Skip to content

यो दैव कै खेल हो !


आयो काल बनी भयङ्कर ठुलो, हल्यो सबै धर्ति यो ।
कैयौं मानिस ती हताहत भए, सारै बिचल्नी परो ।।
कोहीका शव छन् विभत्स अति नै, चोक्टा र लाम्टा कतै ।
चिच्याएर कतै गुहार अरुको, माग्दै गरेका कतै ।।

हाहाकार भयो ढले महल ती, प्राचीनका सम्पदा ।
हेर्छौ देव यहाँ बिजोक अरुको, मन्दिर ढलेछन् उता ।।
सारा ध्वस्त भए, विशाल् भवन ती, छिन्मै मिले धर्तिमा ।
यस्तो दण्ड त्यहाँ दिएछ कसले ? के दर्द पोखौं यहाँ ।।

बस्ती सम्म भए; समस्त घरका, गर्लम्म छाना ढले ।
आँखै सामु त्यहाँ, ढलो धरहरा मान्छे बिपत्ता भए ।।
लाखौं हैन करोडको क्षति भयो, पाहाड खस्दा त्यहाँ ।
मान्छे धेर मरे अझै कति अहो ! त्यो सिन्धुपाल्चोकमा ।।

भत्केका घरको धुलो गगनमा, फैली अँध्यारो भयो ।
त्यै बेला जलबर्षियो जमिनमा, मान्छे भिजेको थियो ।।
छानो भो नभको, चिसो भुवन यो, झर्दैछ बर्षा अझै ।
के ले यो धरती छिनै छिन अझै, झड्का दिदैथ्यो सधैं ।।

आमा बाबु बिते, ढले नि कतिका, न ठाउँ बस्ने त्यहाँ ।
नाङ्गा आङ लिई बसेर टुहुरा, बेथा बिसाउन् कहाँ ?
हो यो जादु कतै, कतै कि कसको, कि दुष्ट कै झेल हो ?
पृथ्बी फुट्न गयोः ठुलै प्रलय भो, यो दैव कै खेल हो l

२०७२ । १ । २२
इटहरी – ५
छन्द :- शार्दुलबिक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *