मनमा गुम्सिएर अटस मटस भएका भाव
अनि भावनाहरू
पोखिइरहेछन,
तर त्यसको कुनै अर्थ छैन;
सुन्ने धर्म निभाउने कानहरू,
तेलले डम्म भरिएका छन,
आँखाहरूले देख्न सक्दैनन
सायद, फुलो परिसकेको छ ।
हरियाली र बशन्त मुस्काइरहेछन्
तर सौन्दर्य चेतनाको खडेरी परेको छ ।
उन्मत्त खुसी र अथाह पीडाको भेद सम्झिने जमात
सुतुरमुर्गले बालुवामा टाउको लुकाएर
आफूलाई कसैले नदेखेको वहाना गरेझैँ गरिरहेछ ।
नायकलाई मात दिएर खलनायकीको डँका पिट्नेहरू
‘लाखे’ को भूमिकामा रमाइरहेछन ।
आकाश र पातालको गुण मापन गर्न नसक्दा
भृङ्गीराजको साटो बिषाक्त झारको खेती मौलाइरहेछ ।
मन अथाह ब्यथाले चहर्याइरहेछ,
त्यसैले,उ वारम्वार प्रश्न गर्छ,
तिमीहरू किन चेतनाको दियोबाट प्रदीप्त
उज्यालो लत्याइरहेछौ?
किन भड्खालोमा जाकिन खोजिरहेछौ?
किन परजीवी र पराधिन मनस्थिति बनाउँदै
उनीहरूमै निर्भर भइरहेछौ?
आखिर किन बुझ्दैनौ,
असली शक्ति त तिमी भित्रै सुरक्षित छ,
त्यसको निमित्त तिमीले जाग्नु आवश्यक छ ।
जाग र जगाउ,
तिम्रो चेतना खेरा नपठाउ ।
चेताइलाई चेतावनीमा बदलिदेऊ ।
