कुरो धेरैबर्ष अघाडिको हो । २०३७ साल फागुन अन्तिम सातातिर हुनु पर्छ । म अघिल्लोवर्ष एस.एल.सी. परीक्षामा फेल भएको र फेरि त्यो साल पनि परीक्षा दिएको थिएँ । परीक्षा पछिको फुर्सदमा भने मलाई भोट खोलातिर घुम्न जाने मन लाग्यो । मेरा दाजु गोपाल चेपुवामा र काका सिम्मा गाउँमा शिक्षक हुनुहुन्थ्यो । दाजु त्यतिबेला घरमा आउनुभएकोले दाजु जाँदा म पनि डुल्नजाने निधो गरेर एकदिन बिहानको खना खाएर हामी दाजुभाइ उकालो लाग्यौं ।
लामो अन्तराल पछि लेख्ने जमर्को गरेको हुनाले धेरै कुराहरू त बिर्सी पनि सकियो होला । हामी घरबाट हिडेका दिन चिचिला पुगेर एउटा घरमा बास बस्यौं । चिचिलाबाट हिडेको दिन साँझमा हामी सिम्मा गाऊँमा काकाको डेरामा बस्न पुग्यौं ।
सिम्मा गाऊँमा एकजना पराजुली बा को घरमा काकाको डेरा रहेछ । निकै रमाइला रहेछन् घरपटिबा । दिनभरिको यात्राले गलाएको भए पनि पटक्कै थकाइको महसुस हुन पाएन । बेलुका अबेरसम्म बात मारेर बसियो, मलाई त आफ्नै घरमा भएजस्तै लाग्यो । हाँस्तै बोल्दै अगेनाको डिलमा आगो ताप्दै बसेको रातको ११ बजेको पनि पत्तै भएनछ । अब सुत्नु पर्छ भनेर बाबैले भने, सुत्ने ठाउँ कता होला भनेर म यता उता हेर्न थालें । भरे त त्यहीँ नै पो (बसेकै ठाउँमा) सुत्नु पर्ने रहेछ । सबै पविार एकैठाउँ आ–आफ्नै ओछ्यान लाएर, एक छेउमा महिलाहरू र अर्को छेउमा पुरुषहरू, मलाई त अनौठो लाग्यो ।
भोलिपल्ट बिहान उठेर बाहिर हेर्दा त वारि पारी नजिकै आएर हिमालहरूले मलाई हेरिरहेका रहेछन् । तल खोंचमा कता कता मधुरो ध्वनि निकालेर अरुण नदी नजानिदो पाराले आफ्नो एकप्रकारको संगीत सुनाइरहेको थियो । पारीपट्टि पहाडमा आ–आफ्नै पाराका मनोरम छटा प्रदर्शन गर्दै, झरनाहरू झरेको देख्दा मेरो मन फुरुङ्ग भैरहेकोबेला दाजुले — “लु ! अब हिड्नु पर्छ” भन्दा पो म त झसङ्ग भएँछु । अघिल्लो दिन झिसमिसेमै उठेर हिडेको आज पनि उसै गरी झोला बोकेर लुखुर लुखुर दाजुभाइ बाटो लाग्यौं ।
बिहानको समय लेखाली वनपाखा चिसो वातावरण हामी काकालाई त्यहीं सिम्मा गाउँमा छाडेर बाटो लाग्यौं । भिरको बाटो सानो गोरेटो तल हेर्दा भिर मुनि सानो गाउँ देखिन्थ्यो । त्यो गाउँको नाम उवागाउँ रहेछ । त्यही गाउँहो गौरिमान राईको भनेर दाजुले भन्नुभयो । गौरिमान राई जिल्लामा नाम चलेका नेता थिए । हामी अँझै अघि बढ्नेक्रममा लाग्दै थियौं, दायाँबायाँ हेर्दे बाटो कट्ने क्रममा यसो उँभो भिरतिर मेरो आँखा पुगेछ त्यहाँ त झन अचम्म लाग्दो दृश्य त्यो पहरो हो कि कालो पाटी हो ? हाम्रा स्कूलका सरहरूले लेख्ने पाटीभन्दा त सयौं गुनाभन्दा पनि अँझै ठुलो त्यो पाटी हो या के हो, म त कल्पना गर्न पो थालेंछु । त्यस ढुंगालाई सजिलो ठाउँमा उत्तानो पारेर राख्नु हो भने एउटा गतिलै बिमानस्थल बन्ने थियो होला । खै यो प्रकृति पनि अचम्मको रहेछ त्यत्रो ढुंगालाई किन त्यहाँ राखेको होला ? यसरी नै सोच मग्न हुदै हामी बाटो कट्नमा नै ब्यस्त थियौँ । नागबेली आकारमा एकोहोरो सुसेली हाल्दै अरुण नदी आफ्नै सुरमा कहिले लुक्दै र कहिले देखा पर्दै आफ्नो गन्तब्यतिर हुइकिरहेको थियो ।
कतै भिर पहरा त कतै नदी किनार जंगल, खोल्सा, साँगुरा बाटाहरू उँभो हेर्दा सानु लाम्चो आकास यस्तै यस्तै बाटो पार गर्दै हामी पापद्वार र धर्मद्वार भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ पुग्दा खेरि त मलाई केही डर पनि लाग्यो अब यहाँबाट कसरी जाने हो भनेर । म बाटैमा थुचुक्क बसें । दाजुले पनि आफ्नो झोला बिसाउनु भयो र त्यो ठाउँको कथा भन्न थाल्नु भयो – “पहिले पहिले यो बाटो यत्तिको पनि थिएन, त्यो बेलामा माथिबाट भोटेहरू सदरमुकाम झर्थे फर्किन्दा खाद्यन्न तथा लत्ता कपडाहरू किनेर ल्याउँथे भारी ठुलो तथा गरौँ हुन्थ्यो । यही बाटो भएर जानु पर्दा कति त यहाँबाट लडेर मर्थे अरे । मर्ने चैं पापी ठहर्थ्यो र जसले बाटो पार गरेर घर पुग्थ्यो त्यो चैं धर्माती ठहर्थ्यो ।”
यसरी त्यस ठाउँलाई पापद्वार धर्मद्वार भन्ने गरेको अरे ।
दुईतिर अग्ला अग्ला पहाड र बिचमा अरुण नदी तल खोँचमा कहिले लुक्दै कहिले देखा पर्दै, हामीभन्दा बिपरित मार्ग लिएर हिडिरहेको हुन्छ । आकशतिर फर्केर हेर्दा दुईपटिको पहाडको बिचमा सानो लाम्चो आकाश, साँच्चै भन्नु हो भने काठमाण्डूको असनको गल्ली जस्तो लाग्ने । तर यहाँको वातावरण र असनको वातावरण बिचार गर्दा आकाश र पातालको अन्तर छ । किनभने यहाँ भनेको प्रकृतिले आफै रचना गरेको एकान्त पहाडको मनोरम दृश्य, असन भेनेको मान्छेको कोलाहल भित्रको कृत्रिमता अनि थियो यहाँ प्रकृति सँगको जटिल प्रश्नै प्रश्नको गुजुल्टो ।
यसरी खोला, खोल्सा, जंगल, पहाड र भिर पहरा चट्टान पार गर्दै प्रकृतिको सुन्दरता सँग, अरुण नदीको सुसेली सुन्दै हामी यात्रा गरिरहेका हुन्छौँ । पेटमा भोक लागिरहेको थियो, झण्डै मध्यान्न हुनै लागेको थियो होला, गोला भन्ने ठाउँमा पुगेर त्यहाँका सरहरूको डेरामा पुग्यौं । त्यहाँ एउटा प्रहरी चौकी र एउटा विद्यालय रहेछ । शिक्षक र प्रहरीहरू बसेर तास खेलिरहेका थिए । हामी चैं त्यहाँ भात पकाएर खान लाग्यौं ।
खाइसकेर हिड्न लागेका मात्र थियौं एकजना नयाँ मान्छेको उपस्थिति भयो । उनिरहेछन् नयाँ मान्छे साथी कोही नभएर हामीलाई पछ्याउदै आएका, पहिलो चोटि रिदाकको विद्यालयमा सरुवा भएर हाजिर हुन हिडेका शिक्षक दुर्गाध्वज राई । उनी पनि हामीसँगै बाटो लागे अब भने दुईबाट तीन भएर बाटो लाग्यौं ।
हिडेको केहीबेरमा हामी अरुण र बरुण नदी मिसिएको ठाउँमा पुगेछौं । त्यहाँ अलिकति बगर रहेछ । बगरमा सधैं माघे सग्रातीको अघिल्लो दिन मध्यान्न देखि रातभर मेला लाग्दो रहेछ, ठाउँ ठाउँमा ढुंगाका ओढारहरू रहेछन् । मेला भर्न आउने यात्रुहरू रातभर नाचगान गरेर बिताउँदा रहेछन् र आराम गर्नु परे त्यही ओढारमा सुतेर रातबिताउँदा रहेछन । बिहान भएपछि सबै यात्रीहरू पहिले बरुणमा र त्यस पछि अरुण नदीमा नुहाउछन् । यसरी अरुण र बरुणको संगमस्थलमा मकर नुहाउादा पुण्य कमाइन्छ भन्ने हाम्रो धार्मिक मान्यता रहेछ । अँझ छोरा नभएका दम्पतिले त बरुण नदीमा गएर पुत्र प्राप्तिको वर मागेमा, पुत्रप्राप्तहुन्छ भन्ने बिश्वस अँझै पनि कायमै रहेको पाइन्छ ।
हामी बगरको पल्लो छेउमा पुग्दा त्यहाँ त बरुण नदीले झ्याप्पै छोप्ला जस्तो गरेर झम्टेर आफैतिर आएको जस्तो गरी पहाडको कन्दराबाट फुत्त हाम्फालेर झरेको दृश्य देख्दा डर पनि लाग्यो एकचोटि त । त्यही ठाउँबाट पुल थापेको रहेछ । पानीको छिटाले सधैं पुल भिजिरहेको हुने र लेऊ लागेर चिप्लो भएको रहेछ । एकप्रकार त त्यो पनि अचम्म लाग्दो कुरा नै हो । पुलबाट उँधो हेर्दा सलल्ल बगेको कन्चन पानी हेर्दा हेर्दै अरुणको धुर्मैलो तथा धमिलो पानीमा गएर मिसिएको दृश्य त्यो पनि बरुणको पानी प्रष्टै छुट्टिएर छेउ लाग्दै तलसम्म बगेको देखिन्छ । धार्मिक दृश्टीले पनि पवित्र मानिने बरुण यसको शिर कहाँ छ भनेर खोज्ने हो भने धेरै टढा गैरहनु पर्दैन मात्र मकालु हिमाल पुगे भैहाल्छ । कुनै धार्मिक ग्रन्थमा बरुण नदीको बारेमा के लेखेको छ मलाई थाहा छैन ता पनि बरुण देवताको बारेमा भने केही पौराणिक कथा भने नसुने होइन ।
बरुणबाट अघि बढ्ने क्रममा हामी एउटा ठुलै पहिरामा पुग्यौं । त्यो पहिरो त्यहाँको स्थायी पहिरो रहेछ जो बारै महिना बगिरहने, माथिबाट ढुंगा लढिरहने । हामी त्यहाँ निकैबेर बस्यौं । अरु पनि बटुवाहरू त्यहाँ आइपुगे तिनैको सहायताले हामी पहिराबाट पार भयौं । साँझ झमक्क पर्दा हटिया पुगियो र त्यहाँ पनि हामी शिक्षकहरूकै डेरामा बास बस्यौं । हामी हटिया पुग्दा झमक्क साँझ परेको थियो त्यहा वरिपरिको वातावरण कस्तो थियो पत्तो भएन । त्यति बेला त्यहाँका शिक्षक खै को हो ? नाम पनि मैले बिर्सिएँछु ।
भोलिपल्ट बिहान पुनः हाम्रो यात्रा शुरुभयो । हटिया गाउँ कस्तो थियो हेर्न मन लाग्दा लाग्दै पनि छाडेर हिड्नु पर्यो । मैले जाने अनुसार त्यहाँ धेरैवटा सरकारी कार्यालयहरू छन । त्यहाँ नजिकै तातो पानीको मुहान पनि छ । या सबै हेर्न नपाइकन नै गाउँ छाडेर उकालो लाग्यौँ । माथि पुगेर उँधो हेर्दा हटिया साँच्चै कुनै बिकसित शहरभन्दा कम छैन जस्तो देखिन्थ्यो । बाक्लै गुजुमुज्ज घरहरू एकै खालका, त्यो हिमाली क्षेत्रको कुनै दुर्गम गाउँ हो जस्तो नै नलाग्ने । माथिबाट हेर्दा त्यो जस्तो देखिन्थ्यो तर त्यहाँ त्यस्तो भने थिएन ।
अल्मलिएर हाम्रो काम नबन्ने भएको हुनाले हामी आफनो यात्रालाई बेलैमा चेपुवा पुर्या एर टुङ्ग्याउने हिसाबले पाइला लम्काउनुभन्दा अर्को बिकल्प नै थिएन । भिर पहरा पार गर्दै ४/५ घण्टा हिडेपछि हामी चेपुवा गाउँमा पुग्यौं । त्यहाँ पुग्दा खेरि करिब ११ जति बजिसकेको थियो होला । सरासर हामी दाजुको डेरामा गयौं, त्यहाँ पुग्दा एकजना सर जीवनाथ खनाल हुनुहुदो रहेछ । उहा एकलै बसिरहनु भएको देख्दा आज छुट्टिरहेछ क्यार सर पनि घरमै हुनुहुदो रहेछ भन्ने लाग्यो । तर त्यसो होइन रहेछ । त्यहाँ बिद्यार्थी नै आउदा रहेनछन् र पो त्यसरी बस्नु भएको रहेछ सर त ।
एकछिन पछि ३ जना विद्यार्थी त्यहीँ आएर एकछिन पढेर गए त्यो दिनको पढाई त्यहिरहेछ । अपरन्हतिर चेपुवा गाउँ पंचायतका प्रधानपंच र एकजना मेरै साथी रुद्रबहादुर राई आइपुगे । प्रधानपंचको नाम खै के हो यकिन चैं भएन सायद छिदाआङजुक भोटे जस्तो लाग्छ, समयको लामो अन्तराल पछि यात्रा बर्णन लेख्न लागेको हुनाले गर्दा धेरै कुराहरू त बिर्सी पनि सकियो नै । बेलुकीपख हामी प्रधानपंचका साथमा गाउँ घुम्न गयौं । त्यो पनि गाउँ त निक्कै रमाइलो लाग्यो । कुनै शहरभन्दा कम्ति नलाग्ने बाक्लो बस्ती, एकै खालका घर र वारि र पारी हिउँ सेताम्मे भएका डाँडाहरू अति मनमोहक तथा सौन्दर्यले भरपुर बस्ती । आखिर त्यहाँ अधुनिक सुबिधा भनेको चैं केही पनि छैन तैपनि रमाइलो र मनमोहक लाग्दो रहेछ ।
मेरो साथी रुद्रबहादुर त्यहीं चेपुवा पंचायतमा परिवार नियोजन को कार्यकर्ता रहेछ । भोलिपल्टको दिन उसले आफ्नो फिल्ड अन्तर्गत रिदाक जाने योजना बनाएको रहेछ । अब गोला देखिसँगै आएको सर पनि रिदाक हाजिर हुन जानुपर्ने र चिनेजानेको साथी भएकोले मलाई पनि साथीले जाऔँ भन्यो र हमी ३ जना रिदाक जान भनेर बाटो लाग्यौं । चेपुवाबाट हामी च्याम्ताङ हुदै रिदाक सम्मको यात्रामा संलग्न भयौं । अघिल्लो दिन हटिया देखि टाढा हुँदै गएको अरुण नदी फेरि नजिकिदै थियो । हामी किमाथांका जाने बाटो छाडेर च्याम्ताङ देखि नै अर्को बाटो समातेर ओरालो झर्न थाल्यौं । जति तल झर्यो उति बाटो खिइदै जान थाल्यो, भिरबाट कतै बुटामा समातेर झुन्डिदै ओर्लनु पर्ने त कतैभित्तो मात्र समातेर हिड्नु पर्ने त्यो पनि चिप्लो उत्तिकै मेरो त डरले गोडा पनि लुग लुग काम्न थाले ।
शिक्षक दुर्गाध्वज राई यहाँभन्दा उता पनि यस्तै बाटो छ भने फर्कौं भन्न थाले भने म त फर्कन पनि सक्ने स्थितिमा थिइन । आउन त आइयो अब फर्किने पो समस्या हुने भयो ।
एकछिनसम्म भिरको बिचमा अम्लिसोका झाङमा समातेर सल्लाह गरेपछि फेरि बाटो लाग्यौं । साथी रुद्रबहादुर त पहिले पनि त्यो बाटो हिडिसके हुनाले हामीलाई राम्ररी नै गाइड गर्दै दुवैजनालाई अरुण नदीसम्म पुर्याए । अरुण नदीमा पुगेपछि त झन् मेरो त सोतो पुत्लो सबै नै हरण भयो । त्यहाँ त अरुण नदी पनि सारै उत्ताउलिएर उर्लिरहेको र कर्कस ध्वनि निकालेर चिच्याइरहेको रहेछ । हाम्रो त बोलिचाली गर्ने सरसल्लाह गर्ने कुरै रहेन एक अर्काले बालेको सुन्नेअवस्थानै थिएन सबै अरुणनदीको हल्ला नै काफि थियो । अबको यात्रा भने हाम्रो अरुण नदी तरेर उकालो लाग्ने हो तर त्यहाँको पुल हेर्दा फेरि अर्को सातो उडिसकेको थियो । बाँसका चोयाबाट निर्मित पुलमा एउटा घोचामा टेकेर तर्नु पर्ने त्यो कहिले बनाएको हो चोया मक्किएको भए त्यसमा पनि जिन्दगी धराप । त्यस्तो पुलमा को पहिला तर्ने अपसमा इसाराको भरमा सल्लाह गरी मरे पनिसँगै मर्ने हिसाबले तिनै जना एकैचाटी पुलमा प्रवेश गर्यौं । उम्लिरहेको दुध जस्तो देखिने अरुण नदीको पनीको चिसो हावाको वहावले गर्दा पुल त लिंगेपिङ मच्चिए झै मच्चिन थाल्यो । त्यस्तो अवस्थामा हाम्रो मुटु कस्तो भयो होला ? तिनै जनाको बोल्ने सहास थिएन तै पनि बल्ल तल्ल पुल तरियो ।
सबैको मुख सुकेर च्यापच्याप भएको थियो, बोल्ने हिम्मत कसैको पनि थिएन । म चैं अलिकति पानी खान पाए पनि हुन्थ्यो भन्दै थिएँ साथी रुद्रले त्यही बाटाको छेउमा भएको एउटा झार टिपेर ला ! यही खा; भनेर दिए । मैले त्यसलाई चपाएर रस चुसें मुख रसाएर आयो । उनीहरूले पनि त्यही खाए ।
हामी अलिक माथिगएर एउटा ढुंगामा बस्यौं र अघि झरेको बाटो निहाल्न थाल्यौं, बाटाको त नाम निसाना पनि देखिएन तर देखियो फेरि अर्को आश्चर्य । साँच्चै प्रकृति त त्यहाँ पो रहेछ । बिहानको झुल्के घाममा पश्चिमको पाटातिर फर्केर हेर्दा रंगिन झरनाहरू देखिदा रहेछन । इन्द्रेणीको माला लगाएर पहराको छहराले आफ्नो सौन्दर्य प्रदर्सन गर्दा नलोभिने सायद संसारमा कुनै प्राणी नहोला जस्तो लाग्दैन । झलमल्ल भएर सप्तरंगी इन्द्रेणी झल्किरहेको दृश्य, त्यो हिमाली वतावरण सधैं नै त्यही बसेर हेरिरहुँ जस्तो लाग्ने प्रकृतिकी साँच्चै सुन्दर पुतली त्यहाँ कसरी स्थापित भयो होला ?
निकैबेरको उकालो काटेर हामी बल्ल बल्ल रिदाक पुग्यौं । जाँदा जाँदै बाटैमा विद्यालय रहेछ । त्यहाँ एकजान गोपाल अधिकारी सरले पढाइरहनु भएको थियो हामी सरासर त्यहीँ गयौं र सरलाई नमस्कार गरेर चौरमा थचक्क बस्यौं । रुद्रले साथमा भएका हमी दुवै जनासँग परिचय गराए । तपाईंहरू गलेर आउनु भएको छ भोक पनि लागेको होला, म डेरामा गएर खाने कुराको प्रबन्ध मिलाउाछु भनेर हामीलाई त्यही छाडेर सर हिड्नु भयो । हामी ३ जना चैं विद्यार्थीहरूलाई पढाउन थाल्यौं । मैले ३ कक्षामा गएर नेपाली किताब मागें र भने, ल ! के पढ्ने हो अब ? एउटाले यो सार ! यो भन्दै “कमिलाको ताँती” भन्ने पाठ देखायो । त्यहाँ त केटाकटीहरू हमीले बोल्ने भाषा अलिक नबुझने खालका रहेछन् । एकदुई जना मात्र नेपाली भाषा बोल्ने तै पनि दुख्खले अप्ठ्यारो मात्र बोल्दारहेछन् । कक्षा ३ मात्र भएको स्कूल थोरै केटाकेटी भएपनि नियमित आउँदा रहेछन् । जम्मै १८ घर मात्र भएको गाउँमा त्यस्तै १२/१३ जना विद्यार्थी धेरै आएका भन्ने मान्नु पर्छ ।
साथी रुद्रको परिवारनियोजन सम्बन्धी प्रचार गर्ने र अस्थायी साधनको बितरण समेत गर्नुपर्ने काम रहेछ । भोटे भाषामा बोल्दा मात्र बुझने रहेछन् । महिलाहरू त झन् नेपाली बुझदा नै रहेनछन् । साथी त भोटे भाषा पनि राम्ररी नै बोल्न जान्ने, म भने वाल्ल परेर सुनिमात्र रहने । कति महिलाहरूसँग त झगडा नै गरे झै गर्थे तर होइन रहेछ ।
रिदाकबाट करिब आधा घण्टाको बाटो उकालो जाने हो भने चीनको सीमाना पुगिने रहेछ तर सेताम्मे भएर हिउँले ढाकिराखेको थियो, हामीले त्यहाँ जाने आँटै गर्न सकेनौं । तल गाउँबाट हेर्दा सेतो खम्बा जस्तो देखिन्थ्यो त्यो नै सीमानाको पिलर हो भन्थे । त्यो दिन हामी त्यहीँ रिदाकमा शिक्षकहरूसँगै बास बस्यौं । भोलि पल्ट पनि बिहानको खानापिना गरिवरी सरहरू स्कूलतिर लागे हामी भने छुम्सुर जाने भयौं ।
साथी रुद्रबहादुर र म रिदाकबाट बाटो त लाग्यौं तर त्यहाँबाट छुम्सुर जाने बाटो ऊ पनि कहिल्यै नहिडेको, अलिक पर पुगेपछि बाटो दुईतिर जाने ठाउँ आइपुग्यो । त्यहाँ नजिकै एउटी बुढी आमै बसिरहेकी रछिन् हामीले छुम्सुर जानेबाटो कुन हो । भनेर साधेको त उनले “मिस्सीबे” भनिन् । अनि साथीले भोटे भाषामा बोल्न थाल्यो खै के के भन्यो, मैले त वास्ता पनि गरिन बुझे पो वास्ता गर्नु र । भरे त आमैले देखाएको बाटो गलत रहेछ, दुख पाएपछि मात्र थाहा भयो । उनले बताए बमोजिम हामी बाटो लागेका पहिले त सानो गारेटो त थियो बाटो यस्तै होला भनेर गयौं तर केहीबेर हिडेपछि जंगलमा बाटो हरायो । बाटो खोज्दै निकैबर मालिंगाको घारीमा काँडाले कोर्दै कोर्दै यता र उता त्यो निर्जन स्थानमा घुमिरह्यौं ।
धेरैबेर वनमा भौतारिएपछि मात्र बल्ल बल्ल एउटा गोहो फेलापर्यो । बाटो भेटियो भनेर खुसीहुँदै हामी त्यही बाटो पछ्याउदै गयौं । केहीबेर हिडेपछि त बाटो गएर भिरमा टुंगियो । अब भने हामी पर्यौं बिलखवन्धमा । त्यो हामी हिडेको बाटो त जंगली जनावर हिड्दा बनेको गोहो रहेछ भन्ने अनुमान लगाएर फेरि अलिक वरसम्म फर्केर एउटा ढुंगामा बसेर आराम गर्यौ । आराम गर्ने क्रममा यता उता हेर्दै गर्दा तल अरुण किनारमा एउटा फाँटिलो चौर देखापर्यो । अब त्यो ठाउँमा जाऔँ भनेर सल्लह गर्यौँ र बाटो खोज्न लाग्यौं, नभन्दै अनुमान अनुसार नै हामीले एउटा अर्को गारेटो फेला पार्यौं । भिरबाट मलिंगो घारीमा घरि झुण्डिदै घरि पन्छाउँदै घरि चिप्लेटी खेल्दै बल्ल बल्ल फाँटमा झर्यौं ।
त्यो मानव सुन्य स्थान, अचम्म लाग्दो कसले बनायो होला त्यस्तो ठाउँमा यो रमणिय पार्क ? यो प्रकृति पनि बिचित्रको छ; त्यस्तो मानव सुन्य बस्तीमा यस्तो सुन्दर स्थान किन र कसरी भयो होला ? कि यो मान्छेले नै निर्माण गरेको वनभोज स्थल पो हो कि भन्दै अघिबढ्दै थियौं । चौरको पल्लो छेउमा कुनै जनावर सुतिरहेको देखियो त्यो के होला ! कि भालू हो ? हाम्रो त एकचोटी होस हवास नै गुम हुन लागेको थियो । हाम्रो दच्को पाएर त्यो जनावर जुरुक्क उठेर हमीतिर हेर्न लाग्यो । उडिसकेको होस तुरुन्तै फर्किएर आयो अनि लामु सास फेरेर ढुक्कले गन्तब्यतिर लाग्यौं । याक थियो त्यो जानवर हामीलाई देखेर बुर्कुसी मार्दै हाम्रो अघि अघि दौडियो अलिक पर्तिर एउटा खोल्सो रहेछ एकैछिनमा त्यो याक पारिपट्टि पुग्यो । नौला मान्छे देखेर भागेको हुन सक्ने अनुमान लगाएर हामी पनि त्यतैतिर जाँदै थियौं ।
हामी खोल्सा पारि पुग्दा चौंरीको बथानै रहेछ तर ती सबै चौंरीहरू एकमुख लगाएर हामीलाई हेर्न थाले । ठुल्ठुला याकहरू अनि नाक तथा बाच्छा बाच्छी गर्दा करिब ४० देखि ५० सम्मको संख्यामा त्यहाँ चौंरीहरू थिए होला । लामा साथै तिखा सिङ भएका त्यत्रा जनावरहरू हामीलाई हान्न आए भने बाच्ने उपाय नै नहुने । कतै गोठालाहरू पनि छन् कि भनेर यता उता हेर्यौं तर कतै पनि मानवको चालचुल नै थिएन । हामी हिड्ने बाटो अब चौंरीको बथानले छेकेको थियो ।
मेरो मनमा फेरि अलिकति डर पस्यो । अब साथीले भने ढुंगाले हानेर चौंरी धपाउनु पर्छ भन्यो । स्वच्छन्द रुपमा वनमा विचरण गरेर आनन्दकासाथ यस्तो रमणिय स्थलमा रहेका जनावरलाई ढुंगाले हान्नु हुदैन भन्दै मैले अस्वीकार गरेको मात्र के थिएँ उसले त ढुंगाटिपेर हान्न शुरु गरीहालो । कतैबाट गोठालाहरूले देखेभने हामीलाई केभन्लान् ? भनेर पनि मैले अस्विकार गरेको थिएँ ।
साथीले त लगातार ढुंगाहानि नै रह्यो । ढुंगा हान्न थालेपछि चौंरीहरू सबै भागेर भिरतिर उक्लिए । मैले त बाख्रा मात्र भिरमा हिडेको देखेको थिएँ त्यो दिन गाई पनि भिरमा चढेको देख्दा मलाई अर्को अचम्म लाग्यो । अब भने हामी गन्तब्यतिर हान्नियौं । चौरको पल्लो छेउमा पुगेपछि एउटा गोरेटो फेला पर्यो । त्यही गोरेटाले हमीलाई अरुण नदीसम्म पुर्यायो । हामी त्यहाँ पुग्दा दिनको १ बजेको थियो । अरुण नदीको कर्कस आवाज दुधजस्तो सेतो उम्लिरहेको अवस्था अब हामी पारी जानु पर्ने, यता उता हेर्यौं पुल कतै पनि देखिएन । हामी पुलको खोजिमा लाग्यौं ।
नदीको किनारै किनार अलिक मास्तिर जाँदा एउटा पुल देखा पर्यो । अहिले पनि मलाई त्यो पुल तरेको संझिदा आङै सिरिङ्ग हुन्छ । उँभोबाट हुत्तिएर आएको अरुण त्यसमा पनि कहाली लाग्दो अनकण्टार ठाउँ । हामी २ जना बाहेक अरु कोही पनि नभएको वातावरण दायाँ बायाँ कतै केही नदेखिने अवस्था । आपसमा बोल्न कुरा गर्न पनि नसकिने कान बन्द भैसकेको । हामी पुलको नजिकै पुगेर उभियौं । एउटा बढेमानको ढुंगो जुन ढुंगामा नदी आएर ठोक्किएको र दुईपट्टि बाँडिएको । त्यहाँ हेर्दा खेरि नै सातो जाने खालको दृश्य, पुल चैं त्यही ढुंगामाथिबाट रहेछ । पुरानो चोयाको डोरीमा ठाउँ ठाउँमा मात्र सानो चोयाको त्यन्द्रो लाएर टेक्ने ठाउँमा एउटा सानो बाँस लगाएको रहेछ । हामी दुवैजना एकैचोटी त्यो पुलमा प्रबेश गर्यौं । बिचमा पुगेर त्यो ढुंगामा आर्लेका मात्र के थियौं, दक्षिण तिरको हावाको झोक्काले पुललाई ढुंगोभन्दा पाँच मीटर पर पुर्यायो । हावाको बेग निकै कडा थियो झण्डै झण्डै हामीलाई समेत उडाएको । आपसमा अँगालो हालेर त्यो ढुंगा माथि निलो कालो भएर बसिरह्यौं ।
करिब आधा घण्टा पछि मात्र हावा रोक्कियो । त्यतिबेलासम्म त हाम्रो होस हवास झण्डै झण्डै उडिसकेको थियो । बल्ल बल्ल पुल हामी बसेको ढुंगामाथि आयो । हतार हतार गरेर दुवैजना पुलमा प्रबेश गर्यौं । हामी पुलमा चढ्ने बित्तिकै फेरि हवाको अर्को झोक्काले हामीलाई पिङ खेलाउन थाल्यो । म कहिल्यै दशैं तिहारमा पनि पिङ नखेल्ने मान्छे त्यो दिनको पिङभने मेरो जीवनमा कहिल्यै पनि नबिर्सिने क्षण भयो । पुलको डोरीमा दरोगरी समाएर आफ्नो शरीरलाई सन्तुलनमा राखेर हामी हुइहुइ भैरह्यौं । हामी त आत्तिएर आपसमा बोल्ने कोशिस समेत गरेनछौं । समय कतिबेर भयो, हामी कतिबेरसम्म मच्चिरह्यौं; थाहा नै भएन कतिबेला हावा बन्द भयो, हामी कसरी पारी पुग्यौं । मलाई अझै पनि थाहा छैन ।
पारी पुगिएछ, साथीले सुइ सुइ पारेको सुनें अनि मात्र पो थाहा भयो बाँचेर पारी तरि सकिएछ भन्ने कुरा त । साई साई र सुई सुई गरी साथी नाच्न थाल्यो म पनि अलिकति उफ्रिएँ । ज्यान बाँचेको खुसी मनाइराखेर हामी त्यहाँबाट उकालो लाग्यौं र छुम्सुर पुग्यौं । छुम्सुरमा जम्मा चौध घरमात्र रहेछन् । एक दुई घर डुलेर साथीले परिवार नियोजनका साधनको बितरण गर्यो । त्यहाँभने अस्थायी साधन प्रयोग गर्ने महिलाहरू रहेछन् । हामीलाई भोकले सारै सताइरहेको थियो खानेकुरा केही पनि नपाइने भएकोले, हामी केगरौं र कसो गरौं भएका थियौं । केही त पाइएला भनेर एकदुई घर डुल्यौं कतै पनि केही छैन । अब हिडौं भनेर बाटो लागेका थियौं लास्ट घरहो यहाँ चैं केही छ कि भन्दै साथीले सोध्यो नभन्दै त्यो घरकी महिलाले के भनिन् साथी बसिहाल्यो ।
“के खानेकुरा पाइयो ?” — मैले सोधें ।
“जाँड छ अरे” — उसले भन्यो र घर भित्र पस्यो ।
म चैं बाहिरै बसिरहें, भोटिनी दिदी जाँड छान्न लागिन । मैले साथीलाई बोलाएर भने “मकै भुट्न लाउनु पर्छ” — भनेपछिमात्र उसले सम्झिएछ मैले जतँड नखाने कुरा, र हतार गएर भित्र कुरा गर्यो ।
“ल आफै भुटेर खा है” दिदीले भनिन् मकैको घोगा नंग्याएर छोडाएर हामी आफैले मकै भुट्यौं । साथीले जाँड र मकै खायो मैले मकै र चिसो पानी खाएँ । हामी छुम्सुरबाट हिडेर अँध्यारो भएपछि मात्र चेपुवा आइपुग्यौं ।
चेपुवाबाट हिडेको दिन म सिम्मा गाउँमा काकाको डेरामा बास बस्न आइपुगें र अर्कौ दिन खाँदबारी आइपुगें । त्यो दिन म खाँदबारी मै बसेर अर्को दिन पनि बेलुकामात्र आफ्नो घर आइपुगें ।
First published : 2013-07-09 01:54:16 +0900

साह्रै रोचक लाग्यो । बिचमा
साह्रै रोचक लाग्यो । बिचमा पाठकलाई पनि मन सिरिंग-सिरिंग पार्ने वर्णन रहेछ ।
रचना पढिदिनुभएकोमा धन्यवाद
रचना पढिदिनुभएकोमा धन्यवाद !!
रमाइलो लाग्यो
कास तपाइको साथ मा camera भएको भए !!!!! मन नै छुने रमाइलो यात्रा
maja aayo
Maja aayo padhda kheri
kaka darsan
sarai ramro lago hau kaka tapaiko bhot yaatra , yeti maan layera padheki maile , kunai baki rakhina .. ma manebhanjyang bhanda mathi ta gayeko chhaina tara , tapaiko tyo bela ko yatra le ma gaye jastai mahasus bhayo,
tara ahile ta bikas bhaisakeko hola ni ..