सुनामी फैलेको, अझतक यहाँ थेन नि कहीं
भुकम्पैको धक्का, महसुस कतै छैन नि यहीं
भयो कस्तो उल्का, सगर तिर मैलो छ कि अहो !
न भो वर्षा बादल् , किन र कसरी भेल खनियो
बजार खारापानी, वरपर कतै छैन नि बरा
हरे ! सार्दीखोला, बिपत कसरी भो नि ? बिचरा;
बगायो भेलैले, सब बगरका मानिसहरू
यहीं वन्भोज् खान्थे, बगर तिर डुल्थे कति अरु
कसो गर्दा उब्ज्यो, बगर बिचमा ताण्डब ठुलो
सबै सोत्तर पार्दै, किन किन सुनामी भल झरो
कतै लास्का थुप्रा, बटुलनु; कतै मत्स्य टिपने
कतै शोकाकुळ् , भै अझ कति रुदै वक्ष पिटने
नुहाएरै फिर्ने, मनुज अब छैनन् बगरमा
हराए है तातो, सब जलधि कुण्ड़ै नजिकमा
रहेनन् है कोही, अब चिनु चपेटै बिलय भो
बगायौ है सेती ! सललल सबै नै किन अहो !
रुयौ माछापुछ्रे, किन हिमगिरी यो समयमा ?
अहो; सेती ! ऐले, भन किन मरे मानिस यहाँ
बगायौ सरा ति, तट निकटका मानव कुटी
लियौ हाम्रा बस्ती, सब किन उठायौ झिटिमिटी ?
कठै ! रुन्छन् कोही, शिव शिव कुनै मुर्छित भए
अहो ! देख्ता देख्तै, निमिष भरमै तैरिन गए
कसैका चैं खुट्टा, बगर बिचमा दौडिन पुगे
कसैका हात् मात्रै, जलधि तटमा पौडन पुगे
अहो ! सेती !! ऐले, भन किन तिमी पागल भयौ ?
यती सरो चर्को, रुप किन तिमीले लिन गयौ ?
कसोरी जान्नु खै, विपत परने हो कुन दिन
अहो ! हेर्दा हेर्दै, सब डुबीगए ती प्रिय जन
कतै बाबा आमा, अझ किन हराए बगरमा ?
कठै ! छोरा छोरी, अलमल यसै छन् डगरमा ;
सबै गाउँ बेँसी, शहर नगरै डुब्न पुगीगो
हरे ! एकै छिन्मा, सललल सबै नै लगिदियो
बिगार गर्ने कोहो ? किन रिस गरेकी अरुकन
तिमी साँच्चै ऐले, भन किन रिसायौ सब सँग
न ता तिम्रो बाटो, मनुज तिर क्वै छेकिन पुगो ?
न ता तिम्रो माटो, पयर कसको टेकिन पुगो ?
गरेका थे गल्ती ? भन त यसरी मानव कन ?
दिएकी हौ तिम्ले, किन किन सजायै अब भन ?
हरे ! देवी द्यौता !! भनन किन एस्तो बिपत भो ?
नलानु थ्यो तिम्ले, भन किन लगेकी ? सब अहो !
छन्द:- शिखरिणी
गण :- य म न स भ ल गु
नोट :- २०६९ साल बैसाक २३ गते सेती नदीमा आएको बाढीको समाचार अनुसार लेखेको कविता हो |
