Skip to content


म जहाँ जन्मे
त्यहाँका पाखा पखेरामा
त्यहाँका बेसीहरूमा
त्यहाँका खर्कहरूमा
त्यहाँका जीवनहरूमा
अचाक्ली
अचाक्ली
प्रतिभाहरू जन्मेका छन्
नपत्याए,
त्यहाँका कुनाकाप्चाहरूलाई सोध
त्यहाँका लेख्नै बाँकी रहेको कथा व्यथालाई छुन
धाउलेदेखि काउले
काउलेदेखि शिवपुरीसम्मका
गोरेटोहरूलाई सोध
चौतारीलाई सोध
अझ,
त्यहाँका प्रतिभाहरू
कसरी प्रस्फुटित भएका छन्
यति मात्र हो
प्रतिभा प्रस्फुटित भएका छन्
प्रतिभाहरू जन्मेका छन्
विश्व मानचित्रमा
देवकोटाले ‘थोप्लो जत्रो नेपाल नै विशाल देखेझै’
मैले पनि
यस नेपालभित्रको थोप्लोमा
बत्तीमुनिको अँध्यारोमा
ऊर्जाशील
सिर्जनशील अनुहारहरू
हातहरू देखेको छु
हेर्नुस्
यहाँ खैयमहरू प्रशस्तै जन्मेका थिए
भूपीहरू पनि
गोयबल्सहरू पनि
हिटलरहरूदेखि
सब माओ
स्टालिनहरू पनि
फरक यति थियो
यी गोरेटोहरूले
खैयम, भूपीहरू, देवकोटाहरू त
जन्माए
तर कविता नै लेख्न बिर्से वा
सम्झेर पनि लेख्न सकेनन्
हिटलरहरू जन्मे
तर आफ्नो पुरुषार्थ घरभित्र मात्र
छ्याङको स्वाङमा सिमाङ्कन गरेजस्तै
गोयबल्सहरू पनि जन्मे
तर
चिया पसलमा मात्र सीमित भए
यहाँका चौतारीहरू मौन भए
यहाँका कथा-व्यथाहरू टुलुटुलु हेर्न
विवश रहे
यहाँका माया पिरतीका भाकाहरू
औँलाएर लेख्नै नपाई
यौवनको छोटो समयजस्तै
छोटो हुँदा

नवउत्साही हातहरूमा
कथा-व्यथाको सिर्जनाहरूमा
लाग्न
अभिप्रेरित हातहरूमा
मनको वेदनाहरूको पर्खाइमा
लागिरहेका नवसिर्जनाका संवाहकहरूमा
यो अन्तरमनबाट भन्न चाहन्छु
शुभेक्षाका आयामहरू प्रस्तुत गर्न चाहन्छु
हिलोमा कमल फुल्छ है
त्यसैले
यहाँका पाखा पखेराबाट
देवकोटाहरू, भूपीहरू
नवसिर्जनाका पालुवाहरू
अचाक्ली छन्
जन्मन सक्छन्
जन्मछन्
पक्का
यी अनवरत रूपमा बगिरहेका
नवसिर्जनाका पालुवाहरूमा
नव सिर्जनाका आयामहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *