Skip to content

नेपाली उपन्यासको बजार र प्रतिनिधि सन्दर्भहरू

  • by


वि.सं. २००२ सालमा समालोचनाको सिद्धान्त लेख्तै गर्दा यदुनाथ खनालले नेपाली साहित्यमा जस्तो उपन्यासले स्थान लिन नसकेको देखेका थिए तर आज ६५ वर्षपछि उनी भइदिएका भए पक्कै पनि भन्ने थिए होलान् नेपाली साहित्य पढ्नु भनेको उपन्यास पढ्नु भएको छ । हो, आजभोलि साहित्यका पाठक भनेका उपन्यासका पाठक भन्ने कुरा स्थापित हुन थालेको छ । साहित्य लेख्नु भनेको उपन्यास लेख्नु हो भन्ने मान्यताले क्रमशः लेखक र समालोचकलाई प्रभावित गरिरहेको छ । यदाकदा निबन्ध र कथाका पाठकहरू बसमा यात्रा गरिरहेका बेला भेटिन्छन् तर उनीहरू पनि निकै फुर्सदिलाजस्ता लाग्छन् तर कविताका पाठक त कि कवि स्वयं नै कि कविका कवि साथीहरू भन्ने भएको छ । यता उपन्यास भने हाताहाती बिक्ने भएर गएका छन् ।

ख्ाासगरी यो औपन्यासिक होडबाजी हामीकहाँ कहिलेदेखि आयो त ? विद्वान् सिद्धान्तकार खनालको भनाइ छ- सरल समाज र जीवन पद्धतिमा नाटक बढी लेखिन्छ तर जटिल समाज र जीवन पद्धतिलाई उपन्यासले नै लेख्न सक्छ । प्रजातन्त्रोत्तर कालमा खासगरी २०५० पछिको समयमा अनेक चुनौती र अवसर एकसाथ नेपाली समाजमा पसे । तिनले नेपाली साहित्यमा नयाँ आख्यानकार र औपन्यासिक आख्यान जन्माउन भूमिका खेलेका छन् । समाज र समय जति फराकिलो भयो त्यति नै फराकिला आख्यान जन्मने हुन् । प्रजातन्त्रतिरका पाइला नेपाली समाजको विस्तारितपन थिए, जो एकतान्त्रिक र त्योभन्दा पहिलाको एक परिवारमा सीमित थियो ।

राणा शासन कालमा कति उपन्यास लेखिए ? एक हातका सबै औँला पनि नभाँचिने गणना जति मात्र न हुन् । डायमनशमशेरले समकालीन नेपाली समाजमा उतिका आख्यानेत्तर विषय नभेटेर ऐतिहासिकता रोज्नु पर्‍यो । लीलाध्वज थापा लिखित ‘मन’ जस्ता केही तटस्थ यथार्थवादी उपन्यास भने लेखिएकै हुन् । पञ्चायतको साँघुरो वैचारिक घेरामा सीमित समयमा फेरि नेपाली आख्यान बटारिन थालेको पाइन्छ । रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’लाई अवश्य नै फरक दृष्टिकोणले मूल्याङ्कन गरिनुपर्छ । पारिजातले ‘शिरीषको फूल’ त लेखिन् तर त्यहाँ कतातिर नेपाली समाज छ भन्ने खोज्नुपर्छ । वी.पी. कोइरालाका उपन्यासहरूमध्ये ‘नरेन्द्र दाइ’ छोडी अन्यका आधार समकालीन समाज नभई मनोआख्यान अनि मनोविश्लेषण भए । दौलतविक्रम विष्टले दोस्रो विश्वयुद्धका घाउहरूको समेत आख्यान कोर्नु पर्‍यो भने मदनमणि दीक्षित पौराणिक कालखण्ड र पात्रहरूका मनोदशा बुन्न लागिपरे । यस समयमा ध्रुवचन्द्र गौतमको प्रवेशले नेपाली समाज जटिल र फराकिलोसमेत हुँदै गएको प्रस्ट देखाउँछ । खासगरी २०४६ सालपछि भने नेपाली आख्यान समाज केन्द्रित व्याख्यान (डिस्कोर्स)- मा आकषिर्त देखिन्छ ।

बहुदलीय राजनीति र यसले गरेका प्रतिबद्धताहरू यो समयका सबभन्दा केन्द्रीय व्याख्यान हुन् । साथसाथै आवधिक चुनाव र यसमा राजनीतिक दलहरूको भूमिका, अर्थको व्यय, विदेशी शक्तिको चलखेल, सरकार गठन र विघटनलगायतका अन्य तमाम लोकतान्त्रिक प्रक्रियाहरू यसबेलाका नेपाली कथा हुन् । प्रजातन्त्र बहाली हुँदै नेपाली समाजमा पहाड बनेर हरेक किसिमका मुद्दासँग जोडिएको अर्को कथा हो शरणार्थीहरूको । २०५२ सालबाट थालनी भएर पाँच वर्षपछि उचाइमा पुगेको माओवादी जनसङ्घर्ष खासगरी यसका कारण र प्रभावहरू थप नौला विषयका रूपमा नेपाली समाजमा रहे । साथै त्यो सङ्घर्ष शान्तिसम्झौताबाट लोकतान्त्रिक प्रक्रियामा प्रवेश गरिसकेपछि आन्दोलनका अगुवाहरूमा अचानक आइरहेका परिवर्तन र सत्ताको साँघुरो भान्छामा सबैलाई अटाउन नसक्दा आफैँमा उब्जेका असन्तोषहरू अहिले झन् ताजा बनेर रहेका छन् । राजदरबार हत्याकाण्ड, त्यसपछिको राजनीति र बदलिँदै गएको सांस्कृतिक मनोविज्ञानको अर्को कथा हाम्रासामु उभिएको छ । यी समग्र परिस्थितिले अर्कातिर नेपाली समाजको रूपान्तरणमा भए-गरिएका लगानीहरू, बलिदानहरू त्यसै खेर गइरहेका हुन् कि भन्ने गम्भीरताबोध हामीलाई गराउँछन् ।

यी विषयवस्तुमाथि आख्यानकारका रूपमा पहिलै स्थापित भइसकेका लेखकहरूले पनि आख्यान टिपेका छन् । यो समयलाई नै लेखेर आफूलाई स्थापित गर्ने लेखकहरूले नेपाली आख्यानलाई एकसाथ रुचिकर अनि लोकप्रिय पनि बनाएका छन् । उदाहरणीय केही आख्यानहरूको पठन (मूल्याङ्कन होइन) यहाँ गरिन्छ ।

नयनराज पाण्डे त्यस्ता आख्यानकार निस्के जसले सफलतापूर्वक नेपाली संसदीय राजनीतिको नाटकीय पतनको शृङ्खलामाथि आख्यान बुने ।

अन्ततः त्यो पतन पनि भयो २०५८ सालमा । उनको उपन्यास ‘उलार’ आयामका हिसाबले सानो हो । त्यसो त कथानक पनि मसिनो नै छ तर २०४६ सालका केही वर्षपछि हुर्केको संसदीय संस्कृतिको राष्ट्रिय चरित्र यसले बोकेको छ । पहाडेहरूले तराईमाथि लेखेका छैनन् भन्ने बहस खुल्ला ढोका शृङ्खलाको बहसमा धर्मेन्द्र झालगायतका मधेसी मित्रहरूले चलाइरहेका सन्दर्भमा उलारले मधेसमाथि हावी भएको राजनीतिक संस्कार र त्यसले नै ल्याएका निरन्तर विघटनहरूको परिणाममाथि आख्यान बुनेको छ तर यो मञ्जुश्री थापाले भनेजस्तै आञ्चलिक आख्यान नभएर समग्र नेपाली राजनीतिलाई समेट्ने एउटा प्रतिनिधि उपन्यास हो । आख्यानको समस्या र समाधान त्यही क्षेत्रमा हुँदा त्यो आञ्चलिक हुन्छ, बाहिर वा राज्यको हुँदा त्यो समग्रको हुन्छ ।

यस्तै, राजनीतिक विषयमा पछि आएर प्रदीप नेपालको आख्यानकारिताले दिएको छ ‘स्वप्निल सहर’ । यो उपन्यासले राजनीतिक मूल्यमान्यता र सांस्कृतिक चेतनाबीचका अन्तरसम्बन्धहरूलाई तुलना गर्दै सांस्कृतिक चेतना महत्वपूर्ण हो भन्ने कुरा स्थापना गर्न खोज्छ । अघिल्ला परिच्छेदहरूले २०४६ अघिको राजनीतिलाई विश्लेषण गरे पनि अन्तिम परिच्छेदले संसदीय परिपाटीका आन्तरिक बहाव र अकर्मन्यतामा आख्यान बुनेको छ । ‘मुखबाट होइन, पेटबाट बोल्ने मानिसहरूले’ चलाएको शासन व्यवस्थाको चरित्रको खुला चित्रण यसमा गरिएको छ । साहित्य, संस्कृतिलगायतका विषयहरू राजनीतिका पेचकिला मात्र हुन् भन्ने वामपन्थ बुझाइको विनिर्माण यो उपन्यासको सबल पक्ष छ । राजनीतिक परिवर्तनपछि पाटी राजनीति मात्र जताततै हावी भएर नेपाली सांस्कृतिक मूल्य अनि परिचयहरू धमाधम हराउँदै गएका हामीले भोगेकै हौँ । त्यो खाली ठाउँमा आयातीत संस्कृतिको उपस्थिति भई आख्यानकारितामा नेपाली समाज धुमिल हुँदै गएको कुरा हामी अनुभव गरिरहेका छौँ । यही समस्यातर्फ यो आख्यान लक्ष्यित देखिन्छ । अर्कातिर पार्टी राजनीतिका सरकारी विकृतिहरूको आख्यान पनि यो उपन्यासको रङ हो ।

शरणार्थीको समस्या झापा र मोरङमा हुँदा पनि यो स्वाभाविकरूपमा अन्तर्राष्ट्रिय समस्या हो । जसमा नेपाल, भुटान र भारत मात्र नभएर सिङ्गै संयुक्त राष्ट्रसङ्घ संलग्न छ । झापा र मोरङमा रहेका शरणाथीहरू भुटानी हुन् तर कृष्ण धरावासीका आख्यानकार क्षमताले शरणार्थी भनेका समग्र मानव नै हुन् कि भन्ने भान पार्ने किसिमको कथा बुनेका छन् । यो शरणार्थी उपन्यास तमाम पहाडे नेपालीहरूको निजी कथा भएकैले नेपाली भाषी भारतीय क्षेत्रमा यो उपन्यासले प्रचार निकै पायो । भुटानीको मात्र भएको यो कथा तर असाम, दार्जीलिङ, मेघालय, सिक्किमबाट कुनै प्रकारले खेदिएका, खेदिएर सोझै नेपाल पसेका वा भोटाङ हानिएका नेपालीहरूको कथा हो । अझ राज्यको दमनले प्रताडित भएर परिचयको निम्ति भौँतारिरहेका मानिसहरूको जीवनकथा पनि हो यो । उपन्यासका कतिपय सन्दर्भहरूले मानवताका पक्षमा खुलेरै समर्थन गर्छन् । राज्य, राजनीतिका सिमानाभन्दा पर समाजवादी समाजको आख्यानको परिकल्पनासमेत यसमा गरिएको छ । शरणार्थीको अर्को सबल आख्यान भनेको गरिबीको हो ।

धरावासीले गरिबीको सांस्कृतिक चरित्रलाई मर्मभित्रै पसेर विश्लेषण गर्न सफल भएका छन् । यस कृतिसँगसँगै धरावासीको आख्यान नारीवादमा स्पष्टरूपमा केन्द्रित भएको भेटिन्छ । नेपाली सामाजशास्त्रको स्वरूप अनि वैचारिककता पनि शरणार्थीमा घनिभूत छन् । यिनको आडमा धरावासीले एउटा सानो बजार नजिकको बस्तीमा हुने सामाजिक विभेदीकरण र वर्गीय सङ्घर्षलाई उचालेका छन् । ‘धनीहरूले गरिबलाई माया गरीगरी मार्ने’ वर्गीय सम्बन्ध यसमा प्रकटित छ । अर्कोतिर अन्तर्राष्ट्रिय मुद्दामा नेपाली राज्यको सम्बन्ध र जवाफदेहीपनाको पक्षलाई पनि यो उपन्यासले कथानक बनाएको छ । आख्यानमा सामाजिक घटना र ती सम्बद्ध परिणामहरूमा राज्यको कस्तो सम्बन्घ रहेको छ भन्नेबारे अघिका उपन्यासमा निकै कम लेखिएको पाइन्छ तर पचासको दशकपछि भने यस किसिमको कथा बुनाइ औपन्यासिकताको गुण बन्दै गएको छ ।

जूनकीरीको सङ्गीतले प्रजातान्त्रिक नेपाली समाजमा गैरसरकारी संस्थाहरूको विकासे भूमिकामाथि आख्यान बुनेको छ । गैरसरकारी संस्थाहरू र यिनको नेपाली समाज र राष्ट्रसँग नजानिँदो किसिमले जुन सम्बन्ध बनिरहेको छ त्यो अध्ययनको ठूलो क्षेत्र हो । खासगरी सामाजिक परिचालन, सहभागिता र निर्णय प्रक्रियामा जनसहभागिता र सशक्तीकरणका क्षेत्रमा गैरसरकारी संस्थाहरूले विगत पन्ध्र-बीस वर्षदेखि सरकारको विकल्प दिइरहेका छन् । जूनकीरीको सङ्गीतमा आख्यानकारले दलित समुदायको परिचालन र सशक्तीकरणमा गैरसरकारी संस्थाको गतिविधिलाई सकारात्मक मानेका छन् तर यसको कथानक केवल बाहृयवेष्ठित मात्र नभएर आन्तरिक कथावस्तुमा पनि पस्छ र यो क्रममा आख्यानले सफलतापूर्वक नै कुनै नेपाली बस्तीमा पाठकलाई पसाउँछ । वर्गीय भाषा र वर्गीय सामाजिकता प्रस्टै छुटिन्छन् ।

विभिन्न तहको द्वन्द्व नेपाली समाजमा रहँदैआएको भए पनि माओवादी सङ्घर्षले निम्त्याएको द्वन्द्व नेपाली समाजको ठूलो विषयवस्तु हो आख्यान र इतिहासका लागि । यस उपर इतिहास त लेखिने नै छ तर लोकप्रिय अनि तटस्थ आख्यान कसरी लेखिँदै छ । यो चासोको विषय हुनुपर्छ । आम पाठकवृत्तमा पुगेर कताकति लोकप्रियसमेत भएका द्वन्द्ववादी आख्यानमा आउँछन्- पल्पसा क्याफे र सुकरातका पाइला । पहिलोले उपभोक्तावादी संस्कृतिलाई आधार लिई द्वन्द्वको सारमा भन्दा रूपमा ध्यान दिन्छ । दोस्रोले दुवैमा टेक्दै अघि बढ्ने प्रयत्न गर्छ । पल्पसाले रिपोर्टिङ शैलीलाई आख्यानमा भित्र्यायो । उपन्यासमा द्वन्द्वका घटनाहरू (मर्म, संस्कृति होइन) सतहमा कुद्छन् र आमपाठकलाई दिक्क नपारी मुलुकको स्थितिको दृश्य देखाउँछन् । मूलतः भाषा, संवाद र बहावले उपन्यास उभिन्छ, न कि विषयवस्तुले तर गहिरिएर हेर्दा एउटा झिनो कथानक माथिदेखि तलसम्म बगेको देखिन्छ । उता सुकरातका पाइलोको आख्यान द्वन्द्वलाई तलदेखि माथिसम्म हेर्ने प्रयत्नमा छ ।

नवयुवकको अन्यमनस्क स्थितिलाई सामाजिक परिस्थितिमा अध्ययन गरिएको छ । द्वन्द्वको प्रभाव विश्लेषण गर्न पल्पसाभन्दा अलि बढी सुकरातका पाइला सफल छ । पल्पसामा चित्रकार, पत्रकार, र व्यवसायीहरू कसरी द्वन्द्वको प्रभावमा परे भन्ने छ, सुकरातमा जनशक्ति, व्यवसायीको चलखेल र ठगी, युवाहरूको मिलिसियामा भर्ती, उनीहरूमा पलाएको नैराश्य, शैक्षिक अराजकता पनि सँगैसँगै विश्लेषित छन् । नेपाली साहित्यमा केही समयअघिदेखि प्रचलित आत्महत्याको बिम्बमाथि पनि व्यङ्ग्यात्मकरूपमा सुकरातका पाइलाले आख्यान बुन्ने प्रयत्न गरेको छ ।

नेपाली समाज उत्तरआधुनिक छ या छैन ? भन्नेमा पनि बहसहरू भएका छन् । उत्तरआधुनिकता सांस्कृतिक मनोविज्ञानको त्यो चरण हो जहँा पुगेर केवल मिथकहरू मात्र सामाजिक हुन्छन् । वर्तमानमा कहीँकतै आख्यानमा मात्र भर नगरेर पुरानिएका आख्यानलाईर् बौराउनुपर्छ । समाज खुला तर गहिराइ नभएका कुराहरूमा अल्झेर कथाविहीन भएको हुन्छ । कथानक नै हुँदैन । अचम्मका गतिवान् अस्थिर छायाँहरूका अस्तित्व नै समाजमा सलबलाइरहेका हुन्छन् । विस्मृति र परिचयको सङ्घर्षमा मान्छेहरू परिरहेका हुन्छन् । व्यक्ति अनेक सानासाना अंशमा बाँडिएर परिचयहीन हुँदै गइरहेको हुन्छ । के यस्तो स्थिति नेपाली समाजमा छ त ? यही अस्थिर सांस्कृतिक मनोविज्ञानलाई ‘घनचक्कर’मा लेखेर आख्यानकारका रूपमा उदाएका छन्- सञ्जीव उप्रेती । घनचक्करले नेपाली समाजको साङ्केतिक रूपमा मात्र प्रतिनिधित्व गर्छ । वास्तवमा काठमाडौँ खाल्डोभित्रको राजनीति, समाज, संस्कृति, अर्थव्यवस्था यसले कहीँ कतै बोल्दैन तर सङ्केतहरू के मिल्छन् भने कतै हाम्रो राजनीतिलाई पो यसरी लेखिएको हो कि वा हाम्रो समाज नै यसतर्फ जाँदै छ कि ! सामाजिक आख्यान यसमा छैन, मनोवैज्ञानिकवृत्तमा नै सारा कुराहरू भनिएको छ । कुनै स्थायित्व नभएको र पागलपनले ग्रसित भएको चेतनाले आँकलन गरेका त्रासदीहरूलाई कथानक बनाउन फेन्टासीको प्रयोग गरिएको छ । ‘समाजमा राम्रोसँग फेरी लाउन नसकिएकाले’, ‘शासकीय केन्द्रहरूको वास्तुशास्त्र नमिलेकोले’ यहाँ सधैँ गडबडी, हिंसा, धोकाधडी मात्र छ । र, यही कुराको परिणाम नेपालीहरूमा क्रमशः पागलपन बढ्दै गइरहेको छ । खासमा पछिल्ला बीस वर्षको समाज र राजनीतिक रूपान्तरणको नेपालीय सङ्घर्ष चक्करहरूमै अद्यापि फँसिरहेको छ । यस उत्तरआधुनिक आख्यानमा अनेक बिम्बहरू र सङ्केतहरू जस्तै- प्याज, योगी दिलवरनाथ, फ्रेन्च राइनर, खोज शब्द, बोरा, मोबाइल, कागजका नाउ, गुच्चा आदिले नेपालको केन्द्रीय राजनीति र यसका सफलता, असफलता, प्रतिबद्धता, षड्यन्त्र, छलछामलगायतका परिणाम-परिणतिहरूलाई प्रतिनिधित्व गरेका छन् ।

नारायण ढकालको ‘प्रेतकल्प’ समाजशास्त्रियताको नमुना आख्यान बनेको छ । मूलरूपमा यो उपन्यासले नेपाली समाजको रूपान्तरणका ऐतिहासिक चरणहरूमाथि ठूलो प्रश्न गर्छ । अर्कातिर सामाजिक परिवर्तनको धार आजको होइन भन्ने तर्फ प्रस्ट सङ्केत गर्दै नेपालको सम्पूर्ण इतिहासलाई पुनः एकपटक बौराउनु पर्ने आवश्यकतासमेत बोध गराउँछ । कम्तीमा १०० वर्षअघि नेपाली समाज छट्पटिइरहेको, कतिले सङ्घर्षका क्रममा ज्यान गुमाउनु परेको इतिहास हुँदाहँुदै आजसम्म आइपुग्दा पनि आखिर तिनै मुद्दाहरूलाई अगाडि बढाउनुपर्दा क्रान्तिकारीहरूलाई लाज लाग्नु पर्ने कुरातर्फ पनि पाठकलाई यो उपन्यासले सजग पार्छ । नेपाली समाजका बहुआयामिक पक्षहरूलाई यो ‘प्रेतकल्प’ उपन्यासले अत्यन्तै मिहिनरूपमा आख्यानीकरण गरेको छ । सामाजिक बसोबास, रहनसहन, वर्गीय भाषा, लवज, वर्गीय संस्कारहरू, सामाजिक विभेदीकरण र द्वन्द्वको असली रूप, अर्थ व्यवस्थाः यीभन्दा पनि राज्यको ग्रामीण समाजमा उपस्थितिको जुन कथानक यो उपन्यासमा छ त्यो विशिष्ट छ । खासगरी राणाकालीन राज्य र रजौटाबीचको सांस्कृतिक अन्तरसम्बन्धले कसरी तत्कालीन समाज जकडिएको थियो र प्रगतिका लागि त्यो सम्बन्ध कसरी बाधक थियो भन्ने कुरा कुनै ऐतिहासिक उपन्यासले भन्दा बढी यो उपन्यासले भनिदिएको छ ।

आजभोलिका नववामपन्थले भन्ने गरेका परिचयवादी अधिकारहरूसँग जोडिएका कतिपय सङ्घर्षहरू उतिबेलै नेपाली समाजमा चर्किसकेका थिए भन्नेकुरा यो उपन्यासले पुष्टि गर्छ । उपन्यासले उल्लेख गरेका त्यस्ता सङ्घर्षहरू छन्- ब्राहृमणले गरेको विधुवा विवाह, सार्कीको छोरालाई घरमा पालेको र उसको व्रतवन्ध, कर्मकाण्ड, अध्यापन, समलिङ्गी अधिकार र समानता, २० वर्ष पुगेपछि मात्रै छोरीचेलीको विवाह गर्ने, छोरीले पढ्न पाउनुपर्ने आदि । अझ उल्लेखनीय त के छ भने ब्राहृमणवादी चरित्र र संस्कारमाथि निकै ठूलो सांस्कृतिक प्रहार भइरहेका बेला उपन्यासले ब्राहृमण चरित्रलाई इतिहासदेखि नै रूपान्तरण र क्रान्तिका नायक सावित गर्छ । नायक भएको ब्राहृमण परिवारको सर्वस्वहरण अनि देश निकाला नै दुखपुर नामक गाउँको प्रगतिको बाधक बनेको छ । दुखपुर एउटा प्रतिनिधि गाउँ हुँदा समग्र नेपालकै रूपान्तरण कम्तीमा १०० वर्षपछि परेको छ ।

परिवर्तित नेपाली समाजका नयाँ विषय उठान गरी आख्यानीकरण गर्ने दिशामा उल्लिखित कृति एवं कृतिकारहरू निकै सफल भएका छन् । नेपाली साहित्यमा नयाँ व्याख्यान (डिस्कोर्स) प्रारम्भ गर्न यी कृतिकारहरू क्रियाशील छन् । नेपाली साहित्यका पाठकले २०४६ साल पछिको नेपाली समाजका विविध आयाम र तिनमा राज्यको सम्बन्धलाई आख्यानमा हेर्नु पर्‍यो भने उल्लिखित उपन्यासहरू अध्ययनीय छन् । यसको मतलब यो होइन कि यिनमा कुनै कमजोरी नै छैनन् र अन्य औपन्यासिक कृतिहरू कमजोर छन् । वैचारिक बनोटका हिसाबले यी नयाँ आख्यानहरूले आ-आफ्नै नैसर्गिक सौन्दर्य पैदा गरेका छन् । कला साहित्य लोकप्रिय हुन्छन्, तिनका विषयवस्तुले अनि विषयवस्तु लेख्ने शैलीले । प्रयुक्त वैचारिकतामा पाठकले पछि मात्र ध्यान पुर्‍याउँछन् । रूपमा ध्यान दिँदा विषयवस्नु हराउने, विषयवस्तुमाथि गहिरिँदा रूप अलमलिने समस्या हाम्रो साहित्यमा नदेखिएको होइन तर ती सिर्जना नै लोकप्रिय र ऐतिहासिक हुने हुन्, जो रूप (बुनोट) र सार (बनोट)मा सन्तुलित छन् । यद्यपि जुनसुकै प्रकारका सिर्जनात्मक लेखनका आधारहरू सामाजिक, सांस्कृतिक अनि ऐतिहासिक भएर आएका हुन्छन् ती कृतिहरू मूल्याङ्कनीय हुन्छन् ।

सन्दर्भ सामग्रीः

उप्रेती, सञ्जीव (सन् २००७) घनचक्कर, पब्लिकेसन नेपालय, ललितपुर
खनाल, यदुनाथ (२०३०) समालोचनाको सिद्धान्त -तेस्रो संस्करण, साझा प्रकाशन, काठमाडौँ
गौतम, कृष्ण (२०६४) उत्तरआधुनिक जिज्ञासा, भृकुटी एकेडेमिक पब्लिकेसन्स, काठमाडौँ
ढकाल, नारायण (२०६६) प्रेतकल्प, साझा प्रकाशन, काठमाडौँ
धरावासी, कृष्ण (२०५७) शरणार्थी (दोस्रो संस्करण), नियात्रा प्रकाशन झापा
नेपाल, प्रदीप (२०६४) स्वप्निल सहर, बगर फाउण्डेसन, काठमाडौँ
पाण्डे, नयनराज (२०६५) उलार, फाइनप्रिन्ट आइएनसी, काठमाडौँ
प्रधान, कृष्णचन्द्र सिंह (२०५०) नेपाली उपन्यास र उपन्यासकार, साझा प्रकाशन, काठमाडौँ
भट्टराई, गोविन्दराज (२०६३) उत्तरआधुनिक ऐना, मोडर्न बुक्स, काठमाडौँ
………………..सुकरातका पाइला, मोडर्न बुक्स, काठमाडौँ
राई, इन्द्र बहादुर (२०५०) नेपाली उपन्यासका आधारहरू (दोस्रो संस्करण), साझा प्रकाशन, काठमाडौँ ।
…………………. (२०६३) सेतो ख्याकको बनोट र बुनोट, नई प्रकाशन, काठमाडौँ
वाग्ले, नारायण -सन् २००५) पल्पसा क्याफे, पब्लिकेसन नेपालय, ललितपुर
सिग्द्याल, सोमनाथ शर्मा (२०२८) साहित्य- प्रदीप, दोस्रो संस्करण, पुस्तक संसार, काठमाडौँ- विराटनगर
सङ्ग्रौला, खगेन्द्र (२०५६) जूनकीरीको सङ्गीत, भँुडीपुराण प्रकाशन, काठमाडौँ

-झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *