पत्रमा सोधेको थिएँ
के हुँदैछ नेपालमा
मित्र अगाडि लेख्छन्…
उत्तर के दिऊँ ?
खास केही छैन
सब ठीक छ
सरकारविहीनताको महसुस गर्दैछन् जनता
नेतृत्वविहीन छ राज्य
देशको भविष्य अन्योल र चिन्ताजनक छ
त्यस्तो खास केही छैन
यस्तै सामान्य मात्रै हो
बाँकी सब ठीक छ
सरकार अन्योल र उदासीन छ
जनताप्रति उत्तरदायी छैन
सत्ता र कुर्सीको लडाइँमा लाचार छ/लोलुप छ
दिन दुई गुना रात चार गुनाका दरले
महँगीले जनताको ढाड सेकिरहेछ
युवा शक्ति विदेश पलायन भइरहेछन्
त्यस्तो विशेष केही छैन
यस्तै सामान्यतया मात्र हो
बाँकी सब ठीक छ
सरकार विशेष शान्ति सुरक्षाको योजना बनाउँदैछ
दिनदहाडै हत्या, हिंसा र आतंक छ
राजधानीको मुख्य सडकमा बम पड्कँदैछ
लोडसेडिङ् र चन्दा आतंकले
कलकारखानाहरू एकपछि अर्को बन्द हुँदैछन्
पेट्रोलियम पदार्थको भाउ चुलिरहेछ
त्यस्तो उल्लेखनीय केही छैन
यस्तै सामान्य मात्र हो
सब ठीक छ
रोल्पा, डोल्पा, बझाङ र बाजुरामा
झाडापखालाको महामारी छ
हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ र कणर्ालीमा
खाद्य संकट छ
स्वायत्तताका नाममा राज्य गृहयुद्धतिर धकेलिँदैछ
घूसखोरी र भ्रष्टाचारीहरूको अझ बिगबिगी छ
त्यस्तो वर्णनीय केही छैन
यस्तै सामान्य मात्र हो
सब ठीक छ
तराईमा भूमिगत शक्तिले
व्यक्ति अपहरण र चन्दा असुलिरहेछन्
एकपछि अर्को पत्रकारको हत्या भइरहेछ
सुस्ता, महेशपुर, कालापानी र पशुपतिमा
सीमांकित किल्ला हराइरहेछन्/सारिँदैछन्
दिनप्रतिदिन नेपाली भूमि साँघुरिँदैछन्
विकासका नाममा भौतिक पूर्वाधारहरू भत्किरहेछन्
त्यस्तो उल्लेखनीय केही छैन
यस्तै सामान्य मात्र हो
सब ठीक छ
सिंहदरबार रेस्लिङ् सिकाइने थलो भएको छ
संसद् भवन युद्ध मैदान भएको छ
मन्त्रीहरू विदेश भ्रमणतिर व्यस्त छन्
सांसदहरूको दिनहुँ झगडा
केवल आफ्नो आयु बढाउन समय थप्न भने छिटो मिल्छन्
त्यस्तो उल्लेखनीय केही भएको छैन
यस्तै सामान्य मात्र हो
सब ठीक छ ।
नेपाल साप्ताहिक ४३४
