१. चोकबीच ठडिएको दस बोरा सिमेन्ट भा’ छ ऊ
एकबिहान जमजमाएको उद्घाटन सत्र भा’ छ ऊ
मञ्चमा छन् चम्किला केही थान होनहार अतिथिहरू
खुइलिएको टाउकोमा कपाल उमार्ने विज्ञापन भा’ छ ऊ ।
२. वृद्धाश्रममा परित्यक्त उसैकी ‘बूढी आमा’ भा’ छ ऊ
दोबाटोमा माग्नेे अपाहिज ज्यूँदो सहिद भा’ छ ऊ
कोटामा सहिद हुनलाई टिप्पणी उठ्यो फेरि निर्णयार्थ
इतिहासको बदनाम गल्लीमा गुमनाम पात्र भा’ छ ऊ ।
३. परीक्षार्थीको हुर्मत लिने सामान्य ज्ञान भा’ छ ऊ
अरूले भनेको तर नहिँडेको अग्रगमन पथ भा’ छ ऊ
छोरी डान्सबारमा, छोरो खाडीमा बेपत्तिया’ छन्
औपचारिकतामा मात्र बज्ने राष्ट्रिय गान भा’ छ ऊ ।
४. राजनीतिका मंगेटी ओताउने खुला पाटी भा’ छ ऊ
धनकारीहरूलाई कमाउने उन्मुक्त लाइसेन्स भा’ छ ऊ
चर्चेको उसले घडेरी दर्ता गराएछ भू-माफियाले
मन नलागी-नलागी श्राद्धेझैँ गरिने सहिद दिवस भा’ छ ऊ ।
५. सधँैझैँ नजितिएको फेरि अर्को चुनाव भा’ छ ऊ
यसबेलासम्म पनि नलेखिएको संविधान भा’ छ ऊ
संघीयता बेस्कन फा’प्या छ हिजोआज एनजीओलाई
अझै पनि म्याद थप्न लालायित सभा भा’ छ ऊ ।
६. अपहरणपछि मारिएको सुरक्षा व्यवस्था भा’ छ ऊ
हत्यापछि अनिश्चितकालीन बन्द राजमार्ग भा’ छ ऊ
हरेक ‘असत्य’लाई छेक्न ब्रान्डेड छाता चाहिने रै’छ
सहिद सपना भन्दै खाएको झूटो किरिया भा’ छ ऊ
चोकबीच ठडिएको दस बोरा सिमेन्ट भा’ छ ऊ ।
नेपाल साप्ताहिक ४४६
