तान, सपना परयिार, शर्मिला बर्देवाका स्वरमा गीत सुनेर श्रोताहरू अघाउँदैनथे । तर, आज सबै मूलधारबाट हराएका छन् । स्वयं रामकृष्ण ढकाल पनि संक्रमणकालमा छन् । उदय, मनिला, आनन्दहरू बेलाबेला सिंगापुर गएर पाँच-छ महिना रेस्टुराँमा गाएर खर्च बटुल्छन् । सपना, शर्मिलाहरू पनि विदेशमै कतैतिर जीविका चलाएर बसेका छन् । तर, यिनीहरूको गायकीले नयाँ स्वाद नपस्केको धेरै भयो ।

कुनै बेला नेपाली सुगम संगीतको विरासत थाम्ने भनिएका रामकृष्ण ढकाल र यम बरालको गायन यात्रा पनि सुगम हुन सकेको छैन । ढकाललाई त नारायणगोपालको बिँडो थाम्ने पछिल्लो पुस्ताको शक्तिशाली गायक मानिएको थियो । तर, आज उनीलगायत सबै सुगम गायनकाहरू श्रोताहरूको कानसम्म पुग्दा दुर्गम हुन पुगेका छन् ।

“साधनाप्रति समर्पण, इमानदार र अनुशासित हुन नसकेकाले त्यो पुस्ता अहिले पछि परेको हो,” कारण खुलाउँछन् संगीतकार शक्तिबल्लभ । र, अर्का संगीतकार दीपक जंगम थप्छन्, “यिनीहरूले खालि व्यवसाय भनेर पैसा कमाउनलाई मात्र गायनलाई समाते । आधारभूत शिक्षा र अभ्यासमा सधैँ पछि परे ।” त्यसैले, ढकाल पुस्ता कुनै बाढीमा आएको छालजस्तो भएर ह्वात्त आयो र बाढीपछि सुक्दो अवस्थामा छ ।

तर, आजका लोकपि्रय युवा संगीतकार सुरेश अधिकारी यसमा अलिक फरक मत राख्न रुचाउँछन् । भन्छन्, “बाढी आउन्जेल मूल खोलाको अस्ितत्व छोपिए पनि बाढी रोकिएपछि बग्ने त त्यही मूल खोला नै हो ।” उनी नयाँ आउनेहरू मिडियाको भ्रमले मात्र बाँचिरहेको ठोकुवा गर्छन् । उदाहरण दिँदै भन्छन्, “वि सं २०४२ मा नेपाल टेलिभिजन आउँदा हरिश माथेमा, भीम तुलाधर जताततै छाएका थिए तर केही समयमै उनीहरू स्वात्तै हराएर गए र मूलधारकै गायनले वर्चस्व थामिरह्यो ।

नेपाली सुगम संगीतमा नारायणगोपाल एउटा मिथक भएका छन् । नेपाली आधुनिक संगीतको विगत र वर्तमानलाई एकसाथ तुलना गर्दा नारायणगोपाललाई मानक बनाइन्छ । उनी समय अनुरूप आफूलाई ढाल्दै जान्थे, त्यसैले कहिल्यै हराएनन् । रेडियो नेपालले सौतेनी व्यवहार गर्दा केही समय गीत गाउनै छाडे पनि उनको स्वर श्रोताका लागि बासी भएन । उनी गायनमा सधैँ नयाँनयाँ प्रयोग गररिहन्थे । “मलाई नसोध कहाँ दुख्छ घाउ यसको एउटा उदाहरण हो,” शक्तिबल्लभ भन्छन्, “उनी सधैँ नौलोपनको आभास गराइरहन्थे ।” तर, अहिलेको पुस्ता एउटै राग अलापिरहेछ । जंगम थप्छन्, “मिहिनेत नगर्ने र गीत रेकर्ड गर्नुभन्दा केही मिनेटअघि अभ्यास गरेर स्टुडियोमा छिर्ने गायक-गायिकाहरूको हतारे प्रवृत्तिका कारण आजको गायनमा श्रोताको मन छुने मूच्र्छना आउन सकिरहेको छैन ।” यसले गर्दा आजको नाम चलेकाहरूको स्वरबाट नै  श्रोता उदास भइरहेछन् । यसमा अधिकारीको पनि समान मत छ । उनी १५ वर्षदेखि निरन्तर अभ्यास गररिहेका छन् । तर, उनको छिमेकी छतमा गितारका तारमा एक महिना झ्याँङझ्याँङझुङझुङ गर्नेहरू मिडियाका सामु ठूला साधक भएका छन् ।

गायक-गायिकाका लागि आफ्नो गला भनेको कुनै फलको वृक्षजस्तै नै हो । सुन्तलाको बोटमा समयसमयमा मलजल गररिह्यो भने त्यसले मीठो र मनग्य फल दिन्छ । नत्र फलहीन हुन्छ, छहारी दिने अस्ितत्व पनि राख्दैन । आजको पुस्ता स्वरअभ्यासमा शून्य नै छ । अधिकांश गायकहरू राती अबेरसम्म कुनै रेस्टुराँमा बसेर रमझम गर्छन् । स्वभावतः यसले उनीहरूलाई बिहान अबेरसम्म ओछ्यानमै सुताउँछ । अनि, कतिबेला रयिाज गर्ने ? यसबाहेक गीत र संगीतको छनोटमा नयाँ सोच नदेखिनु र सधैँ परम्पराकै बुइँ चढिरहने प्रवृत्तिले यस पुस्तालाई दैवले दिएको विलक्षण स्वरमा खिया लगाउन थालेको हो ।

शास्त्रीय संगीतका शिक्षक धनबहादुर गोपाली नाम नलिई आजका एक लोकप्रिय गायकका बारेमा टिप्पणी गर्छन्, “उनी आफ्नो स्वरमा सुर लगाउन नसकेर अभ्यास नै गर्न आएनन् ।” किन त, के अभ्यास गर्दा यो सम्भव हुन सक्तैनथ्यो र ? गोपाली भन्छन्, “संगीतको आधारभूत अभ्यास नहुनेले अलि धेरै परश्रिम गर्नपर्छ तर त्यसका लागि उनीहरूसँग समय नै छैन ।”

कारण यही हो, आजका पुस्ताका केही स्वरहरू विलक्षण हुँदाहुँदै पनि लामो दौडको घोडाजस्तो हुन सकेनन् । उनीहरूसँग केही समय त नाम र दाम दुवै हुन्छन् । तर, स्थायी हुन सक्तैन । त्यसैले, यिनीहरू श्रोताको कानबाट बासी मेलोडी भएर विस्थापित हुँदै जान्छन् र फेर िआउने नयाँ पुस्ता स्थापनाको भर्‍याङ उक्लिन थाल्छ । ऊ पनि बीचमै पुगेर थाक्छ र अर्कोले उसलाई पनि विस्थापित गर्दै पछाडि धकेलिदिन्छ । नारायणगोपालबाहेक हरेक पुस्ताका गायकगायिकाहरूमा यही नियति पुनरावृत्त हुँदै आएको छ । त्यसैले, समयमै यी नयाँ छिमलकाहरूले बुद्धि र विवेकको बिर्को खोल्न सकेनन् भने नेपाली सुगम संगीत त स्थायी नै रहिरहन्छ तर गायकगायिकाहरूको अस्ितत्व बर्खे च्याउको नियति भोग्न बाध्य हुनेछ ।

नेपाल साप्ताहिक ३६१

Leave a Reply

Your email address will not be published. Required fields are marked *