सदियौँदेखि ऊ जहाँको त्यहीँ
असारे झरीमा कुनै ओत छैन
कठ्यांग्रिने जाडोमा न त
न्यानो मीठो घाम छ !
न विरोधमा जुलुस बन्न सक्छ
न लाससँगै मलामी जान सक्छ
तिमीले नदेखेका घटना
उसका सामु घटे होलान्
उसलाई पनि कति दुख्दो होला
न हाँस्छ ऊ कहिल्यै
न दुःखसँगै रुन सक्छ !
मानौँ, पत्थरको मूर्ति भएर
मौनता धारणा गरेर बसेको छ ।
ऊ हाम्रो कोही त हो
मान्छेहरू किन बुझ्दैनन् ?
बटुवा भएर
ऊ सामु हिँड्दा
फर्केर किन हेर्दैनन् ?
कति सहनु पीरहरू उसले
अतीतको आफ्नो आकृति लिएर !
बीच सडकमा उभिएको ऊ
तर, आज मैले देखेँ
उसको छातीभित्र उप्किएका
ती पत्रहरू
सायद ऊ भित्रभित्रै फुट्यो होला
उसको मुटु पनि चर्कियो
अनेकतामा एकता…!
उसको प्रेरणादायी इतिहास
‘एकताभित्र अनेकता…!’
भन्दैछन् वर्तमानले
घायल मुटु लिएर
लाग्छ अझ मलाई सोध्दैछ-
‘सबैलाई चेतना भया !’
नेपाल साप्ताहिक ४२४
