भोक मेटाउन एक गाँस
आङ छोप्ने एक सरो कपडा
प्यास मेटाउने एक घुड्को पानी
मागिरहेछन् माग्नेहरू ।
अपहेलित हुँदै
दर्व्यवहार, दर्वचन खेप्दै
ङिच्च दाह्रा देखाउँदै
मागिरहेछन् माग्नेहरू ।
सडक किनाराहरू
मन्दिरका सिडी, पेटीहरू
गल्लीचोकहरूमा
मागिरहेछन् माग्नेहरू ।
फतक्कह गल्लान
बटुवाको कति ढेप्पा खालान्
तरपनि रित्तै रित्तै ठडिएका हातहरूले
मागिरहेछन् माग्नेहरू ।
टन्टलापुर घाम,
सडकको धुलो,
हिउँदे चिसो होस या वर्खे झरी
मागिरहेछन् माग्नेहरू
मन्दिर धाउने भक्तजनहरू
बाटो हिड्ने बटुवाहरू
चोक गल्लीका भलाद्मीहरू
कर्के नजरले नहेरेपनि
मागिरहेछन् माग्नेहरू
यी भोका नाङ्गा माथि
सभा सम्मेलन भएपनि
सद्भा व र सहयोग पुग्नै नसकेपछि
मागिरहेछन् माग्नेहरू
अर्काथरि हाकिमको रूप धारण गरी
व्यापारी/व्यवसायीको भेष गरी
उद्योगपतिको बिल्ला धारण गरी
मागिरहेछन् माग्नेहरू ।
राजनीतिक पार्टीको नाउँमा
कार्यकर्ता पालनपोषणको दाउमा
चुनावी खर्च उठाउनैका लागि
मागिरहेछन् माग्नेहरू ।
सामाजिक कार्यका लागि
विकास निर्माणको लागि
शान्ति सुरक्षाको लागि भन्दै
मागिरहेछन् मानेहरू ।
विस्थापित व्यवस्थापन
भौतिक संरचना पुनर्निर्माण
मानवअधिकार संरक्षणका लागि भन्दै
मागिरहेछन् माग्नेहरू ।
हरिया डलरहरूले पनि
तृप्ती हुने नसकेका माग्नेहरू
मुलुकका भूभाग, नदीनाला धरौटी राख्दै
मागिरहेछन् माग्नेहरू ।
यसैले पनि भन्नै पर्छ आज मैले
जय होस् यी माग्नेहरूको
यी अघाए पछि
अवश्य पाउनेछन् ती माग्नेहरूले ।