
मलाई एक्कासी कोठाभित्र पस्दै गरेको देखेर उ बेस्सरी झस्कियो। उसको हात थरर्र काप्यो। दशको नोठ भुईमा झरयो। अब म र उसको बीच एक हातको दुरी मात्र बाकी थियो। उ पिजरामा परेको पंछी जस्तै निसास्सियो। उ डरले काप्दै थियो। उसका झुकेका आंखाहरु क्षमाको भिख मागिरहेका थिए।
“गधा, कुकुर………..चोर” मेरो गर्जन सुनेर उसका आँखाबाट आँशुका थोपाहरु बर्सिए। म रिसले आगो भएको थिए। मैले उसमाथि जोडले लात्ति बजाए। उसको झिनो शरीर हुरीले लाछारेको हाँगो झैँ भुईमा लड्यो। उसका आँखा साउन झैँ बर्सिरहेका थिए। मैले उसमाथि अर्को प्रहार गरे। अब भने उसको गुम्सिएको रोदन फुट्यो। उ ग्वाँ ग्वाँ रुन थाल्यो। उ रोएको सुनेर उसकी आमा पनि आई पुगी। शायद आमामाथि भारोसा थियो उसलाई। तर मेरो खल्तीको पैसा चोरेको कुरा सुनेपछी आमा पनि उ माथि जाईलागी।
“कुन दिनमा जन्मेछ नि ……………..अलच्छिनी” उसकी आमाले वितृष्णा पोख्दै भनि। छोरा प्रतिको आमाको व्यबहारमा पनि यहि बेलादेखि परिवर्तन आयो। त्यस दिन पश्चात परिवारका सबैले उसको उपेक्षा गर्न थाले। उसकी सानी बैनी समेत उसलाई तोतेबोलिमा “तोल” भन्न थाली। एवंरीतले उसको नाम आयुषबाट चोर भयो। उसको यो अवस्था देख्दा मलाई विजयको आभास हुन्थ्यो। सबैबाट उपेक्षित आयुष पुजाको फूलझैँ दिनप्रतिदिन ओईलाउदै जान थाल्यो। यो उदास र एक्लो आयुषलाई चोर नाम स्वीकार्य भईसकेको थियो।
एकदिन उ स्कुलबाट फर्किदै गर्दा मैले उसलाई साथीसँग रुदै गरेको देखे। साथीसँग मनको दुख पोख्दै गर्दा उसका आँशुहरु तपतप झरिरहेका थिए। उसको दुख सुनेर साथीले भन्दै थियो “तिमी आमालाई भनन आयुष। आमाले त दिनुहुन्छ होलानी कापी कलम किन्नको लागि पैसा………….” “नाई नाई, फेरि बाबाले …………” शायद थप्पड र लात्ति संझेर होला, उ झस्केको। मेरा पाईलाहरु उ गएतिर लम्किए। अचानक मलाई अगाडी ढेखेर उ आत्तियो। उ दयाको भीख मागेर मूर्तिवत् उभिईरह्यो। “बा…..म …..अ” उसको बोली रोकियो। मेरो हात उसको कलिलो गलामा बजारियो। गालामा पांच औलाको छाप पर्यो। उसको गाला रातो भयो। उ लज्जावती झार जस्तै ओईलायो। उसको साथी अक्क न वक्क पर्यो।
भोलिपल्ट एकाबिहानै उसकी आमा हस्याङफस्याङ् गर्दै आएर आयुष हराएको खबर सुनाई। यसपाली मलाई विजयको आभास भएन। म एक्कासी नर्मस भए। उसकी आमाले रुदै भनी “मलाई साह्रै डर लागिराखेकोछ। हिजो स्कूलबाट फर्केपछि मलाई अंगालेर आयुष धेरै बेर रोईरह्यो। मैले के भयो भनेर सोध्दा झन् जोड जोडले रोईरह्यो।” मलाई जीवनमा पहिलोपल्ट आत्माग्लानी र अपराधबोध भयो। उसकी आमाको आँखामा गहिरो पिडा र सन्त्रास देखे “सारा संसार खोजे छोरो कंही भेटिएन। बिन्ति छ हजुरलाई छोरो खोजेर ल्याईदिनुस।” “के गरे मैले यस्तो?” मनमा कसैले आगो लगाए जस्तो भयो। पत्तै भएन आँखामा बादल लागेछ। आँशु पुछे।
धेरैबेर होहल्ला मच्चियो। सबै जना उसैलाई खोज्दै थिए। रुवाबासी नै चल्यो। म भने बाटो हराएको यात्री झैँ यताउता भौतारिदै थिए। “आयुष….. आयुष….बाबु….छोरा।” मलाई आफ्नै स्वरले झस्कायो। चोर आज …..आयुष….बाबु….छोरा कसरि भयो? खोज्दा खोज्दा नभेटे पछि छिमेकीहरु घर फर्के। मेरो परिवारजन पनि सुस्ताए। तर म रोकिन सकिन। छोरालाई खोज्दै जादा म पोखरा बसपार्क पुगेछु। तिन घण्टाको बाटो हिडेको मलाई पत्तै भएन। पोखरा बसपार्कमा मेरो भेट राम संग भयो।
रामलाई देख्दा संधै म तिनै भयावह दिनहरु सम्झिन्छु। बस्ती पुरै मरुभूमि जस्तो भएको थियो। तन्नेरी जवान अनि युवतीहरु गाउँमा देख्न गाह्रो थियो। बुढाबुढीहरु बेलाबेलामा बाहिर निस्केर छोराछोरीको बाटो हेर्थे। फेरि लुसुक्क भित्र पस्थे। त्रस्त थियो सारा गाउ। तेहि समयको कुरा हो, एक रात गोली र बारुदले बस्तीनै उडाउला जस्तो भयो। त्यस रातभरि म र मेरो परिवार सास दबाएर खाटमुनि लुक्यौ। बिहान ६ बजेपछि मात्रै सन्नाटा छायो। मैले झ्यालबाट चियाएर हेरे। सुनसान। मध्यान्हतिर बल्ल रुवाबासी सुनियो। दबेका रोदनहरु फुटे। त्यहि रात राम बाहेक उसको सारा परिवार चिहान भयो। राम त्यो रात उसकी मावलीको हजुरआमाको घरमा भएकोले उसको ज्यान बच्यो। अरु थुप्रै निर्दोषहरुले ज्यान गुमाए। कयौं घर अनि प्रहरी चौकीहरु घ्वस्त भए। त्यो घटना हुदा राम ७ बर्षको मात्र थियो। उसको आफ्नो भन्नु तिनै एउटी हजुरआमा थिईन, तिनको पनि निधन भएपछि रामको बिचल्ली नै भयो। युदॢका नाइकेहरु सभासद् र मन्त्रीहरु भए। तर रामलाई फर्केर हेर्ने कोहि भएन। उ ११ बर्षको उमेरमा बसपार्कको होटलमा भाडा माजेर पेट पाल्न बाध्य भयो। उसको स्कूल जाने सपना तुषारापात भयो।
मैले रामलाई कहि आयुषलाई देख्यो कि भनेर सोधे। राम मलाई देखेर अलमल्ल पर्यो। हिजो उसले आयुषलाइ देखेको रहेछ। “हिजो साँझ उ त्यो बेन्चमा एकजना बच्चा झोक्राएर बसेको देखे। नजिकै गएर हेरेको त आयुष पो……म त अचम्मै परे। किन यहाँ यसरी बसेको भनेर सोधे…..बाबासँग काठमाडौँ जान लागेको भनेर भन्यो। बाबा खोइ त भनेको टिकट काट्न जानु भाछ भनेर जवाफ दियो। अनि त म साहुले बोलाएर भित्र गए। पछि बाहिर निस्कदा बेन्च खाली थियो।” मैले खल्ती छामे, पैसा त रैछ। यसैपनि पैसा खल्तीमै हुन्छ मेरो। कुनै गाउँ जाने मान्छेसंग म आयुषलाई खोज्न काठमाडौँ गएको खबर पठाइदिने जिम्मा रामलाई दिएर म उ संग विदा भए।
“ल ल काठमाडौँ, सरर एक्सप्रेस………” गाडी ढक ढक ठोक्दै थियो खलासी। बसमा मान्छेहरु खचाखच छन्। सास लिने ठाउँ छैन, मान्छे बोलाएको बोलएई छ। पैसाले कसलाई पुगेको छ र? मलाई छटपटी भैराखेको थियो। तैपनि केहि बोलिन। बस्तीहरु सकिएपछि बल्ल अलि शान्त भयो। प्रकृतीको मनोरम दृश्य सुरु भयो। कति सुन्दर छन् यी खोलानाला, पहाड पर्वत . कति सुन्दर छ यो देश नेपाल। हिमाल, पहाड, तराई। बिशिष्ट खालको भौगालिक र प्राकृतिक पहिचान। यो देश एउटा उच्च कोटिको विकशित देश हुनुपर्ने तर………. । एउटा सानो देश, सभासद भने ६०१। संबिधान बनाउनु त कता कता संबिधानसभाको म्याद थपेको थप्यै, अनि फेरि अर्को चुनाव। कस्तो अचम्म, किन देशलाई यसरी आर्थिक भार थपेका यिनले? “ल नौबिसे…..” म झसक्क झस्के। फेरी उही खाने पिउने सुरु भयो। बस स्टाफहरु कुनातिर पसे, फोकटको खानलाई। यात्रीहरु झुम्मिदै थिए खिर, रोटि, चाउचाउ, चिकेन…… । मलाई भने केहि खान मन थिएन। पुसको जाडो, बिना पैसा कंहा होला आयुष। भोकै होला मेरो छोरो।
“ल काठमाडौँ नयाँ बसपार्क….” खलासी जोड जोडले भन्दै थियो। म बसबाट ओर्ले। झमक्क परेको साँझ। चिसो मौसम। म चारैतिर आयुषलाई खोज्न थाले। मान्छेहरु संग सोधे। बालाजु, बनस्थली, पुरानो बसपार्क, न्यू रोड, पुतलीसडक, बानेश्वर………….। म हिड्दा हिड्दा लखतरान परे। एक छेउमा उभिएर पर परसम्म आँखा डुलाउछु। मेरो आशाको दियो निभ्ला जस्तो भयो। सुनसान गल्लि मात्र। आयुष कहिँ छैन। न बोल्छ पवन न त यहाँ गोरेटो केहि भन्छ। जताततै फोहोर बिरूप। एउटा चिसो एस्ट्रे जस्तै लाग्यो काठमाडौँ। भूपी शेरचनले चिसो एस्ट्रे कवितामा लेखे जस्तै।
कता जाउ। कुनै गन्तव्य छैन। फेरि उही नयाँ बसपार्क तिर लागे। बसपार्क पनि सुस्ताई सकेछ। पक्षतापले मन पोल्दै थियो “मैले उसलाई राम्रो संग सम्झाउनु पर्ने। बालकलाई के थाहा हुन्छ। बालक त भगवानको रुप हुन्छ भनिन्छ।” मैले आफुलाई राक्षस जस्तो महसुस गरे।
एकाध बसहरु छुट्दै थिए। म एकसुरले परपर हेर्दै थिए। फाट्टफुट्ट मान्छेहरु हिड्दै थिए। खोई त आयुष। मुटु झनै दुख्यो। घाउमा काडा रोपे जस्तै। पीडाको सागरमा यसरी डुबिरहेको बेला झिनो दयालु आवाज कानमा पर्छ। “हजुर मलाई दया गर्नुस हजुर मेरो कोहि छैन।” मैले पुलुक्क हेरे। एउटा बालक लुगलुग काप्दै हात फैलाईरहेको थियो। नजिकै बाट हेरे। मलाई ठूलो भुईचालोको धक्का महसुस भयो। “आयुष…..बाबु……”
भिखको लागि फैलाएका उसका हातहरु जोडले काप्दै थिए। उसको सातोपुत्लो उड्यो मलाई देखेर। तर उसको अन्योल तुरुन्तै तोडिन्छ। मैले यसपाली उसलाई थप्पड हानिन। कुनै गाली पनि गरिन। निर्दोष बालक माथि गरेको दुर्ब्यवहारले मलाई पोल्नु सम्म पोलिसकेको थियो। यतिका बर्षपछि मलाई सन्तान प्रतिको कर्तव्यबोध महसुस भएको थियो। मैले उसका हातहरु मायाले समाए। उसलाई छातीमा टासे। यति धेरै सुख र शान्ति पहिलो चोटी अनुभव गरे जीवनमा।
