Skip to content

अनेसास जापानको नया कार्यसमिति

20111108_PrakashPoudel_News-01


७ नोभेम्बर, २०११
टोक्यो, जापान ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको सातौं अधिवेशनबाट अध्यक्षमा प्रकाश पौडेल ‘माइला’ निर्वाचित हुनुभएको छ । नोभेम्बर ६ तारिख आइतवार टोक्योमा भएको अधिवेशनबाट पौडेल निर्बिरोध रुपमा अध्यक्ष चयन हुनभएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्करजंग थापा, महासचिवमा देवीबहादुर इङनाम, सचिवमा धिषण निरौला, सहसचिवमा शशि बिक, कोषाध्यक्षमा यसोदा वस्नेत थापा चयन हुनुभएको छ । सदस्यहरूमा सन्देश पोखरेल, छक्कु उदासी, भिष्म सुबेदी, कृष्ण के. श्रेष्ठ ‘काल्र्स’, राजेन्द्र जमरकट्टेल, कुमार डल्लाकोटी, सन्दिप ढुंगाना, चैतन्य अधिकारी, बिष्णु घिमिरे, श्रवण सत्याल, पेम्बा लामा, रामकृष्ण बम मल्ल, रामजंग कार्की, राजेन्द्र थापा र जानु खड्का चयन हुनभएको छ ।

सातौँ अधिबेशनको निर्वाचन कमिटी संयोजक बेलु थापाले यसअघि भएको बन्दसत्रले सर्बसम्मतरुपमा चयन गरेको अनेसास जापानको नयाँ कार्य समितिको नामावलीको घोषणा गर्नु भएको थियो ।

त्यसपछि सातौं अधिवेशन तथा लक्ष्मी जयन्तीको औपचारिक कार्यक्रम भएको थियो । अनेसास जापानका अध्यक्ष दिनेशराज ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा साहित्यकार तथा नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख डा. दुबसु क्षेत्री, बिशेष अतिथिका रुपमा एनआरएनका कोषाध्यक्ष भवन भट्ट र अतिथिका रुपमा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत र अनेसास जापानका पूर्व अध्यक्ष बेलु थापा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको संचालन पुष्करजंग थापा र स्वागत शशि बिकले गर्नुभएको थियो । निबर्तमान महासचिब पुस्करजंग थापाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष यसोदा बस्नेत थापाले आर्थिक विवरण सार्वजनिक गर्नु भएको थियो ।

प्रमुख अतिथि को आशनबाट बोल्दै डा. दुबसु क्षेत्रीले हालसम्म राम्रा-राम्रा साहित्यिक काम गरेकोमा निबर्तमान कार्यसमितिलाई र अझै राम्रो काम गर्नको लागि नवनिर्बाचित कार्य समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो । मन्तब्यको क्रममा उहाँले आफ्नो साहित्य यात्राको बारेमा चर्चा गर्दै विदेशमा बसेर लेख्ने कलमहरू र मेहनेती स्रष्टाहरूको सम्मान गर्ने बताउनुभयो । सरकारी प्रशासक बनेर काम गर्नुको अनुभवहरू सुनाउँदै उहाँले जापानबाट धेरै कुरा सिकेको चर्चा गर्नु भयो ।

बिशेष अतिथि भवन भट्टको प्रस्तुतिले कार्यक्रमको रौनकता निकै बढेको थियो । राजनीतिक दलका शिर्ष नेताहरूको आवाजको क्यारिकेचर गर्नुको साथै रमाइला रमाइला कथनहरू समेत सुनाउनु भएको थियो उहाँले । विदेशमा हुने साहित्यिक कार्यक्रम आफैमा महत्त्वपूर्ण हुने बताउँदै अनेसास जापानले गर्दै आएको नियमित कार्यक्रमप्रति खुशी ब्यक्त गर्नुभयो । अतिथिको आशनबाट बोल्दै डा. कुमार बस्नेतले आफु कुनै ठुलो साहित्यकार नभए पनि साहित्यलाई माया गर्दै सम्बर्धन र
प्रबर्धनमा नियमित लागि परेको बताउँदै अनेसास जापानले आयोजना गर्ने साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा निकै सन्तुष्टि मिलेको बताउनु भयो ।

यस्तै अनेसास जापानका पूर्व अध्यक्ष बेलु थापाले केही वर्ष अगाडि मात्रै वर्षको एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्न मुस्किल पर्ने सन्दर्भ जोड्दै अहिलेको दिनमा त्यस्तो अबस्था नरहेको बताउनुभयो । ‘जापानमा रहेका दर्जनौं साहित्यिक संस्थाहरूमध्ये नियमित कार्यक्रम आयोजना गर्ने संस्था सम्भवत: अनेसास जापान नै हो’, थापाले भन्नुभयो ।

कार्यक्रममा प्रबासी पत्रकार सञ्जालका नवनिर्वाचित अध्यक्ष भुषण घिमिरे, थकाली सेवा समितिका अध्यक्ष शरदकुमार गौचन, एनआरएन जापानको तर्फबाट देविलाल भण्डारी, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, अन्तराष्ट्रिय नेपाली समाज जापानका माहासचिब अर्जुन अधिकारि तथा नेपाली ब्यबसायी अनोज शाक्यले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न स्रष्टाहरूले आ आफ्ना रचना पनि बाचन गर्नुभएको थियो । यसरी रचना बाचन गर्नेहरूमा केशब थापा ( कविता) ,रामजंग कार्की (गजल) , अर्जुन अधिकारी (कविता) , पुस्करजंग थापा (कविता) , सशी बिक (यात्रा कविता) , सुष्मा ओमाता (कविता) , देबीबहादुर इङनाम (कविता) , प्रकाश पौडेल माइला (गजल र हाइकु) , पिताम्बर चापागाई, पदम पाणि (कविता,मुक्तक र हाइकु) ,चैतन्य अधिकारि (कविता) ,देविलाल भण्डारी (कविता) , डा. कुमार बस्नेत (कविता) , भवन भट्ट (कविता र क्यारिकेचर) रहनुभएको थियो ।

बिदाइ तथा बधाई कार्यक्रम

अनेसास जापानका सल्लाहकार तथा बरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीलाई बिदाइ तथा बधाईको कार्यक्रम समेत गरियको थियो, नेपाली दुतावास टोक्योका उपनियोग प्रमुखको रुपमा आफ्नो ४ बर्से कार्यकाल सम्पन्न गरि अब केही दिन मै नेपाल फर्किन लाग्नु भएका डा. क्षेत्रीलाई अनेसास जापानका निबर्तमान अध्यक्ष दिनेशराज ज्ञवालीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने अन्य अतिथिहरूले पुष्प गुच्छा उपहार स्वरूप प्रदान गर्नुभएको थियो ।

सभापतिको आशनबाट बोल्दै निवर्तमान अध्यक्ष दिनेशराज ज्ञवालीले आफ्नो नेतृत्त्वमा रहेको कार्य समितिमा रहेर काम गर्नुहुने सम्पूर्ण साथीहरूलाई धन्यबाद व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफलताको कामाना ब्यक्त गर्नु भएको थियो। जापानबाट बिदा भएर केही दिन मै नेपाल जान लाग्नु भएको डा. दुबसु छेत्रीको हालसम्मको सहयोग अनि सुझाब सल्लाहको स्मरण गर्दै आगामी दिनमा पनि भौगोलिक रुपमा टाढा भए पनि निरन्तर सम्पर्क र मार्गदर्शनको अपेक्षा राख्नु भएको थियो । सभापति ज्ञवालीले आफ्ना रचना बाचन गर्दै सभाको बिसर्जन गर्नु भएको थियो । अन्यमा सबै अतिथिले नब घोषित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

1 thought on “अनेसास जापानको नया कार्यसमिति”

  1. अनेसास जापान च्याप्टरको
    अनेसास जापान च्याप्टरको अध्यक्षमा निर्वाचित हुनु भएकोमा प्रकाश पौडेल माइलाजी लगायत कार्य समितिका सम्पूर्ण सदस्यज्यूहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गर्दछु /
    शरण आँसु

Leave a Reply

Your email address will not be published. Required fields are marked *