चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरी, “अहिले म यति राति घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो – के अर्थ लगाउनुहुन्थ्यो -,” प्रश्नले ऊ झसङ्ग भयो । “केही होइन, भोलि बिहान चाँडै हिँड्नु छ, कार्यक्रमस्थलको लोकेसनका बारेमा सोचिरहेको छु,” प्रश्नको जवाफ होइन, उसले आफू मौन रहनुको कारण बतायो । ऊ टेलिभिजनको क्यामराम्यान जो करिब दुई दशकदेखि टेलिभिजन च्यानलको समाचारकक्षमा काम गरिरहेको छ । समाचारको क्षेत्र नै त्यस्तो छ, जहाँ कतिबेला कहाँ पुग्नुपर्छ, कुनै टुङ्गो हुँदैन । कहिले एकाबिहानै सुरु हुने नेताहरूका ‘ब्रेकफास्ट मिटिङ्’ भ्याउनुपर्छ त कहिले राज्यस्तरीय बैठकहरू । शिलान्यासदेखि उद्घाटनसम्म, जुलुस, धर्ना, अन्तरक्रिया, प्रदर्शन हुँदै अस्पतालदेखि आर्यघाटसम्म जानु नपर्ने भन्ने ठाउँ कहीँ छैन । सरकारी टेलिभिजनमा कार्यरत भएकाले प्रायः मन्त्रीहरूका कार्यक्रमले पिछा छोड्दैन । त्यसमा पनि त्यतिबेला त समय नै त्यस्तो थियो, मुलुक शान्ति प्रक्रियाको चरणमा प्रवेश गरेपछि विभिन्न सम्झौताहरूका क्रममा प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसिरहेको थियो । बिहानदेखि सुरु भएको बैठक राति १० बजेसम्म लम्बिएकाले ऊ घर आइपुग्दा त्यस्तै साढे ११ बजेको हुँदो हो । श्रीमती धेरैबेरसम्म खाना कुरेर केही नलागेपछि सुतिसकेकी थिई । छोराछोरीलाई उसले राम्ररी नदेखेको धेरै दिन भइसकेको थियो । बिहान ऊ हिँड्दा तिनीहरू उठेकै हुँदैनथे, राति फर्कंदा सुतिसकेका हुन्थे । दिनभरि बैठककक्षबाहिर उभिँदा र कुनै नेता बाहिरिँदा वा भित्र पस्दा दृश्यहरू लिनलाई यता र उता गर्दा त्यस दिन ऊ कति थाकेको थियो भन्ने बयान नै गर्न सक्दैन । बालुवाटारको एउटा सानो पसलमा एकमुठी चिउरा र चनाका भरमा दिन काटेको उसको रातिसम्ममा भोक पनि टरिसकेको थियो । तर पनि घर पुगेर अलिकति चिसो भात खायो । श्रीमती समझदार भएकीले थप मानसिक तनाव झेल्नुपरेन । मिडियामा काम गर्नेहरूका लागि समझदार श्रीमती या श्रीमान् पाउनु भनेको पूर्वजन्मको असल कामकै प्राप्तिझैँ हुन्छ । ऊ स्कुलमा पढाउँछे, घरबाट निस्कने र फर्कने उसको समय निश्चित छ । काममा रहँदा उसलाई कतिबेला अफिस पुगेर क्यामरा थन्क्याउँदै न्युजरुममा क्यासेट जिम्मा लगाई घर पुगेर ओछ्यानमा पल्टिऊ झैँ भएको थियो । तर, धेरै थाकेकाले निद्रा परेन । अनि त मनमा कुरा खेल्ने नै भयो । भोलि पनि जुरुक्क उठेर हिँड्नु छ, मन्त्रीज्यूको कार्यक्रम रे स्वयम्भू छेउमा, कहाँनिरबाट छिर्ने हो…! गाडी त पक्कै जान्छ होला…! यस्तै कुरा सोचिरहेका बेला श्रीमतीले यो प्रश्न गरेकी थिई ।
प्रश्न फालेर निदाइसकेकी श्रीमतीलाई हेर्दै उसले सोच्यो, साँच्चि ! कसको मनमा के कुरा खेलिरहेको छ भन्ने थाहा हुने भए के हुन्थ्यो होला – मानिसहरूबीचको व्यक्तिगत सम्बन्धलाई कति फरक पाथ्र्यो होला ! यो सोचाइ निष्कर्षा पुग्नै नपाई उसले अघिल्लो दिन दिउँसो अकस्मात् भेटिएकी स्कुलकी साथीलाई सम्झियो, ऊ ट्राफिकको डे्रसमा थिई, उसले त चिन्नै सकेन । डे्रस लगाएपछि सबै ट्राफिक उस्तै लाग्छन्, त्यसमा पनि महिला ट्राफिकको अनुहार के हेरिन्छ र – पुतलीसडकमा हिँड्दै गर्दा उसले नै बोलाएकी थिई, “अशोक…-” ट्राफिक प्रहरीले एक्कासि नाम लिएर बोलाउँदा यसले हतारहतार पकेटमा लाइसेन्स छाम्यो, हत्तेरी ! हाम्रो मानसिकता पनि कस्तो ! मोटरसाइकल चलाउने क्रममा चेकिङ्का बेला मात्रै ट्राफिक प्रहरीसँग जम्काभेट हुने गरेकाले त्यस्तो हुनु स्वाभाविकै थियो ।
शर्मिला (ट्राफिक प्रहरी) र ऊ राधिका मावि उर्लाबारीमा सँगै पढेका थिए । स्कुल सकिएपछि भेट नै भएको थिएन । त्यस दिन उसले सोधी, “कहाँ छौ, के गर्दैछौ -” ऊसँगै टेलिभिजन छिरेका कतिपय पत्रकार र कार्यक्रम निर्माताहरू सडकमा जसले देखे पनि चिनिने भइसकेका थिए तर उनीहरूको कामलाई पछाडिबाट सघाउने ऊ भने परिचयविहीन थियो । वर्षौंदेखि धेरैको पहिचान बनाउँदै आएको उसको परिचय आफ्नै क्यामरामा अदृश्य रूपले कैद भइसकेको थियो । तथापि, उसले भन्यो, “म टेलिभिजनमा काम गर्छु” त्यसपछि केही समय उसले शर्मिलालाई सोचेर बितायो, श्रीमतीले अघिल्लो दिन भनेको सम्झियो, “महिनावारी हुन लागेकाले असाध्यै जीउ दुःखेको छ, दुवै ब्रेस्ट दुखेर असाध्यै पीडा भएको छ ।”
प्रत्येकपल्ट महिनावारी हुँदाको यस्तै पीडा उसले श्रीमतीबाट सुन्दै आएको छ । उसले सोच्यो, ओहो ! यदि सबै स्वास्नीमान्छेलाई उस्तै हुने हो भने शर्मिलालाई झन् कति गाह्रो हुँदो हो, ऊ त दिनभरि सडकमा उभिएर काम गर्छे शरीरबाट रगत बग्नु भनेको सानो कुरा हो र – सडकमा अरू सबै पुरुष ट्राफिकहरू छन्, यस्तो भयो, उस्तो भयो भन्न पनि मिलेन । अझ सडकमा यता र उता गर्दा उसको जीउ कति दुख्दो हो ।
शर्मिलासँगको भेटले आज उसलाई अनायासै विगतमा धकेलिदिएको छ, साँच्चि अहिले मीठु कहाँ होली…- के गर्दै होली…- भेट भयो भने हामी के कुरा गथ्र्यौं होला…! ९ कक्षाको शैक्षिक भ्रमणमा जाँदा स्कुलमै नजानिँदो प्रेम भएको थियो उसको मीठुसँग । तर, त्यो प्रेम त्यति हुर्किन भने पाएन । धेरैपछिसम्म श्रीमतीको छवि अगाडि आउँदा मीठुकै मुहार सम्झिन्थ्यो ऊ । पहिलोपटक मीठुको हात समाउँदा उत्पन्न कम्पनसहितको तातोपन अहिले पनि उसले बिर्सन सकेको छैन । त्यस्तै भयो, ऊ थप अध्ययनका लागि काठमाडौँ आयो, दुई वर्षछि गाउँ जाँदा मीठुको विवाह भइसकेको थियो झापाको सुरुङ्गामा । ऊ पनि आमा बनिहोला…। के उसले मलाई सम्झिरहेकी होली…- अब त कपाल पनि अलिअलि फुले होलान्…। सलक्क परेका उसका ती हातका औँलाहरू…। ठूला आँखा, हँसिलो तर गम्भीर प्रकृतिको अनुहार…। कस्ती देखिएकी होली…- मनमनै प्रश्न गर्यो । शर्मिला र मीठु एकदमै मिल्ने साथी भएकाले उसलाई शर्मिलाको भेटले करिब २२ वर्षगाडि पुर्याइदिएको थियो । मीठुलाई पुनः नदेखुन्जेल पहिलेकै रूपमा उसको कल्पनामा आइरहनेछे ऊ । विगतको एउटा मीठो र अधुरो स्मृति…। कहिलेकाहीँ उसलाई जीवन रित्तो-रित्तोझैँ लाग्छ…। श्रीमतीसँग उसको नराम्रो छैन तर राम्रो सम्बन्ध हुनुको अर्थ जीवन पूर्ण भएको अनुभव हुनु भने होइन रहेछ । ऊ आफ्नो विगतले अरूलाई दुःख पुर्याओस् भन्ने चाहँदैन, त्यसैले श्रीमतीलाई मीठुका बारेमा कहिल्यै बताएन । के थाहा !- श्रीमतीले पनि उसलाई दुःख दिन नचाहेका अनेक घटनाक्रमहरू हुन सक्छन् । विश्वास टुट्न सक्ने सम्भावनामा कति धेरै अविश्वासहरूबीच चलिरहेको हुन्छ यो लोग्ने-स्वास्नीको सम्बन्ध पनि !
शर्मिला दिमागबाट पूरा हट्नै नपाई ऊ पुग्यो आफ्नै कार्यालय । सम्झियो, उसकै आँखाअगाडि कति मन्त्री फेरिए, मन्त्री नै पिच्छे जीएम र अध्यक्ष फेरिए, थरीथरीका बोर्ड-सदस्यहरू आए । तिनको सान, फुर्ति कतिपय त त्यहीँ जिन्दगी बिताउन आएझैँ गर्थे तर खै अहिले तिनीहरू कहाँ छन्, कुनै अत्तोपत्तो छैन । पर्दामा देखिने कति कार्यक्रम निर्माता र रिपोर्टर, समाचारवाचकहरूको आफ्नै नाम, पहिचान भयो तर पर्दापछाडिबाट असाध्यै महत्त्वपूर्ण योगदान गर्ने उसको प्रमोसन हुन पनि कति गाह्रो छ ! सँगै छिरेका पर्दामा देखिने कतिपय व्यक्तिहरू भनसुनकै कारण आफूभन्दा निकै माथिल्लो तहमा पुगिसके, ऊ भने जहाँको त्यहीँ छ । यसबीचमा जम्मा दुईपटक विदेश गएको छ, एकपटक राजाको औपचारिक भ्रमणमा चीन र अर्कोपटक प्रधानमन्त्रीको भ्रमणमा भारत । “विदेश जाँदा झन् कहाँ सुख पाइन्छ र – सातो जालाजस्तै गरी दौडधुप गर्नुपर्छ, दृश्यहरू खिच्न र समाचार पठाउनकै चटारो, समारोहस्थलहरूबाहेक घुम्न, देख्न केही पाइएको होइन । उपलब्धिका नाममा क्यामरापर्सन फलानोका साथ म… भनेर रिपोर्टरले बोलिदिँदा नाम आउने हो, आफ्ना परिवारका सदस्य र निकटवर्तीहरूबाहेक कसले सम्झिने हुन् र त्यो नाम ! अझ पहिलापहिला त क्यामराम्यान भन्ने चलन थियो, हिजोआज महिलाहरू पनि क्यामरा चलाउन थालेकाले क्यामरापर्सन भन्न थालिएको छ ।
आज उसलाई लागिरहेको छ, क्यामरा पत्रकार भनेको भए के हुन्थ्यो र – पत्रकारहरूको इज्जत त घट्दैनथ्यो । उनीहरूको कर्म पनि पत्रकारिता नै त हो । अझ अरू पत्रकारिताजस्तै जोखिम र जिम्मेवारीपूर्ण छ । अब त यो विषयमा कुरा उठाउनुपर्ला जस्तो छ, क्यामरापर्सन किन भन्नुपर्यो, फोटो या दृश्य पत्रकार भने पनि त हुन्छ नि !
श्रव्यदृश्य मिडियामा काम गरेर पनि अदृश्य जीवन बाँच्नुपर्दा आज उसलाई पहिलोपल्ट दिक्दारी लागेको छ । उसले खिचेका दृश्यका पात्रहरू आज कहाँबाट कहाँ पुगे ! तर, ऊ …- आज पनि एउटा अदृश्य र परिचयविहीन दिनचर्या बाँचिरहेछ । उसको योगदानको मूल्याङ्कनको चर्चासम्म छैन । फोटो सिच्नेसिवाय उसको महत्त्व पनि खासै छैन । मिडियामा सक्रिय रहँदारहँदै सीमान्तीकृत महसुस भएको छ आज उसलाई ।
श्रीमती अइय्या भन्दै अर्कोतिर फर्किई । “निकै जीउ दुःखेजस्तो छ,” उसलाई लाग्यो तर, सोधेन । बरु र्सतर्क भएर मस्त निदाएझैँ गर्यो । उसलाई डिर्स्र्टब होलाझैँ गरेर ऊ विस्तारै उठी र ट्वाइलेट गएर फर्किई, फेरि सुती उसै गरी । उसले घडी हेर्यो, बिहानको ४ बज्नै लागेको थियो । कस्तो निद्रा नआएको ! अब ऊ गाउँ पुग्यो, जहाँ उसले चञ्चल बाल्यपन बिताएको थियो, दिवङ्गत आमाबाबु सम्झ्यो । उहाँहरू भएको भए – आफैँसँग प्रश्न गर्दै कोल्टे फर्कियो, आमाले भनिन्, “कति सोचिरहेको बाबु ! अब सुत्…, बिहान चाँडै उठेर काममा जानुपर्छ फेरि…!” आमाका यी काल्पनिक वाक्यसँगै ऊ लुटुक्क निदायो, बिहान टेलिफोनको घन्टीसँगै बिउँझिँदा टेलिभिजनकी पत्रकार साथी भनिरहेकी थिइन्, “चाँडै गर्नूस्, कार्यक्रम सुरु हुन लागिसक्यो, लोकेसन पनि थाहा छैन ।” हस्याङ्फस्याङ् गर्दै तयार भएर सिंहदरबारतिर लाग्यो ऊ । पर पुगुन्जेलसम्म श्रीमतीको आवाज कानमा गुन्जिरहेको थियो, “ए, चिया त खाएर जानूस्… !” छोराछोरी भनिरहेका थिए, “बुबा आज हाम्रो प्यारेन्ट्स डे हो…। जसरी भए पनि आउनुपर्छ है ११ बजे !” तर, उसलाई थाहा छ, आज पनि उनीहरूलाई आश्वासनबाहेक केही दिनसक्ने अवस्था छैन । र, यो पहिलोपल्ट भएको पनि होइन ।
उसको पेसा नै यस्तै हो । उसका सहकर्मीहरूबीच उसको प्रतिष्ठा एउटा जाबो क्यामराम्यानको छ, कुनै महत्त्वको छैन । तर, घरपरिवारलाई पनि समय निकाल्न सक्तैन । मन्त्रीको तस्बिर खिच्दाखिच्दै एक्कासि उसको मुटु चसक्क दुख्यो ।
नेपाल साप्ताहिक
अंक २९६

Dukkha lagyo
wastab ma sarai Dukha lagyo ,
may be real nai hunu par6,
j hos kura sahi 6,
lekh suru dekhi last samma nai padhe,
tesaile ta bhandai 6u dukkha lagyo vanera.
wastab ma tehi cameraman bata khichiyeka tasbirle,
jo kohi ko height badhayeko 6 vane ,testa cameraman lai pani yeuta height lai uuchaa banaune invironment creat garinu par6.