यो कस्तो नियति!
शरीर मेरो, रगत मेरो, मुटु मेरो,
तर स्पन्दन नियन्त्रण गर्ने कुन्जी तिम्रो!
तिमीले ताल्चा खोलिदिँदा हदैसम्म रमाउने
बन्द गरिदिए, धडकन नै हिच्किचाउने!
तिम्रो साथको अनुभूति हुँदा आकासिन थालिहाल्ने,
सुन्दर शहर, फूलवारी र हरियालीको दृश्यावलोकन गरिहाल्ने!
तिमी बिनाको कल्पनाले मात्रै पनि
खडेरीको खोलाको रुप लिने!
जहाँ खोलाले बनाएका डोबहरू त देखिने,
तर त्यसको जीवन्तता हराउने!
दुई किनारा त देखिने,
तर त्यसको महत्व कतै नहुने!
सुखी बन्न तिमी माथि भरपर्नु पर्ने!
यो कस्तो मेरो नियति!
तर त्यही नियतिलाई जीवन बनाउने मेरो रहर !
बल्छीमा पर्न तयार माछा जस्तो,
तिम्रो एउटा मायालु शब्दले हुरुक्कै भइदिने,
अनायासै तिम्रो निर्विकार भावको लागि ध्यानमग्न भइहाल्ने!
तिम्रो उपेक्षा अलिकति पनि सहन नसक्ने,
मुटुमा कीला ठोके जस्तो महसुस गर्दै
हरेक पटक भक्कानिन तयार हुने!
नयनलाई अनिँदो बनाइदिने,
वेदनाको ज्वारभाटा ल्याउन सक्ने!
यसको वावजुद,
त्यो कुन्जी तिम्रै हातमा सुम्पिन खोज्ने
आफ्नो अस्तित्व मेटाएर तिमीसँगै रमाउन चाहने
मेरो नियति, मेरो रहर
सधैँ सधैँ तिम्रै हुन चाहने!
