संस्कार शब्दको प्रयोग अनेक अर्थमा भएको छ । संस्कारको शाब्दिक अर्थ शुद्धि, सुधार अथाव सफाइ हो । जीवनलाई शुद्ध पार्न समुचित तरिकाले गरिएको कार्य पद्धति नै संस्कार हो । यसै शाब्दिक अर्थको आधारमा संस्कारमार्फत आत्मा शुद्ध हुन्छ भन्ने कुरा थाहा हुन्छ । जन्मदेखि मृत्युसम्मको परम्परागत क्रिया हिन्दूहरूका लागि आवश्यक छ किनभने संस्कारविना जीवनको परिशुद्धि अथवा आत्माको उन्नति हुन सक्दैन । संस्कार शब्दको ब्युत्पत्ति संस्कृतको ‘सम’ एवं कृञ धातुमा र्धञ प्रत्यय लगाएर भएको छ । प्राचीन वैदिक साहित्यमा संस्कार शब्द पाइँदैन । ऋग्वेदमा संस्कारको ठाउँमा संस्कृत शब्दको प्रयोग पाइन्छ, जसको अर्थ शुद्ध गरिएको भन्ने हुन्छ । जैमिनी सूत्रमा संस्कार शब्दलाई यज्ञलाई पवित्र र निर्मल बनाउने कार्यको अर्थमा प्रयोग गरेको छ । (वासु बराल, हिन्दू सामाजिक सङ्गठनको रूपरेखा, साझा प्रकाशन, २०४४, पृष्ठ ३९)
जन्मदेखि मृत्युसम्ममा पूरा गरिने हिन्दू संस्कारलाई समाजशास्त्रीहरूले पाँच वर्गमा विभाजन गरेका छन् । तीमध्ये अन्त्येष्टि संस्कार पनि एक हो । हिन्दूहरूका निमित्त जीवनको अन्तिम संस्कार अन्त्येष्टि संस्कार हो । मृतकका नातेदारहरूले मृत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस् भन्ने भावनाले यो संस्कार सम्पन्न गर्दछन् । अन्य संस्कारजस्तै पछिका युगहरूमा यसका अनेक विधि-उपविधिहरू थपिँदै गए र यो एक स्वतन्त्र र महìवपूर्ण संस्कार हुनपुग्यो । हिन्दूहरूका निमित्त यस लोकको जीवनभन्दा परलोकको जीवन ज्यादै महìवपूर्ण भएकाले अन्त्येष्टि संस्कार अनिवार्य र धेरै सावधानीपूर्वक गर्ने गरिन्छ । हिन्दू धारणामा आत्मा र शरीर अलग हुनु नै भौतिक अर्थमा मृत्यु हो । प्रत्येक मृतकको आत्मा पारिवारिक सन्तति र नातेदारहरूको मायाको कारणले आˆनो गन्तव्य स्थानतिर नगएर घरको वरपर नै बसिरहन सक्ने र हानि पुर्याउन सक्ने हुनाले यस्तो स्थानसम्म पुगोस् भनेर अन्त्येष्टि संस्कार गरिन्छ । अग्निद्वारा दाहसंस्कार गरेर मृतक आत्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरिन्छ । पितृलोकतिर प्रस्थान गर्दा कुनै पनि कुराको अभाव नहोस् भनेर खाद्यान्नहरू, कपडाहरू र मार्गदर्शनका निमित्त गाईदान गर्दछन् । प्रारम्भमा शरीरलाई जमिनमा गाड्ने वा जलाउने चलन नभएको बुझिन्छ । वैदिककालदेखि मात्र यस्तो चलन लोकपि्रय हुनथाल्यो । बालकको मृत्यु भएमा वा सन्तहरूलाई अग्निमा नराख्ने पुरानो चलन हिन्दू समाजमा अहिले पनि छ । दाहसंस्कार गरेपछि बाँकी रहेको अस्थि अवशेषलाई पुनः कुनै पात्रमा राखेर भूमिमा गाड्ने प्रलचन गृहसूत्रमा उल्लेख गरेको पाइन्छ । (प्रेमकुमार खत्री, नेपालका धार्मिक मत र सामाजिक संरचना, भोटाहिटी प्रकाशन, वि.सं. २०६०)
बौद्धायन र गृहसूत्रले मृत्युको निश्चय हुनासाथ त्यस्ता व्यक्तिहरूलाई भूमिमा राख्ने अर्थि तैयार पार्ने र मृत्यु हुनुअगावै यसरी तैयार पारिएको अर्थिमा दक्षिण सिरान पारेर सुताउने र मृतकका कानमा धार्मिक मन्त्रहरू सुनाउने विधि उल्लेख गरेको पाइन्छ । शरीरबाट प्राण निस्कन लागेपछि केही अन्तिम दानहरू गरिन्छ र प्राण गइसकेपछि मृतकको मुखमा पवित्र गङ्गाजल र तुलसीजल आदि राखिन्छ । वर्तमान समयमा लास बोक्नको लागि अर्थि बनाउँदा प्रायःजसो बाँस प्रयोग गरेको पाइन्छ । यस्तो अर्थिमाथि लाश दक्षिण सिरान पारेर उत्तानो पारेर राखिन्छ । लाशलाई आˆना नातासम्बन्धी वा समान वर्णका बाहेक अरूले छुनु हुँदैन भन्ने स्मृतिग्रन्थहरूमा उल्लेख गरेको छ । दाहसंस्कार गरिने ठाउँमा लगिने काममा मृतकको छोरा र भाइहरूको मुख्य भूमिका हुन्छ । शवयात्रामा पनि अगुल्टोमा चिलिम राखेर आगो बालेर जेठो छोरो अघि लाग्नुपर्ने एवं मलामी जानेहरूमा मृतक सपिण्डीहरू, नाताहरू र मित्रहरू हुनुपर्ने विवरण गृहसूत्रमा उल्लेख गरेको पाइन्छ । (डा. गणेशप्रसाद क्षेत्री र सोमप्रसाद खतिवडा हिन्दू समाज र धर्म, विराटनगर शिवा प्रकाशन वि.सं. २०५४, पृ. २६५) सूत्रस्मृतिकालदेखि लोग्नेमानसि मरेमा मृतककी विधुवालाई पनि एकसाथ चितामा राखेर जलाउने चलन चल्यो । यो अमानवीय परम्परा हाम्रो समाजमा धेरै कालसम्म रहिरहृयो । यसलाई सतीप्रथा भनिन्छ । नेपाली र भारतीय हिन्दू समाजमा यो प्रथा बीसौँ र उन्नाइसौँ शताब्दीमा कानुनी प्रतिबन्ध लागेपछि मात्र हट्यो ।
मृतकको शवलाई स्मशानसम्म लाँदा तीनपटक बिसाउने र यमसूत्र, हरिनाम या रामनाम जप्ने सूत्रयुगदेखि नै विकिसत हुँदैआएको परम्परा हो । स्मशानमा पुगेपछि दाउराले चिता बनाएर चितामाथि लाश राखेपछि मुख्यकर्ताले वैदिक मन्त्रोत्चारणसाथ लाशको मुखमा आगो राखेपछि मुखपट्टबिाट चितामा आगो सल्काउने काम गर्नुपर्दछ । चितामा श्रीखण्ड चन्दनजस्तो सुगन्धित काठ राख्नु आवश्यक मानिन्छ । दाहसंस्कारपछि मलामी जाने सबैले खोला वा गङ्गामा नुहाएर मात्र घर फर्किने काम हुन्छ । घर र्फकेपछि ढुङ्गो, गोवर, अग्नि, तिल स्पर्श गर्ने वा निमपत्ती टोकेर शुद्ध भएर मात्र गृहप्रवेश गर्ने विधान छ । पूरा एक वर्षसम्म त्यो घर अपवित्र हुन्छ र मृतकका छोरा, परिवारले त्यस अवधिसम्म आशोचको नियम मुताविक बस्नुपर्दछ । जो साधारणतया १३ दिनको हुने गर्दछ । १३ दिनसम्म क्रियामा बस्नेहरूलाई प्रेतात्माले नपिरोस् भनेर गरुडपुराण सुनाउने चलन पनि छ । (डा. पेशल दाहाल, नेपालको इतिहास र संस्कृति, एम.के. पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स, भोटाहिटी प्रकाशन, वि.सं. २०५६, पृष्ठ १५६)
अन्त्येष्टि संस्कारको मुख्य प्रक्रिया पिण्डदान हो । पिण्डदान मृतकको आत्मा पितृलोक नपुगेसम्म उसलाई बाटोमा चाहिने भोजनको रूपमा गरिएको हो । सूत्रसाहित्य अनुसार प्रथम दिनको पिण्डले मृतको भोक, तृष्णा एवं रक्तनलिकाहरूको निर्माण गर्ने, दोस्रो दिनको पिण्डले नाक-कान आँखा निर्माण गर्ने, तेस्रो दिनको पिण्डले गला, काँध, पाखुरा र छाती निर्माण गर्ने र यस प्रकार प्रत्येक दिन नौ दिनसम्मका पिण्डले मृतकको आत्माको सम्पूर्ण शरीर निर्माण गर्न उल्लेख छ ।
दसौँ दिन मृतकको प्रेतावस्था निवारणका निमित्त मृतक र यमलाई पिण्डदान गरिन्छ । एघारौँ दिन मृतकलाई मोक्ष प्राप्ति होस् भनेर पिण्ड दिनुका साथै यसै दिन काट्टो खुवाउने भनेर ब्राहृमणलाई भोजन गराइन्छ । बाह्रौ दिन पनि पिण्डदान गर्नुका साथै ब्राहृमणहरूलाई दान दक्षिणा गरी भोजन गराउने चलन छ । तेह्रौँ दिन सबै कार्य समाप्त गरेर मलामीहरूलाई भोजन खुवाएपछि मृतक मुक्त भएर पितृसरहको स्थानमा पुग्ने विश्वास गरिन्छ । त्यसपछि पनि वर्ष दिनम्म हरेक महिनामा मासिक श्राद्ध गरिन्छ र वर्ष दिन पुगेपछि एक मुख्य बरखी श्राद्ध गर्ने र गौदान तथा अन्य दानहरू दिने चलन छ । गौदान गर्नुको तात्पर्य हो मृतक यस लोकबाट अर्को उच्चलोकतिर जाने बाटोमा पर्ने वैतरिणी नदी तर्न सजिलो होस् । वर्ष दिनको काम सम्पन्न भएपछिका वर्षहरूमा पितृलाई मरेको तिथिमा तर्पण पिण्ड दिन वाषिर्क श्राद्ध गरिरहने प्रथा छ । वर्षभरि हरेक महिना मासिक श्राद्धमा ब्राहृमणलाई दान दिइन्छ तर यो आशोच बार्ने श्राद्ध गर्ने काम मृतकको उमेरमा भर पर्दछ । बालकका लागि यतिका विधि आवश्यक छैनन् । केही विधिहरूमा स्थानीय परम्पराले पनि प्रभाव पारेका छन् । अन्त्येष्टि नै हिन्दूहरूको अन्तिमको मुख्य र महत्वपूर्ण संस्कार हो ।
सन्दर्भ ग्रन्थसूची
१) प्रेमकुमार खत्री – नेपाली समाज र संस्कृति (काठमाडौँ साझा प्रकाशन) वि.सं. २०४४
२) प्रेमकुमार खत्री – नेपालका धार्मिक मत र सामाजिक संरचना (काठमाडौँ एम.के पब्लिर्सस एण्ड डिष्टिब्युटर्स, भोटाहिटी प्रकाशन) वि.सं. २०६०
३) एचबदजग, ए।ल्।ज्, -ज्ष्लमग क्यअष्ब इिचनबलष्शबतष्यल ९द्धतज भ्मष्तष्यल०, द्यomदबथ एयउगबिच एचभकक, ज्ञढटघ।
४)डा. गणेशप्रसाद क्षेत्री र सोमप्रसाद खतिवडा- हिन्दू समाज र धर्म (विराटनगर, शिवा प्रकाशन) वि.सं. २०५४ पृष्ठ २६५
५) डा. पेशल दाहाल- नेपालको इतिहास र संस्कृति (काठमाडौँ एम.के. पब्लिर्सस एण्ड डिष्टिब्युसर्स, भोटाहिटी प्रकाशन) वि.सं. २०५६ पृष्ठ १५६ ।
