आजभन्दा ६९ वर्षअघिको एउटा चिसो साँझ। २ पुस २००० को बृहस्पतिबार बेलुकी ७ बजेर ३५ मिनेट जाँदा लेबर पेनले छटपट गरिरहेकी दीपवतीदेवीले आफ्नो चौथो सन्तानलाई जन्म दिनुभयो। यद्यपि, ख्यातिप्राप्त डंकन अस्पताल रक्सोलमा नजिकै थियो तर त्यो शिशुको जन्म अस्पतालमा भएन, साधारण एउटा घरमै भयो।
गर्भावस्थामै छँदा एउटा झारफुक गर्नेलाई देखाउँदा त्यसले भनेको रहेछ, छोरै हुन्छ। यसलाई खाटमा जन्म दियो भने राम्रो हुन्छ। तर, त्यो शिशु गरिबी वा अन्य कारणले खाटमा जन्मिन पाएन। त्यो शिशुको नाम ः ध्रुवचन्द्र, न्वारानको नाम ः चेतचन्द्र। यही म थिएँ, जसलाई ध्रुव, धुरु, धुरे भनेर घर र बाहिर बोलाइन्थ्यो।
म एक वर्षजतिको हुँदा हाम्रो परिवार वीरगन्ज कुमालटोलमा सर्यो। घर किनेर र साटासाट पनि गरेर। मेरो सारा सम्झना वीरगन्जकै छ। रक्सोल त वीरगन्जबाट फिल्म हेर्न जाँदाखेरीको मात्र हो तैपनि रक्सोल वर्षौंदेखि यति गइएको छ कि कसैले सोध्यो कतिपटक भने भन्नैपर्ने हुन्छ, अनगिन्ती।
दीपवती आमाको मृत्युले धेरै घचेट्यो भावुकतातर्फ। म एकदम भावुक प्रकारको व्यक्ति बन्न पुगेँ। आमा बिरामी हुँदा बर्बराएको सुनेको सम्झना छ। उहाँ बर्बराउनु हुन्थ्यो, मसँग रुनुबाहेक उपाय हुँदैन थियो। बिरामी हुँदा आमा झर्केको अथवा भोक लाग्यो भनेर उहाँको आँचलको फेर समाएर पछिपछि लागेको, उहाँले आफ्नो रातो कन्तुरबाट झिकेर नरविलको एक टुक्रा र मिश्री दिएको सम्झना हुन्थ्यो र म आमाको त्यो अर्धबेहोसी र आफ्नो बाल्य निरीह गरिबीबीचको शून्यमा झुन्डिरहेको हुन्थेँ।
आमाको मृत्यु डंगन अस्पतालमा भयो। त्यसपछि हाम्रो पूरा परिवार छिन्नभिन्न भयो, नजुट्ने गरी। एक प्रकारले संयुक्त परिवार थियौँ, पछि त्यसको ‘स’ पनि बाँकी रहेन। अहिले त झन् त्यो ‘स’को सिन्को पनि खोज्नुपर्छ। यी सारा घटना र एकाकीपनले मेरो मनमा गहिरो छाप पर्यो। त्यो प्रभाव अझै उस्तै छ तर मभित्र र मेरो एकान्तमा। किञ्चित वृद्ध हुँदै गएपछि आफन्तको मृत्यु हेर्दै जानु एउटा ठूलै पीडा हो। त्यो एक्लिँदै जानु पनि हो। बडो दुःखद हुँदोरहेछ यो। कुनै बखत आर्थिक, अब आत्मिक पनि रिक्तता भोग्दै जानु एउटा श्राप काट्नुजस्तै हो। बाल्यकालका प्रायः सारा साथी छुट्टिएका छन्। कोही अन्ततिर लागेर र कोही अनन्ततिर लागेर।
यी यावत् प्रसंगले म आफूलाई एक दुःखबाट अर्को दुःखमा सरुवा भएको अनुभव गर्छु। यिनैबीचमा सुखका क्षणहरू पनि झुल्किन्छन्, त्यसबाट दुःख खप्ने ऊर्जा पाइन्छ, त्यही हो।
१० वर्षको उमेरमा मैले कलम समाएँ। कलम आजसम्म छुटेको छैन। शब्दशा पनि। म कम्प्युटरमा लेख्न जान्दिनँ, त्यसकारण कलम साँच्चिकै छुटेको छैन। लेखनका रूपमा नछुटेको भन्नु त सहज नै भयो।
लेख्न थाल्दा मेरो मनमा लेखक बन्ने चाहना थिएन। ७ कक्षामा होला, ‘माई एम इन लाइफ’ शीर्षकमा निबन्ध लेख्दा मैले लेखेको थिएँ- आई कान्ट टू बी ए म्युजिसियन। सिंगर भन्न खोजेको नजानेर हतारमा म्युजिसियन लेखेँ। वीरगन्जमा प्रत्येक सरस्वती पूजाको दिन मञ्च बनाएर भव्य सांस्कृतिक कार्यक्रमको आयोजना हुन्थ्यो, त्रि-जुद्ध स्कुलको प्राङ्गणमा। मेरो सांस्कृतिक अभ्यास त्यहीँदेखि थालिन्छ। हिन्दी फिल्मका गीतहरू गाइन्थ्यो। हामी तिनताक चलेका गीतहरू गाउँथ्यौँ। मेरो आवाज राम्रै थियो। श्रोता मन पराउँथे। तर, जित्नचाहिँ कहिल्यै जितिनँ। हारेकामा कतिपटक रोएको पनि छु। पछि मैले आफ्नै धुनमा आफ्नै नेपाली गीत गाउन थालेपछि मेरो बेग्लै परचिय बन्यो। अझ भनुँ, अलिक मन पराए श्रोताले।
बाल्यकाल अभावग्रस्त भए पनि अहिले सम्झँदा रमाइलै लाग्छ। केटाकेटीको आत्मीयता सहज किसिमको हुन्छ। सब आफ्नै लाग्छन्, आत्मीय लाग्छन्। कसैको घरमा कोही पनि गएर खोज्न वा खान सक्थ्यो। सुत्न पनि सक्थ्यो। सारा वीरगन्ज आफ्नो लाग्थ्यो।
एसएलसी दिँदा घरमा त दुःख छँदै थियो, पढाइ पनि दुःखैलाग्दो थियो। यसकारण एकदिन वीरगन्जमा अन्य साथीका साथ भागेर कोलकाता गएँ धेरै सपना लिएर तर दिन बित्न नपाउँदै हामी चारै मित्र त्यहाँ हुने कष्टको कल्पना गरेर त्यसै बेलुकी र्फकेका थियौँ। एउटा कुरा बताइदिउँ, कोलकाता म हाफ टिकटमा गएको थिएँ। तिनताक डन्डी भएको झ्यालबाट कुली र साथीभाइ मिलेर मलाई पोको पारेर भित्र फ्याँकिदिएका थिए।
यी सबै समय मेरो कविता लेखन भने चलिरह्यो। पहिले म कवितै लेख्थेँ। पछि आख्यानतिर लागेँ, उपन्यास लेख्ने प्रयास गरेँ। मन परेन आफैँलाई। बरु ०१८/१९ तिर लेखिएका कथामध्ये दुईवटालाई पछि बनाएर छापेको थिएँ। एउटाको शीर्षक बिर्सेँ, अर्को थियो ः ‘सानो सहरमा विमला’ कविता र कथा दुवै ०२० वैशाख र साउनमा रूपरेखामा छापिएका थिए। त्यसअघि ०१९ मा ‘परचिय की विरक्ति’ भन्ने शीर्षकमा लखनउबाट प्रकाशित हुने उत्कर्षमा सर्वेश्वर दयाल सक्सेनाले प्रकाशित गरििदएका थिए, टिप्पणीसहित।
एकपटक ०२३ मा झापामा सातदिने सेमिनारको आयोजना गरियो, म पनि छानिएँ। भारत भएर जानु पर्थ्यो। म त्यसो त रत्नराज्य लक्ष्मी (त्यसबेला गल्स कलेज)मा पढाउन थालिसकेको थिएँ तर मेरो अनुहार कवि देखिन अलिक अपुग थियो कि क्या हो, रक्सोल चेकपोस्टमा कविहरूले आफ्नो उद्देश्य बताउँदा जान त दियो तर त्यहाँको पुलिस हाकिमले हाँस्दै भन्यो, “अच्छा आप भी कवि है?” मेरा लागि यो बिर्सन नसकिने घटना भयो। म मूलतः शान्त स्वभावकै व्यक्ति हुँ। किशोर र युवावस्थामा आफूलाई केन्द्रीय व्यक्ति ठान्ने, अहम् राख्ने, लेखनमा पनि आफूलाई कम नठान्ने प्रवृत्ति केही मात्रामा नभएको होइन तर यी सब धेरैजसो आन्तरकि रूपमा। अब त्यस्तो छैन। परििस्थतिको विविध अनुभवले आफ्नो धरातलमै उभिनुपर्छ भन्ने सिकाइदिएको छ। तैपनि, कहिलेकाहीँ अझै पनि कोही अति अहम्को जालोमा परेको देख्दा आफ्नै युवावस्था सम्झन्छु र हाँस्छु।
एकपटक एउटा पत्रिकामा मैले आफ्नो कुनै पुस्तकको अन्तरकथा लेखेर वीरगन्जबाट पठाइदिएको थिएँ। त्यो छापेनन् सम्पादकले। सोचे होलान्, यसले आफ्नो पुस्तकबारे अलि बढ्तै लेख्यो। समयले गर्दा पनि होला। अचेल त्यस्ता लेख छ्याप्छ्याप्ती छापिन्छन्। मेरै पनि छापिएको छ। त्यो लेख फिर्ता लिन जाँदा सम्पादकले के के भने, त्यो अहिले बिर्सें। मैले सम्पादकलाई दिएको उत्तर भने मेरो साहित्यिक हैसियतभन्दा बढी थियो, त्यो अहिले बुझ्छु। मैले भनेको थिएँ, “आँट त तपाईंले ठूलै गर्नुभएको हो।” मलाई त्यो भनेकामा अहिले पछुताउ हुन्छ। त्यसबखत भएन। त्यसको प्रमाण के भयो भने ती सम्पादक उक्त पत्रिकामा रहुन्जेल मैले आफ्नो रचना दिइनँ। पछि अर्का सम्पादक आएपछि भने, “अब त म आएँ, रचना दिनूस्।” त्यसपछि दिएँ। यस्ता गल्तीहरू (गल्ती नै भन्छु म) जीवनमा भइरहेका हुन्छन्। पहिले ती गल्ती लाग्दैन थिए। अब जानेसम्म, म त्यस्ता अहम्युक्त गल्तीबाट जोगिने यथासम्भव प्रयत्न गर्छु। उमेरको पनि प्रभाव होला, मलाई लाग्छ।
‘ध्रुवचन्द्र आलोचना सहन सक्दैन।’ यस्तो भन्थे वा अझै पनि भन्दा हुन्। मेरो उत्तर हुन्थ्यो र छ पनि, “नसहेर सुख पाइँदैन। म सहँदिनँ भनेर कसले मलाई आलोचना नगरेको छ र?” जो मेरा केही पाठक छन् आफ्ना, तिनको प्रोत्साहनले ऊर्जा दिन्छ। अब त आलोचनाले पनि प्रेरति गर्छ, म अर्को केही लेखेर देखाऊँ भन्ने। आलोचकहरूलाई त्यही जवाफ र सम्मान पनि हो भन्ने लाग्छ।
हिजो (२ पुस) देखि मेरो ६९औँ वर्ष सुरु भयो। अब आफ्नो जीवन र लेखनलाई कसरी लिएर जाने भन्ने चिन्ता त छँदैछ। लेखकलाई समाजमा सम्मानित बनाउने जिम्मा पनि पहिला त हामी लेखकहरूकै हो। त्यसका लागि के गर्ने? यो पनि बेलाबखत त सोच्छु। गुट, उपगुटका कुरा हुन्छन्, त्यो म जान्दिनँ। बरु कति ठाउँमा प्रत्येक व्यक्ति आफैँमा गुट बन्ने तरखर गरेको देख्छु। त्यही स्थितिलाई रोक्नुपर्छ। जन्मँदै हामी जे हुन्छौँ, त्यही अन्तिम भयो भन्ने ठान्दा फेरि पछि के हुने भन्ने प्रश्न उठ्छ। यसले आफ्नै बाटो अवरुद्ध हुने भय पनि होला।
म के-कसोतिर लाग्नु हुँदैन भन्छु। लेख्दै जाऊँ। जीवन र कलमले साथ दिउन्जेल लेख्दै जाऊँ। पछि अरूले गर्नुपर्ने मूल्यांकन आफैँले गरेर म आफ्नो हैसियत बढाउन चाहन्नँ। लेख्नचाहिँ नछुटोस्, यही शुभकामना आफूलाई दिनु म आफ्ना लागि श्रेयस्कर ठान्छु।
त्यस्तो अब छैन। परिवारमा पनि मिलेको छ। साथीभाइसँग पनि कसैसित बेमेल छैन। तैपनि, भित्रको लेखक सीसी टीभीबाट सबथोक देखिरहेको छ। त्यो सीसी टीभी मात्र होइन, मनको एक्स-रे गरेर देखाउने सीसी टीभी हो। तर, यसले दुःख मात्र बढाउँछ। एक नजिकको मान्छे भित्र नितान्त अर्कै देखिएपछि आफन्त र मित्रको अर्थ के हो? कसैले ज्ञानलाई दुःख पनि मानेको सम्झन्छु र यस्तै हो भनेर आँखा चिम्लिन्छु।
मेरो दोस्रो उपन्यास बालुवामाथि र पहिलो अन्त्यपछिले धेरै आलोचना खपे। साथीभाइले तिनको ‘प्रशस्ति’मा पनि धेरै ऊर्जा खर्च गरे। पछि उनकै दृष्टिमा म लेखनमा सप्रिँदै आएको हो तैपनि यी यो यो भएन भन्ने कुरा आइरहन्छ। म तिनलाई रसिाइक्लिङ् गरेर आफ्नो ऊर्जा बनाउने/बढाउने उपायमा ढाल्छु। केही जिद्दी खालको पनि हुनसक्छु म। सबैको सुन्छु, आफ्नो गर्छु। म प्रायः आफ्नो रचना बाहिर सुनाउँदिनँ, यो लेख्दै छु भनेर घोषणा पनि गर्दिनँ। पूरा हुन्छ, हुँदैन के थाहा? यसलाई लिएर दम्भी भने म छैन। म लेखकका रूपमा सम्पन्न छु कि छैन, त्यो पनि जान्दिनँ। यतिका लेखेर पनि मेरो किताबको बिक्री उल्लेखनीय छैन। तैपनि, जति पाठक बनेका छन्, तिनको सन्तुष्टिबाट म सन्तुष्ट छु।
पाठक त ‘जेनुइन’ हुन्छ। लेखक त्यसमा पनि समकालीन लेखक नै, कहिलेकाहीँ केही बाँकटे भइदिन्छ र स्निग्ध रूपमा खियाइरहेको लेखकीय डुंगा हल्लिन थाल्छ। सन्तुलित गर्न कठिन भइदिन्छ। तर, सबभन्दा धन्यवाद ती मित्रलाई नै दिन्छु। तिनैले गर्दा म लेख्ने इन्धन प्राप्त गरिरहन्छु। एउटा कुरा त घोषणै गरे पनि हुन्छ। लेख्नु मेरो स्वभाव हो। प्रकृति हो। आफ्नै प्रकृतिलाई म कसरी छोड्न सक्छु? म राम्रो लेखक नभए तापनि समर्पित/इमानदार लेखक हुँ।
म धेरै कार्यक्रमहरूमा जान्नँ। कार्यक्रम मन नपरेर होइन, आफ्नै कारणले। हुनसक्छ कुनै मित्रलाई नराम्रो लागोस्, आएन भनेर। यहाँ म क्षमायाचना नै गर्न चाहन्छु, यसलाई सहज रूपमा लिन भनेर। पहिले लाग्थ्यो समय दिँदैछु आफ्नो। अब लाग्छ, आयु नै दिँदैछु। कुरा उस्तै भए पनि यसबाट के संकेत पाउँछु भने समय आयुमा रूपान्तरति भएको छ। प्रत्यक्ष आयु। समयभन्दा आयुको सीमा मनले तोकेको हुँदैन। आयुभन्दा जीवनकै हदबन्दी गरेको हुँदोरहेछ मनले।
मैले लेख्न छोड्नु छैन। आफ्नो मनमा जति विषय छन्, सबै लेख्न खोज्ने रहर छ। यो रहर केही मात्रामा पूरा हुन्छ पनि, आफूलाई यतै केन्द्रित गरेँ भने। तर, पूरै मात्रामा कसरी होला, नयाँ विषय फेरि आकार ग्रहण गरेर आयो भने? त्यस अवस्थामा एउटा सन्तोष भने रहला, मैले आफ्नो जीवन लेखेरै व्यतीत गरेँ। यो उपलब्धि होस् वा नहोस्, एक प्रकारको तृप्ति भने हो भन्ठान्छु ।
नेपाल साप्ताहिक अंक ४७४
