रुद्र मिश्र, क्वालालम्पुर, मलेसिया
असार ५, २०६८ (जुन १९, २०११ आईतबार)
यात्रा साहित्य मञ्च फाक्चामारा, तेह्रथुमको प्रकाशनमा गनिन्द्र विवशको सम्पादन रहेको विश्वव्यापी साहित्य संगालो “यात्रा” भाग-१को विमोचन आज सम्पन्न भएको छ । कार्यक्रम मलेसियाको क्वालम्पुरस्थित चौतारी रेष्टुरेण्टको सभाहलमा आयोजना भएको हो ।
पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एवं कार्टुनिष्ट मणि राई “गोठाले” र अनाममण्डली मलेसियाका अध्यक्ष तथा विमोचन कार्यक्रमका सभापति श्रीजन श्रीले संयुक्त रुपमा गर्नुभएको थियो ।
पुस्तकको समिक्षा विभिन्न विधागत आधारमा कवितातर्फ राजकुमार तेयुङ्ग “तरेवा”, गजल र गीततर्फ रुद्र मिश्र र कथा, निवन्ध, संस्मरण आदिको समिक्षा जीवन देवान “गाउँले”ले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मलेसिया शाखाका अध्यक्ष विनो लामा, नेपाल सन्देश साप्ताहिकका विष्णु किराँती, याम व्यथित लगायतको उपस्थिति रहेको थियो ।
पुस्तक प्रकाशनको अवधारणालाई प्रष्ट पार्दै सम्पादक गनिन्द्र विवशले विश्वभरि छरिएर रहेका सवै सर्जकहरूलाई एकै ठाउँमा ल्याउने बताउँदै यात्रा साहित्य संगालो विश्वव्यापी रुपमा प्रकाशित पहिलो साहित्य संगालो भएको दावी समेत गर्नुभयो ।
अनाममण्डली मलेसियाको आयोजनामा आयोजित उक्त पुस्तक विमोचन कार्यक्रममा अन्य लगभग २० जना सर्जकहरूले आ-आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा लगभग ५० जनाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व अनाममण्डली मलेसियाका अध्यक्ष श्रीजन श्री, स्वागत मन्तव्य मण्डलीका सदस्य एवं यात्राका कार्यकारी सम्पादक भिम “स्नेही” लिम्बुले र संचालन अनममण्डली मलेसियाका सचिव रुवेन पुनले गर्नुभएको थियो ।


