असारे झरी झैं खसाएर आँसु
पिलाएर घुट्का कसोरी म हाँसु ?
न मैले दिने क्यै थियो साथ हात,
परेली बलेनी भयो एक साथ १
न बोल्नै दिए थे, न गर्नै त पाएँ
न मैले कसैको कुरा सुन्न भ्याएँ,
दिएँ बुद्ध मैले मकुण्डो भिराए,
चुली उच्चलाई भकुण्डो बनाए २
कुनै पुल्पुलिन्थे, कुनै चुल्बुलिन्थे
कुनै चैं मलाई अँगालेर रुन्थे
हरे ! के भनौं ? आफनै सन्तती हुन्
कुनैकाल मेरा, सहारा हुनेछन् ३
उचाले पछारे, गलाए थलाए
मलाई सबैले लतारेर छाडे
बनाएर गोला, कतै डंङ पार्थे
घुएत्रो बनाई, मलाई झटार्थे ४
झसङ्गै म हुन्थें, कुनै शब्द सुन्दा
बडो होसले फेरि हुन्थैं सतङ्ग
छिमेकी म भन्दा, अझै ठुल्ठुला छन्
तिनैले सबैमा गुनैगुन लगा छन् ५
सए एक चार, टिकाए उनैले
नफाब्ने भयो रे, निकालेर फाले
अझै यो नफाब्ने, भयो अंक सात
लिई सन्तनब्बे, गयो चार पुत्र ६
हरे ! सात साल्मै, ठुलै पल्टा खायो
अझै सत्रमा पंच ठाडै उदायो
कि सत्ताइसैले, ठुलै बीज रोप्यो
उचालेर झापा, ठुलै कष्ट खेप्यो ७
यसैले मलाई, सधैं धंधङेंयो
अझै त्रास बोक्तै, दसैवर्ष खायो
सधैं भित्र भित्रै, धुवाँएर आयो
भने सैंतिसैमा चुनावै गरायो ८
दिएको थियो के न पंचायतैले
निदायो छयालिसको अन्त जैले
प्रजातन्त्रको संविधानै बनायो
यही संविधान्ले फुटायो जुटायो ९
अहो ! सन्तउन्नै फसो द्वन्द भित्र
बनाएर खाल्डो, छिरो भित्र भित्र
यसैले जगायो, कि जन्ता उठाई
पुनस्थापनाको, प्रजातन्त्र ल्याई १०
बिपत्ती थपिदै, गयो सत्तसट्ठी
भताभुंग भो संविधानै नलेखी
भनौं कत्ति मैले, अझै मान्छ को र ?
सधैं काम उल्टो नगर्नु भनेर ११
दशाब्दी सिधै, सत्तरी आउँदैछ
कि उल्का यसैले, यहाँ ल्याउदैछ
झनै आउदैछन्, अझै सात अंक
यही सत्तरीले, मलाई पिरोल्छ १२
२०६९।१२।१०
छन्द :- भुजंगप्रयात
गण :- य य य य
