अमूर्त आवाजको पिछलग्गु दुनियासँग
एकछिन फुर्सद छैन
काम हेर्यो काम पनि छैन
यहाँ
हरेकसँग आफ्नै मुढेबल प्रशस्त छ
हरेकलाई आफ्नै दुनो सोझ्याउनु छ ।
अड्किएको तरङ्गसँग जोडिने केही छैन
भड्किएको समयसँग सम्बन्ध राख्ने मन कसैलाई छैन
तर
परबाट आएको घामको किरण सबैलाई टिप्नु छ
उदाउँदो चन्द्रसँगको सामिप्य सबैलाई बढाउनु छ ।
विम्ब र प्रतीकका बीच फसेकाहरू
किंकर्तव्यबिमुढहँुदै यताउता ढलिरहेछन्
शिर छुट्टिएका गिँड जस्तै
अवाक् अटल र अनिश्चितताको भुँमरीमा
अनि
अन्र्तमनको अन्तर्द्वन्द्वका आहालहरूमा ।
निर्लज्ज निष्कपट र निश्छल मनका
अनुपम उदाहरणहरू आज सडकभरि छरपष्ट छन्
यो संवेदनहिनताको पराकाष्ठामा
उदाएका दिवास्वप्नहरू परिपूर्ति गर्नका लागि
केवल,
अजिङ्गरको सिकार बन्नका निम्ति ।
सडक यज्ञमा आफैँलाई होम्न उद्दत छन्
नाचिरहेका मुर्कट्टाहरू
बुख्याँचाको साथ पाएर
अनि बडेमानको कुरूप राक्षसको नेतृत्व अँगालेर
बस्
निमेषमा खरानी हुनका लागि ।
मधुपर्क २०६८ मंसीर
