Skip to content


बल्लतल्ल मादल बज्यो घरको आँगनीमा
जाने मन छैन परदेश अब मगनीमा

जीवन खेर जाँदो रै’ छ छैन भने आड
एक सर्को पिङ खेल्दा नाच्छ चाडबाड

असार-मङ्सिर धान रोपूँ, दाइँ हालूँजस्तो
लेकमा फुल्छ लालीगुराँस आफैँ फुलूँजस्तो

नयाँ खुसी डाकिदिऊँ मनको ढुकढुकीमा
बल्लतल्ल मादल बज्यो घरको आँगनीमा

सानो-सानो छाप्रो होओस् सजाउनै पर्छ
नानीलाई उज्यालोमा जगाउनै पर्छ

पसिना र रगतको मोल काहीँ हुन्न
मोती आफैँ टिप्नुपर्छ ल्याई कोही दिन्न

पानी सुक्न दिनु हुन्न कोसी-गण्डकीमा
बल्लतल्ल मादल बज्यो घरको आँगनीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *