कुराकानी नगर्ने रे, मन दुख्ता खेरि
बाटो कुरी नबस्ने रे, रिस उठ्ता खेरि
मन मिल्दा एकै साथ, कति बसेका थ्यौं
अब कतै भेट भए, मुन्टो बटार्ने रे !!
झसङ्ग भै हेर्ने गर्छेउ, आँखा कोर्ख्याऊदै
अब मिलन् हुनेछैन, भन्ने दर्साउंदै
वियोगको बाछिटाले, को को रुझ्छ भरे
फेरि पनि उसैगरि, मुन्टो बटार्ने रे !
अतीतका कुराकानी, सबै बिर्सिएर
भेट हुँदा पनि हिड्ने, सधैँ तर्किएर
नगर्ने काम के चैं गरें ? जवाफ मलाई दिए ;
अझै पनि मलाई देख्दा, मुन्टो बटार्ने रे !
असारेकोभाका गाउँदै, खुबै रमाएथ्यौं
गोठालो र मेलापात, सँगै बिताएथ्यौं
बिर्सिएर सबै कुरा, के हुन्छ र भरे ?
अझै पनि तर्किएर, मुन्टो बटार्ने रे !
भेट्यौ होला लाहुरे जोबन, मलाई लत्तायेर
गयौ होला मान्छे नभै, पैसा पट्टाएर
हैन भने पुनर्मिलन, गर्नुपर्छ भरे
अझै पनि नक्कल पारी, मुन्टो बटार्ने रे !
झिसमिसेमै गाग्री बोकी, पंधेरीमा धाउने
मौका परे सधैँभरि, मलाई भेट्न आउने
पर्खिराख चौतारीमा, भेट्न आउंछु भरे
कहिले सम्म मलाई देख्दा,मुन्टो बटार्ने रे ?
२०६८|४|६
