पहिलो भेटः
वषौंपछि अनायास भेट भयो । उत्साहले हामी रेस्टुरेन्टमा पस्यौं । पुराना गफगाफमै हाम्रो समय बित्यो । त्यस दिन दुवैलाई अलि हतार थियो । अन्तमा हामी बाइकमा बस्यौं । स्टाट गर्नु अधि उनले बडो प्यारपूर्वक भनिन्, “चिनजान पनि हुन्छ, घरसम्मै जाऊँ है ।”
दोस्रो भेटः
एक हप्ता नबित्दै फोन आयो । म हत्तपत्त अफिसै छोडेर हिडेँ । हामी उही रेस्टुरेन्ट पस्यौँ । कुराले धेरै मोड लिदैं फिल्मको कुरो चल्दै थियो, त्यतिखेरै अफिसबाट फोन आयो । हामी उठ्यौँ र बाइकमा चढ्यौं । लपक्क टाँसिदैँ उनले खुसुक्क भनिन्, “यो भित्री बाटो भएर जाऊँ है ।”
तेस्रो भेटः
केही दिनमै फेरि फोन आयो । हामीले फरक ठाउँ रोज्यौँ । स्वार्र पर्दा तान्यौँ, छैसठ्ठी डिग्रीमा ढल्कियौं, चिसो तातो मगायौं । बाहिर खर्लप्प दिन बितिसकेको रहेछ । अन्तमा हतार हतारमा मैले बाइक स्टाट गरेँ र बस्न आग्रह गरें । उनले अप्ठ्यारो मान्दै अलि दबेको स्वरमा भनिन्, “भो अरुले देखे भने…।”
