टिकाकुमारी एउटी दलित हो । गाउँमा दलित हुनुको पुस्तौनी पीडाबाट ऊ पनि आक्रान्त छे । दलित त्यसमाथि केटी उसले बास्तवमा महिला हुनुको पीडा अनि दलित हुनुको पीडा दुवै भोगेकी छे । गरिबी अशिक्षाले चेपिएको त्यो गाउँमा ऊ हिलो भित्रको कमल भएर निस्किएकी छे । सबै भन्छन अवसर पाउदा उसले जीवनमा राम्रो प्रगति गर्छे । सामजिक रुपमा बहिस्कृत हुदा पनि ऊ कहिल्यै डगमगाइन । राम्रो पढ्ने र जीवनमा केही गरेर देखाउने उसको प्रण हो । संघर्षको बावजुद उसले एस.एल सी सकाइ । उच्च शिक्षाको लागि उसले शहर जाने निधो गरि । घरको आर्थिक स्थिति उसलाई सहयोग गर्ने खालको थिएन । सबैले उसलाई नजान सल्लाह दिएका थिए तर उसले मानिन । अन्तमा गाउमा केही परोपकारी निस्किए । उसमाथि दया गरे । अब उसलाई शहर जान र एकमहिना सम्म बस्ने खर्च जुट्यो ।
टिका त्यही पैसा र गाउँको प्रेम बोकेर शहर पसी । कहिल्यै शहर नगएकी टिकाको एक्लो संघर्षको यात्रा पहिलो दिनबाटै शुरु भयो । बस्ने कोठा खोज्नेदेखि लिएर पढ्ने स्कुल अनि त्योभन्दा बाच्नको लागि काम । यी सबै उसले एकैपटक गर्नु पर्ने थियो । उसले गएको दिनदेखि नै विभिन्न स्कुलमा सम्पर्क गरि । एउटा स्कुलमा अनुनय बिनय गरेपछि राम्रै छात्रवृत्ति दियो तै पनि केही त बुझाउने पर्ने थियो । उसले जति सक्दो चाँडो बुझाउने बाचा बन्धन गरि । केही समयका लागि पदने समस्या टर्यो अब अर्को सबैभन्दा ठुलो समस्या काम खोज्नु थियो । उसले आफु पढ्ने स्कुलदेखि सबैतिर कामको लागि निवेदन हालेकी थिई । केही महिना स्वयंसेवा गरे काम दिने भन्नेहरु पनि थिए तर ऊ स्वयंसेवा गर्न सक्दिन थिई । उसलाई बाच्नु थियो । एक महिनाको भाडा बुझाइसकेको ले बस्ने समस्या एक महिनाको लागि टरेको थियो ।
पढ्ने अनि काम खोज्न जाने उसको दैनिकी बनेको थियो । सबैतिर काम खोजी तर सफलता हात लागेन । शहरको प्रतिस्पर्धामा उसको योग्यता केवल एस एल सी पास थियो । उसले कसैको घरमाभन्दा माझ्ने खान पकाउने भए पनि हुन्छ भनेर सोची र खोजी तर समाजले भन्ने गरेको तल्लो जातकी टीकालाई छोई छोई हुने भन्दै काम गर्न पनि दिएनन । उसको स्कुलको तिर्नु पर्ने पैसा अनि घर भाडा नजिकिदै थियो । कयौ दिन उसले खाइन । तर पढाइ लाइ निरन्तरता दिइ रही । उसको घर भाडाको महिना मर्यो उसले आफ्नो समस्या देखाई घर बेटी कुर्न तयार भयो । एक दुइ तिन गर्दै महिना बित्यो उसले पाउने सानो तिनो काम खानको लागि ठिक्क हुन्थ्यो । अब घर बेटी नकुर्ने मा पुग्यो । उसले धेरै आग्रह गरि तर घर बेटीले सुनेन । महिनौ टिकाको आग्रहलाइ मान्दै आएको घरबेटीले अन्तत: आफुलाई कठोर बनायो । राजनैतिक कारणले अस्थिर हुदा कर्फ्यु लागेको अवस्थामा उसले घरबाट निस्किन भन्यो । उसले कर्फ्यु लाग्न छुटेपछी आफु जाने भनी । घर बेटीको सिधा जवाफ थियो मैले कर्फ्यु पछी पनि घर भदा पाउने हैन कर्फ्यु मेरो समस्या हैन तिम्रो हो । उसले टिकाको सामान बाहिर हुत्याइदियो । ऊ धेरै रोई कराई तर घर बेटी पग्लिएन । संगै अर्को कोठामा बस्ने जीवनमान निस्कियो र टिकाको सम्पूर्ण सामान उठायो अनि आफ्नो कोठमा लग्यो । जीवन एउटा अपांग युवक हो । ऊ पनि अत्यन्त प्रतिभाशाली छ । आफ्नो अपांगतालाई आफ्नो जीवनको अवरोध कैले बन्न दिएको छैन उसले । पढ्दै जागिर खादै गरेको असल केटो हो ऊ ।
टिकासँग अर्को कुनै बिकल्प थिएन । जीवनको सहारा उसको लागि स्वयम् ईश्वर प्रकट भए जस्तो भयो । जीवनको सहारा जीवनसहारा नै भयो । जीवनले टीकालाई आफ्नो कोठामा ल्यायो जहिले सम्म इच्छा छ बसेहुन्छ भन्यो र उसलाई खान दियो । टिकाले धेरै दिनपछी पेट भरि खाएकी थिई । जीवन सम्पन्न हैन अनि शारिक रुपले अपांग हो तर उसको हृदय बिशाल रहेछ । टिकाको ठम्याई थियो । हुनत ऊ आफै पनि एउटा कोठमा बस्छ तर उसले टीकालाई ठुलो सहारा दिएको थियो ।
भोलिपल्टदेखि काम खोज्ने दैनिकी फेरि शुरु भयो । एकदिन जीवनले टीकालाई अपांग आश्रममा एउटा काम गर्ने चाहिएको छ तर उसले अपांगहरुको फोहोर पनि सफा गर्नु पर्ने हुन्छ यदि तिमी इच्छुक छौ भने म काम मिलाइदिन्छु भन्छ । टिकाको लागि त्यो स्वीकार्य काम थियो उसले सजिलै मानि । जीवनले फेरि अर्को गुण थपेको थियो टीकालाई । अब दुवै संगै काम मा जान्छन आउछन । टिका खाना पकाउने ,जीवनको लुगा धुने सबै काम गरिदिन्छे । एकदिन बाटोमा कसैले पछाडिबाट भन्छ । ल हेर अपांगको रखैल आइ है । टिकाको लागि त्यो अस्हैय हुन्छ । उसले जीवनलाई आफुअब सक्षम भैसकेकोले कतै अन्तै बस्ने कुरा गर्छे अनि जीवनको सहयोग आजीवन नबिर्सिने कसम खान्छे । टिकाको बारेमा सुनेको जीवनले सजिलै उसलाई आफ्नो इच्छा अनुसार जान भन्छ ।
समय क्रमसंगै टिकाले राम्रोसँग पढाई पुरा गर्छे उसले राम्रो काम पनि पाउछे । उसंगै काम गर्ने केटासँग प्रेममा पर्छे । दुवै एक अर्कालाई ज्यादै माया गर्छन उनीहरु अब बिवाहका लागि तयार छन् । टिकाको संघर्ष पूर्ण जीवनले उसको नया प्रेमी प्रभावित पनि छ । एकदिन दुवै संगै हिड्दै हुन्छन कसैले पछाडिबाट भन्छ “ये हेरत यसको प्रमोसन भएछ अपांगबाट सर्वान्ग्को रखैल भइछ”। टिका र उसको प्रेमी दुवै नबोली घर पुग्छन छुट्टिने बेलामा टिकाको प्रेमीले भन्छ तिम्रो जीवनको यो पाटो मेरो लागि नौलो थियो । मैले तिम्रो बिषयमा धेरै जान्न पाएको रैनारहेछु । तिमी दलित म बाहुन त्यसलाई मैले कैले अवरोध बन्न दिन । तर जब चरित्र को कुरा आउँछ मैले भन्नु पर्छ म तिमीसँग जीवनमा योभन्दा अगाडी जान सक्दिन । हाम्रो प्रेमले यहि पूर्ण बिराम लगायो । म तिम्रो अतित र इतिहास सुन्न इच्छुक छैन तर मलाई लाग्छ हाम्रो भविष्य अब निजिकिनुमाभन्दा टाढीनुमा सुखद छ । जीवनभर तिमीमाथि शंकाले हेर्नुभन्दा मैले तिमीप्रति बनाएको सत्चारित्रको चित्रले हाम्रो जीवन सहज हुन्छ ।
टिका सुनिरही रोइ रही । दुवै छुटिए ।के हरेक पटक सीताले नै अग्नि परिक्षा दिनु पर्ने ? टिका आज पहिलो पटक सोच्दैछे अनि जीवन संगको सम्बन्धको परिभाषा खोज्दै छे । जिन्दगिसँग हार्न लाग्दा जीवन सहारा बनेर आएकै हो ।उनीहरु एक अर्काको सहारा बनेकै हो । अझ टिकाको जीवन परिवर्तन गराउने उही हो । घरबेटीले निकाल्दा जीवनले सहारा नदिएको भए शायद कर्फ्युको बिचमा निस्किदा या त टिका मारिन्थी या बाचेको भए फेरि गाउ फर्किन्थी । टिकाले काम नपाउन्जेल जीवनले आफ्नो कोठामा राखेकै हो । कसैले उसलाई रखैल भन्यो त के भयो ? उसको के गल्ति ? बरु जीवन संगको सम्बन्धलाई परिभाषा दिन नसक्नु टिकाको गल्ति हो । ऊ आफैले आफुलाई दोषी बनाइ ।
बर्षौ अघिको जीवन संगको सम्बन्ध उसको मस्तिष्कमा धमिलो भैसकेको छ । जीवन संगको सम्बन्धका कतिपय पाटा हरु सपना थियो या यथार्थ जस्तो भएर आउदै छ । टिका मान्छे उनीहरु बीच केही त सम्बन्ध थियो र छ जसले आज सम्म उसलाई पछ्याउदै छ । टिकालाइ लाग्छ यो रंगिन शहरमा गैर शहरियाहरुको स्थान छैन । गरिब हरुको चरित्रको कुरा गर्ने यो शहर बतानुकुलित गाडी चढ्नेहरुको गलत चरित्रलाई ठालुहरुको फ्यासन भनेर पचाउछ । अनि गरिबको समस्यालाई चरित्रहीन । टिका गाउ फर्किने निर्णयमा पुग्छे । जानुभन्दा अगाडी जीवनसँग अन्तिम पटक भेट्न पुग्छे । ऊ जीवनलाई आफ्नो पीडा पोख्छे । तिमीलाई शारीरिक रुपले अपाङ्ग भन्ने यो शहर मलाई चारित्रिक रुपले अपांग भन्छ तर म भन्छु यो शहर मानसिक रुपले अपांग छ । मैले यो शहर छोड्ने निश्चय गरे । जीवनले टीकालाई तान्दै भन्छ “तिम्रो अपांगताको म सहारा बन्न तयार छु के तिमी मेरो सहारा बन्न तयार छौ ?” टिकाले मौन स्वीकृति जनाउछे ।
