Skip to content


आँखाले मधुरो आकृति देख्न थालि सक्यो । बूढ्यौलीले हातखुट्टा केही लरखराउँछन् । शारीरिक अशक्तता हुँदाहुँदै पनि पूरा गर्न धेरै काम बाँकी थिए । क्यानभासमा आधा मात्र कोरिएर थन्किएका पेन्टिङ, किताब छपाउन चाङ मिलाएर राखिएका लेख रचनाहरु । जति सक्दो छिटो पूरा गर्न उत्साही देखिनु हुन्छ । ७५ वषर्ीय कलाकार मनोजवाबु मिश्र ।

सानो काठाभित्र आँखाले देखेजति नै कलात्मक चित्रका विविधता थियो । ढल्कँदो उमेरमा कोरिएका ती सिर्जना युवा जोश भएर पनि केही गर्न नसक्नेका लागि प्रेरणाका स्रोतजस्तै लाग्थे । दृढ इच्छा शक्ति भए उमेर कहिल्यै बाधक नहुँदोरहेछ । जुन कुरा कलाकार मिश्रको पछिल्लो समयको लेखन र उत्कृष्ट चित्रबाट स्पष्ट हुन्छ । कला, साहित्य, नाटक र रङ्गमञ्चका धेरै विधामा उहाँ बाँडिनु भएको छ । वियोगान्त नाटकको दृश्यजस्तै जीवनका घटनाले नै आफू कलाकार भएको उहाँ स्मरण गर्नुहुन्छ । परिवारका सात सदस्यको एकैपटक भएको मृत्युले उहाँलाई एक्लो बनायो । १० वर्षको उमेरमा आइपरेको विपत्तिलाई सामना गर्दै जाँदा व्यक्त गर्ने ठाउँ आफैँ बन्दै गए । चित्रमा पोख्न नसकेका पीडा शब्दमा त शब्दमा नअटेका भाव अभिनयमा । ‘भोगाइ, रिस, आक्रोश र तिक्तता पोख्ने उपयुक्त ठाउँ नै कला रहेछ ।’ कलाकार मिश्र यसलाई जीवनले सिकाएको पाठ भन्नुहुन्छ ।

बाल्यकाल मात्र होइन, विवाह गरेको केही समय नबित्दै श्रीमतीले समेत छोडेर गएपछि पीडादायी बनेको युवावस्था अझै पनि उहाँलाई नरमाइलो लाग्छ तर दुःखलाई हाँसोमा बदल्न सक्नु अर्को ठूलो कला हो । उहाँ भन्नुहुन्छ, अचेलको २० वर्षे युवाले पढाइबाहेक केही जान्दैनन् तर म २० वर्षको हुँदा नेपालमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै चिनिने कलाकार भइसकेको थिए । उतिबेला कलाको सम्मान हुने समय थियो । कलाकारितामा लागेर पाएको प्रोत्साहनले अरू कुनै क्षेत्र रोज्ने सोच नै आएन । कलाकारितामै अध्ययन गर्ने उहाँलाई धेरै अवसर आए । पाकिस्तानमा ५ वर्षे कलासम्बन्धी अध्ययन गरेर फर्किएलगत्तै ललितकला एकेडेमी प्रमुख र २०३५ सालमा शिक्षा मन्त्रालयको उपसचिव भएर काम गर्नुभयो ।

१० वर्षको उमेरदेखि ७५ वर्ष हुँदासमेत उहाँ कलाकारितामा संलग्न हुनुहुन्छ । कुनै समयको प्रतिभाशाली कलाकार मनोजबाबु मिश्र २२ वर्षदेखि भने घरभित्रकै संसारमा हुनुहुन्छ । २०४६ सालमा भएको राजनीति परिवर्तन उहाँलाई मन परेन । असहमति देखाउन घर बाहिर ननिस्कने किरिया खाएको उहाँ बताउनु हुन्छ ।

बहुदलीय व्यवस्थाप्रति असहमति हुने धेरै थिए तर कलाकार मिश्रले यस्तो किरिया खानुको कारण झट्ट सुन्दा अचम्म लाग्छ । सबैको ध्यान आफूतिर तान्ने काइदा होला, युवापुस्ताले यसरी पनि बढ्न सक्छ भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, ‘बहुदल मेरा लागि विष हो, विष खाएर बाहिर निस्कन सकिनँ ।’ आफ्नो स्वेच्छाले गरेको प्रतिवद्धता हो अरूसँग सरोकारको विषय रहेन । बहुदलप्रति उहाँको आक्रोश यति धेरै किन त ? बहुदल ल्याउनकै लागि भएको आन्दोलनमा जनताका छोरा सहिद भए । एउटा निष्ठावान कलाकार देशका लागि कलाकार मात्र हो । आम युवाले यसबाट कस्तो सन्देश पाउँछन् ? के भयो भने हामी कलाकार मनोजबाबु मिश्रलाई सार्वजनिक ठाउँमा देख्न सक्छौं ? उहाँ भन्नुहुन्छ, ‘यो व्यवस्था रहेसम्म बाहिर निस्कन’ । अहिलेको व्यवस्था छिट्टै परिवर्तन होलाजस्तो देखिँदैन, उहाँ के गर्नुहुन्छ त ? व्यवस्था परिवर्तन नभए काल नै छिटो आवस् बरु । उहाँभित्र असन्तुष्टि देखिन्थ्यो । देशको राजनीतिक व्यवस्थाप्रति उहाँ चिडिनुको कारण धेरै रहेछन् । २०३२ सालमा राजा वीरेन्द्रको राज्याभिषेकमा बनाएको ५६ फिट अग्लो पेन्टिङ विश्वकै अग्लो थियो । त्यो इतिहास समेटिएको कला पछि नष्ट पारिदिए । अरू देशमा भए जीवनभरि स्यावासी पाइन्थ्यो । यतिमात्र होइन राजावादीको आरोपलगाएर मन दुखाउने काम मात्र भयो । त्यसैले यस्तो किरिया खाएको उहाँले स्पष्ट पार्नुभयो ।

श्रीमती रमिला मिश्रलाई भने श्रीमान्को यस्तो निर्णय सुरुसुरुमा त्यति मन परेन । घरभित्रै वसे पनि प्रशंसकहरूको भीड लाग्न थालेपछि भने मन बुझाएको बताउनुभयो । श्रीमान्को चित्रकला खुब मन पर्छ । एकताका उहाँले बनाएको राजारानीको चित्र धेरै बिक्री हुन्थ्यो । रमिला मिश्रलाई त्यो समय सम्झदा अहिले पनि खुसी लाग्दोरहेछ । श्रीमान्सँगै बाहिर घुम्न जान नपाए पनि उहाँको पुस्तक विमोचन हुँदा, मनोजबाबु साँझ भनेर समय समयमा गरिने कार्यक्रममा श्रीमान्लाई नदेख्दा भने दुःख लाग्छ रे ।

विचार र अनुभवले खारिएको व्यक्तित्व जसको सीप र क्षमताको उपयोग गर्न सके युवापुस्तामा ज्ञानको भण्डार हस्तान्तरण हुन्छ । यो समयको माग पनि हो । यस्तो किन हुन सकेन ? कलाकार मिश्र आफ्नो अनुभवलाई नयाँ पुस्तामा बाँड्ने अवसर राज्यले नै वञ्चित गरेको ठहर गर्नुहुन्छ । कलाको इतिहास युवापुस्ताले बिर्संदै गएकोमा दुःखको अनुभव गर्दै उहाँ भन्नुहुन्छ । पेसागत इमानदारिता छैन, उपयुक्त सीप छैन तर कलाकार बन्ने रहर पूरा गर्न चित्र कोर्ने प्रवृत्ति छ । आफ्नो कमजोरी लुकाउन कसैले नुबझ्ने चित्र बनाउँछन् अचेल । अर्मूत चित्र रे ! चित्र पनि अर्मूत हुन्छ ? मन पर्दैन यस्तो प्रवृत्ति उहाँलाई । शब्दमा भन्न नसकिएका भाव चित्रमा हुनुपर्छ । चित्र बोल्नुपर्छ । कलाकार मरेपछि पनि बाचेर बोलिरहने कृतिले कलाकार मरे पनि बाँचिरहन्छ । देवकोटाको मुनामदन सबैको अगाडि बोल्न सक्छ, त्यसैले देवकोटा बचिरहेका छन् । कलाको महत्त्व बुझेर मात्र यो क्षेत्रमा आउन नव कलाकारलाई उहाँ सुझाव दिनुहुन्छ । कलाकार बन्ने होडमा मान्छेलाई अल्मल्याउने र कलालाई ठगी खाने भाँडो बनाउने प्रवृत्तिले कलाको संस्कृति बिगार्ने उहाँको निष्कर्ष थियो ।

युवामञ्च २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *