Skip to content


कसैलाई ज्यादै महत्त्वपूर्ण र दर्दनाक लाग्ने घटना कसैलाई सामान्य र स्वाभाविक लाग्न सक्छन्। कसैलाई स्वाभाविक र सामान्य लाग्ने घटना कसैका निम्ति ज्यादै अनौठा र संवेदनशील हुन सक्छन्। तर, सामान्य र स्वाभाविक अवस्थामा हिँडिरहेको मानिसमा पनि जीवन या पीडाका विशाल चित्र देख्न सक्ने खूबी कमै मानिसमा हुन्छ, कमै स्रष्टामा हुन्छ। साक्षी कवितासंग्रहका नारायण श्रेष्ठ त्यस्तै कवि हुन्।

दसवर्षे सशस्त्र युद्धले नेपाली जनजीवनमाथि पारेको प्रभावलाई केन्द्रीय विषयवस्तु बनाएर रचना गरिएका उनका साक्षी कवितासंग्रहका अधिकांश कवितामा आवेग र आक्रोश मात्रै छैन, माया र ममताको सुम्सुम्याइ पनि छ। उनले त्यस समयलाई जस्तो देखे र अनुभूत गरे, कवितामा उतार्ने जमर्को गरेका छन्। त्यस युद्धलाई किनारमा बसेर नियालिरहेको साक्षीजस्तै उनका कविता बोलेका छन्।

बलेसीमा ओत लागेर
सय हन्डर छिचोलेका बूढा बा,
जिन्दगी बिसाउनै लागेकी आमा
सायद खोज्दै होलान्
पानीका थोपा-थोपामा
आफ्नै ढुकढुकी ।
(‘झरीमा उभिएर सम्झना गर्दा’, पृ ८२)

सरल, सरस र गम्भीर विषयवस्तु उनका खास पहिचान हुन्। हत्या र आतंकको कोलाहलबीच पनि मानिसले सुन्दर सम्भावना र आशाको दियो बालेको देख्ने खूबी उनमा रहेको आभास हुन्छ। बाह्रै महिना पसिना बगाउँदा पनि सुखानुभूतिको अनुभव गर्न नपाएका, विस्थापित र बेपत्ता भएका आफन्तजनको आँखाबाट झरेका आँसु र देशभित्रै देशविहीन र अनागरकि हुनु परेका पीडा र आर्तनादलाई नै कविता रचनामा प्रेरणास्वरूप लिएका छन्। र, हत्या र आतंकको कोलाहलबीचबाट अघि बढ्दाको त्यस समयलाई कवितामा उन्ने क्रममा असन्तोषको तीव्र ज्वाला मात्र दन्काएका छैनन्, आशा र विश्वासका त्यस्तै धरोहर पनि ठड्याएका छन्।

यात्रा विवरण र तस्बिरलाई पनि उनले कवितामा उनेका छन्, जुन ज्यादै मार्मिक र हृदयस्पर्शी लाग्छन्। घटना र परविेश अनुसारका छोटा कविता ज्यादै सरल र संवेद्य छन्। तर, अमेरिका बसाइका क्रममा लेखेको उनको एउटा कविता भने ज्यादै लामो छ र क्लिस्ट छ, अमेरिकाजस्तै। दोहोर्‍याएरै नपढीकन त्यो बुझ्नै सकिँदैन।

चार भागमा विभाजित उनको यस संग्रहका ३६ थान कवितामध्ये अधिकांश उम्दा छन्। तर, हिन्दी र अंग्रेजी शब्दप्रतिको उनको अनुराग भने अलिक अनौठो छ। जुन बासमती चामलमा ढुंगा लाग्दाजस्तै छन्। रास्ता, सफेद, लेयरजस्ता शब्दको ठाउँमा नेपाली शब्द र रुकेको, समेलिने, कुलकुलाउँदाजस्ता शब्दबाट बच्ने उपाय अपनाउनु नै श्रेयस्कर हुने सुझाव उनलाई दिन सकिन्छ। अघिल्लो कवितासंग्रह पार्थिव तस्बिरको सफलताबाट उत्साहित युवाकवि श्रेष्ठलाई यस संग्रहले थप उत्साह भर्नेमा भने शंका छैन।

ईश्वरी ज्ञवाली

साक्षी
स्रष्टा : नारायण श्रेष्ठ
प्रकाशक : फाइनप्रिन्ट आईएनसी, झम्सिखेल, ललितपुर
पृष्ठ : १२+९२
मूल्य : १५० रुपियाँ

नेपाल साप्ताहिक ४६१

Leave a Reply

Your email address will not be published. Required fields are marked *