Skip to content


सदियौंदेखि एकतमासले
सुसाइरहेछ कर्णाली
बगेर कहाँ मिसिन्छ
यो आँसुजस्तो कर्णाली –
नाम्लाको डामले पिल्साएको तालुमा
फेरि पनि कटमिरो सपना
देखिरहन्छ कर्णाली ।

तुइनमा टाँगिएको जीवन
कतिखेर छप्लङ्ग खस्छ भुमरीमा
हेलिंदाहेलिंदै विश्राम पाउँछ
कतिखेर दुखिया जीवनले –
गधाजस्तो लादिएर पनि
आधा पेट भर्न नपाउनुको
चिन्ता हुने छैन उसलाई
कदापि अब ।

हटेरुको लर्को उस्तै छ
उस्तै छन् आङभरि अभावका नीलडामहरू
क्षयरोग, हैजा र इन्ल्फेन्जाले डसिरहेछ
गोमनले झैं
तर पनि, सपनाको मलामी जाँदैछन्
एकहूल किशोरीहरू ।

सबैले हेला गरेर छाडेको
टुहुरो बेबारिसे बच्चाझैं
किन कसैको आँखा पर्दैन
के कर्णाली नेपालको नक्सामै पर्दैन।

पाँचकिलो चामलका लागि
चार दिनको बाटो हिंडेर पनि
रित्तो हात फर्किनुको पीडा
भोगिरहेछ कर्णाली ।

आयोडिनको कमीले गलगाँड लिएर हिंड्दा
नेपाल सरकार
गररिहेछ निर्लज्ज विदेश भ्रमण ।

बाँच्नका लागि संघर्ष गर्दागर्दै
कतिबार मर्छ कतिबार ब्यूँझन्छ, कर्णाली।

निरक्षर कर्णालीलाई
रित्ता स्कुलले निर्निमेष हेररिहँदा
माइतीघर मण्डलामा
शिक्षा दिवसका नारा घन्किरहँदा

नयाँ नेपालको मानचित्रभित्र
खै पर्‍यो कि परेन कर्णाली
नयाँ नेपालको परकिल्पनामा
कर्णालीको अनुहार फेरन्छि कि फेरिंदैन।

1 thought on “कर्णाली”

Leave a Reply

Your email address will not be published. Required fields are marked *