धृति साँच्दा साँच्दै अनागत बनिदिन्छ जीवन
अनारम्भ मै आगतको बाटो हेरिदिन्छ जीवन
सरल बन्ने नाउँमा जटिल बनिदिन्छ जीवन
नाम कमाउने निहुँमा बदनाम बनिदिन्छ जीवन
धर्म गरेँ भन्ने भ्रममा पाप भरिदिन्छ जीवन
डराई डराई पाईला चाल्दा जोखिम भरिदिन्छ जीवन
आशै आशामा रमाउन खोज्दा नीराशामा डुबिदिन्छ जीवन
उत्तर खोज्दै हिँड्ने क्रममा प्रश्नको पेटारो बनिदिन्छ जीवन
आँशु लुकाउँदा लुकाउँदै पनि कायर बनिदिन्छ जीवन
सज्जनरुपी सिला खोज्दा मौकापरस्तको भीडमा हराइदिन्छ जीवन
नकावपोशहरूको रमाइलो मेलामा एक्लो बृहस्पति बनिदिन्छ जीवन
पुष माघको जाडोमा पनि भदौरे धूपले डढाउँँदाको क्षण बनिदिन्छ जीवन
गुच्छादार फूलको लोभमा काँडा बनी घोचिदिन्छ जीवन
घृणा र द्वेषले भरिएको सन्सारमा पनि प्रेमको माला जपिदिन्छ जीवन
रहश्यै रहश्यको पोको भित्र कोरा कागज बनेर निस्किदिन्छ जीवन
त्यति हुँदा हुँदै पनि जिउने मेलो बनिदिन्छ जीवन
त्यति हुँदा हुँदै पनि जिउने मेलो बनिदिन्छ जीवन ।
First published: 2014-12-24 08:35:54 +0545
