Skip to content

शीर्षक के हो ? (मुना २०६७ बैशाख)

  • by


आर्या कहिले पनि कर्कलोको परिकार मन पराउँदिनन् । घरमा जब आमाले कर्कलो पकाउनु हुन्छ तब ऊ आँखाभरि आँसु पार्छे । “बङ्गुरले खाने कुरा म खान्न ।” ऊ जिद्दी गर्छे । कर्कलो पकाएको दिन आमासँग ऊ घुर्की लाउँछे, रिसाउँछे । उसको यो चालादेखि आमा आजित भइसक्नुभएको छ । आज पनि आमाले कर्कलो पकाउनु भएकोले उसले घुर्की लगाएर खाना नखाइकनै सुती ।

अहिले कर्कलोघारीमा आर्या थिई, ठूलो घारी । आफूभन्दा ठूला ठूला कर्कलाका बोटमा थिई ऊ ।

“यो बङ्गुर आउने जङ्गलमा म कसरी आएँ ।” ऊ बर्बराउन लागि । “हेर आर्या तिमी कर्कला गाउँमा छौ । म यस गाउँको मुखिया बा हुँ ।” एउटा लाम्पाते कर्कलो बोल्यो । “नाइँ मलाई त तिमीहरू मनै पर्दैन, फेरि रातो, हरियो रङ धेरै बेर हेरिरहृयो भने मेरो आँखा पनि दुख्छ । आर्या दुःखेसो पोख्दै सानो स्वरमा भन्दै थिई ।

हा…हा….हा…हे यो कस्ती रै छ हामीलाई खुब हेला गर्छेँ, अनि अहिले आफ्नो आँखा दुख्ने कुरा गर्छेँ । एउटा बच्चा कर्कलाले आर्यालाई जिस्कायो । मुखिया कर्कलाले बिस्तारै उसलाई मेचमा बस्न लगायो ।

सुन नानु “हामी भिटामिन ‘ए’ का राजा हौँ । हामीलाई मान्छेले खायो भने आँखाको ज्योति बलियो हुन्छ । आँखालाई अरू रोगबाट पनि बचाउँछ । तिम्रो आँखालाई हाम्रै आवश्यकता छ बुझ्यौ ।”

“अनि किन गाउँतिर कर्कलो पकाएर बङ्गुर, गाईलाई दिन्छन् त ? ऊ कड्कँदै भन्न लागी ।”

“बङ्गुर, गाईंलाई पनि भिटामिन चाहिन्छ भनेर पो दिन्छन् त नानु ।” विद्यार्थीले पढ्न, लेख्न, खेल्न पर्छ । त्यसैले तिमीहरूलाई राम्ररी पकाएको कर्कलो आवश्यक पर्छ । हेर तिम्रो त आँखा पनि रातो-रातो भएछ, पुन्टे कर्कलाले थप्यो । राता आँखा मिच्दै आर्याले भनी “हुन्छ म खान्छु अबदेखि कर्कलो ।”

निद्रामा खित्का छाड्दै आर्या हाँसेको देखेर आमाले “के भो” भन्नुभयो । आर्याले केही उत्तर नदिई लजाउँदै आमाको सारीमा आफ्नो मुन्टो लुकाइन् ।

“आमा मैले आज सपना देखेँ ।” उसले भनी ।

अब “म कर्कलो खान्छु आमा !” अघि पकाएको हैन ? बाँकी भए म खान्छु नि ! भन्दै ऊ त उठ्न पो लागि

बाँकी छैन अहिले त बिहान हो । भरे पकाइदिउँला भन्दै आमा आफ्नो काममा लाग्नुभयो । आर्याको कुरा सुनेर आमा पनि छक्क पर्नुभयो र कर्कलोको व्यवस्था गर्न लाग्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *