अतीतका कथा र ब्यथाको कहानी बिर्सिएर
स्वर्गको काल्पनिक सपनालाई
बर्तमानको तराजुमा ढलपल ढलपल
घरि दायाँ घरि बायाँ ढल्किएको
चारबर्षे स्वर्गको यात्रा
अरु बाँकी ऐँझेरू पलाए झैँ,
टाँसिएर गरेको सहकार्य
बाह्र बर्षे वनबासको यथार्थ
आयातित नयाँ नेपालको चित्र
यो सपना हो या काल्पनिक स्वर्ग
अनिकालमा भोकको बिस्कुन भने झैं
वनका जनावरहरू, एक्कासि शहरमा पस्ता
अत्तालिएर लामो सुस्केरा हाल्दै
निद्राबाट ब्युझिए झैं
उच्छ्वास छर्दै
उफ् …..
यही हो त ! नयाँ नेपाल ?
२०६९ । १२ । २८
इटहरी —५ सुनसरी
