अदालत परिसरमा सायद अन्तिम भेट हो उनीहरूको । श्रीमान्को अनुहारमा विजयको खुसीयाली अनि एउटा बहुप्रतिक्षित उन्मुक्तिको आभाष झल्केको प्रस्टै देखिन्छ तर श्रीमतीमा भने न पाउनुको खुसी छ न त गुमाउनुको पीडा नै । मानसिकता एक प्रकारले शून्यप्रायः छ । केही वर्षको वैवाहिक जीवनपश्चात् श्रीमान्ले ऊबाट छुटकारा खोज्यो । एउटी शिक्षित र समझदार नारी हुनाले निकै सोचविचारपछि उसले पनि स्वीकृति दिई। किनकि, उसलाई राम्ररी थाहा थियो जीवनमा सहयात्रा तबसम्म मात्र कायम रहन्छ जबसम्म आपसी विश्वासको बन्धन रहन्छ । देखावटी सम्बन्धभन्दा सम्बन्धविच्छेद नै उपयुक्त लाग्यो उसलाई ।
श्रीमान् मख्ख यसर्थ छ कि अब उसका इच्छा-चाहना अनि क्रियाकलापमा कसैको हस्तक्षेप हुनेछैन । खुलारूपमा रमणिहरूसँग समय बिताउन पाउने छ । रातको जतिबजे घर आए पनि कसैको कचकच सुन्नुपर्ने छैन । जति गिलास, जति बोतलै रित्याए पनि कसैले केही भन्ने छैन । अझ आफ्नो सम्पत्तिमा बेरोकटोक मोजमस्ती गर्ने वातावरण बन्नेछ । सानो छँदासम्म आमाबाबुको अनि ठूलो भएपछि पनि झन् एउटी स्त्रीको पहरेदारीले ऊ हैरान थियो । सो अब हुनेछैन । त्यसैले उसका आँखामा रङ्गीन पुतलीहरू सल्बलाइरहेछन् । ‘….आज टिना, भोलि अमिता……. सोबिया, प्रवीणा…..वाह !सबैलाई अब पालैपालो । आफ्नै घरमा स्वागत गर्नेछु अनि ……।’ तर उसको सोचाइको तार टुट्छ श्रीमतीको सम्बोधनले -‘सुन्नुस त, सायद अन्तिमपटक भन्दैछु, धेरै नपिउनुहोला । डक्टरका अनुसार त्यसले तपाइँलाई हानि गर्छ । धेरै दौडधुप र तनाव पनि राम्रो हुँदैन । कालजमाना ठीक छैन, समयमै घर आउनुहोला ।’
‘ऊ, फेरि पनि गुरु बन्दैछ । उफ् !टेन्सन….।’ मनमनै मुर्मुरियो ऊ । आफ्नो ब्याग र कागजात सम्हाल्दै दुई पाइला अघि बढेकी ऊ पुनः रोकिएर बोल्छे-‘अँ, प्रेसरको औषधि समयमा खान नबिर्सनुहोला । बीचैमा छोड्नु हुँदैन । आफ्नो ख्याल राख्नुहोला । बाई !’
श्रीमतीको अन्तिम वाक्यले श्रीमान्को शरीर शीताङ्ग हुन्छ मानौँ विशाल हिमशीलाले उसलाई थिचेको छ । ‘अब पनि यसलाई मेरो चिन्ता किन ? अब म यसको को हुँ ? आजसम्म यसलाई मैले कहिल्यै आफ्नो ठानिनँ । मैले आफ्ना ठानेर तन-मन-धन दिएका टिना, अमिता, सोबिया, रियाहरूले त कहिल्यै यस्तो भनेका छैनन् । उनीहरू त केवल……। मनको यस्तो झस्काइसँग श्रीमतीतिर हेर्छ तर त्यहाँ उसको उपस्थितिको कुनै अवशेष छैन । उसको हातबाट सम्बन्धविच्छेदको फाइल फ्यात्त भुइँमा खस्छ ।
