तसबिरमा आत्मसंवाद

  • by

‘महाशय ! तपाईँ रिसाउनु भएको हो कि !’
‘रिसाउनुपर्ने प्रयोजन त देखिँदैन।
‘तपाईँलाई बोर गरेँ नि !’
‘म पराइसँग होइन आफूसँग नै रिसाउने गर्छु।’
‘अर्थात्…. आशयमा किन विरोधाभास….।’
‘म किन अरूलाई गलत मौका प्रयोग गर्न दिइरहेछु…यसरी।’ पार्श्वमा पटकपटक दोहोरिने एक पारदर्शी अनुभूति।
‘दुब्लाउनु भएछ, कस्तो सङ्कट आइपर्‍यो कुन्नि !’
एकपटक अर्थहीन स्वरले लचकदार वाक्यसित राख्‍ने झिनो शब्दसामर्थ्यमात्र।

‘अरूसित अपेक्षा राख्‍न उचित देखिएन त्यसैले।’
‘कौशललाई आदर्शमय बनाइरहनुपर्ने औचित्य नभएर हो कि !’ आदर्शता माने आत्मविघटन….।
‘यद्यपि अन्तर्मनमा जीवन भोग्ने कुरामात्र थियो।’ आडम्बर मात्र आडम्बर।
‘मान्छेका विरूद्ध व्यभिचार गर्न चाहन्नँ।’
‘जीवन भोग्नलाई सामञ्जस्य पनि चाहिने रहेछ।’
आदर्शबाट यथार्थतिर ओरालोलाग्दा उपलब्धि त हुनै पर्छ नि ! औपचारिकताले मेरो मुटु जलाइसक्यो !
असन्तोष…असन्तोष…असन्तोषमात्र।
‘फेरि अर्को यथास्थिति, तपाईँलाई न्यास्रो भएको त होइन !’
सम्झौता-सहमतिको पुनर्व्याख्या।
‘अन्ततः जीवनलाई प्रेम गर्न जान्नु पनि पर्छ ।
बिम्ब परिदृश्यहरूमा क्रियारत अर्को नवीन होडबाजी।
‘एब्स्ट्र्याक्ट आर्ट’ जस्तै एउटा मान्छे विस्थापित हुँदै गइरहेको थियो। वर्तमानसित विगतको ‘फ्ल्यासब्याक’ चलाउँदै लगिरहेको थियो ऊ, उपपात्र। हिजोका नृशंसताहरू आजका लागि समाधान।
आफैँले आफूसित प्रस्तावित तुल्याउनु थियो, ती प्रस्ताव कतिपय।
यसबेला आफ्नो मूल्य विघटनमा धिक्कार्नुपर्ने थियो, आफूलाई। धिक्कार्दै गइरहेको थिएँ, पागलजस्तै। कुन्नि किन यसबेला मूल्य स्थापनामा, आत्मक्षयी पनि तुल्याउनु थियो आफूलाई। विचलन तुल्याउँदै लगिरहेको थिएँ, कुनै प्रेम पुजारीले जस्तै।
अर्थात् ग्यालरीमा एकदिन, कुनै नेपाली भिन्चीको एउटा मूल्यवान् पोर्ट्रेट त्यसै-त्यसै अलपत्र परेर झुण्डिरहेको थियो।
पारखी आँखालाई चाहार्ने क्रममा त्यहाँ रङरङको बतासले आफ्नो निःशब्द शब्द खोलिरहेको थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *