हिमालमा छ चौंरीगाई पानी खाने ठाउँ
तराइमा हात्ती पाल्ने हाम्रो एउटा गाउँ ।
हिमालका जडिबुटी तराइमा जान्छन्
तराईका अन्न लगी हिमालीले खान्छन् ।।
हिमालका डाँफे चरी शिरमाथि नाच्छन्
तराईका मयूर आफ्नै शोभा देखी बाँच्छन् ।
पूर्वीया चियापत्ती पश्चिम तिर लान्छन्
पश्चिमेली स्याउ लगी पूर्वेलीले खान्छन् ।।
कतै कोही भोका भए नियालेर हेर
तिनका लागि अघि बढ भावी नै बनेर ।
सर्वाहारा वर्गलाई बनाई देऊ घर
भेद भाव नगरौं है जती, वर्ग, थर ।।
चारै तिर चारै सूर पाले बसौं बरु
बगैंचामा नपसुन् है कुनै पशुहरु ।
पानीताल जम्यो भने डिल खोली फालौं
सुख्खा पर्दै आयो भने फेदमा पानी हालौं ।।
बगैंचालाई टुक्रा टुक्रा अंश लायों भने
रेखदेख नपुगी होला यो बगैंचा बिग्रने ।
एका तिर पहिरो जाला अर्कोतिर खोला
वन जन्तु पस्यो भने नासै पारी देला ।।
यौटै भित्री बारी हाम्रो यौटै बगैंचामा
सबै फूल जोगाउन गरौँ अब धामा ।
जस्तो मन पर्छ उस्तै फूल हामी रोजौं
बगैंचा नै ध्वस्त पार्ने विचार नखोजौं ।।
कसैलाई उकास्ने र कसैलाई मार्ने
गर्नु हुन्न कसैलाई अन्यायमा पार्ने ।
यस्तो बानी गर्यौं भने देश बन्छ राम्रो
समदर्शी बन्यौ भने यही हो धर्म हाम्रो ।।
