रातो लालीगुराँसको त्यो फुलबारीमा
रातो रगतले मानिसको आल बनिरहेछ
आफ्नै फुलबारीको लालीगुराँस टिप्न पनि सक्दिन म
मानवतालाई लतार्दै गाडिएको खाडलमा
जीवन र मानवताको परिचय दिन पनि सक्दिन म
मेरा ती आँपका बोटमुनि लासहरू फलिरहेछन्
चाहे पनि आफ्नै रूखको आँप टिप्न सक्दिन म
बन्दुक र बारुदको विष्फोटयुक्त कम्पन छरिरहेछन्
यी दृष्य देख्नु अघि आँखा छोप्न पनि सक्दिन म
म आफैले आफैलाई प्रश्न गर्छु के यही हो मानवता?
मानवताको परिचय दिन पनि सक्दिन म
करोडौंको भीडमा म रुमल्लिरहेछु
को आफ्नो को पराई ठम्याउन सक्दिन म
धर्मको नाममा काटाकाट गरिरहेछन्
के धर्म को आफ्नो औंल्याउन सक्दिन म
जातजातिको निहँमा रगत पोखिरहेछ
चाहे पनि आफैले आफैलाई रोक्न पनि सक्दिन म
रगतको खोला बग्यो समयको सिमा कट्यो
रगतको नदीमा पौडी खेल्न सक्दिन म
निकै भयो संसारको चाला हेर्दैछु
संसारको चाला अझै बुझ्नै सक्दिन म
प्रेमको नाउँमा आफ्नै श्रीमती बेच्नेहरू होसियार
अब यी दृष्य हेरेर बस्न सक्दिन म
यो प्रेम विहीन कोलाहालमा बस्न कसलाई पो मन लाग्छ र?
चाहे पनि आफूले आफूलाई रोक्न पनि सक्दिन म
सिङ्गो विश्व छ अन्धकार कसले पारोस उज्ज्यालो
अति भयो अब अध्यारोमा बस्न सक्दिन म
मैन बत्तीका ठुटा अन्यासै लडिरहेछन्
चाहे पनि मैवत्ति बाल्न पनि सक्दिन म
सायद यस्तै हो भनेर चित्त बुझाउँछु
दिन वित्यो दशक कट्यो तर प्रेम पाउन सक्दिन म !
