Skip to content


‘ए बिरानो जिन्दगीमा सपना छरिदिनेहरू,
प्रस्तरमा कुँदिएको आकृति मेटाउन
कहाँ सजिलो हुन्छ र!
जब ढुङ्गोले मन: पूत आकार लिन्छ
तब तिनै सपनाका सौदागरहरू
उर्लंदै बगेको नदीमा
सपनाको भारी हुत्याउने आदेश दिन्छन्!
उनीहरू, यति पनि बुझ्दैनन्
हरेक दिनका आफ्नै महत्व हुन्छन्,
हरेक क्षणका अनेक ‘निमित्त’
कुनै दिन उनीहरूका बुझाई सुन्दर थिए होलान्!
कुनै समय अरुका लागि अकाट्य!
उनीहरूलाई त यो पनि थाहा नहोला,
मृत्युशैयामा पुग्न लागेका मानव समेत
जिगीषा त्याग्न नसकेर
हिक्का काड्दै टोल्हाइरहेका हुन्छन्
सपना छर्नु या फूलको शैयामा निदाउनु
उस्तै लागेपनि,
सपना सधैंँ देख्न सकिन्न!
देखे नै पनि सम्झन सकिन्न!
त्यसैले जब तिमीहरू,
श्रीखन्डको चितामा
घ्युको धारो खन्याएर
‘तेरा सपनाहरूलाई मान सम्मानका साथ
जलाइदिन्छु’ भन्छौ भने पनि,
देखिसकेको सपनालाई अग्निदहन गर्न
कदापि तयार छैन
किनकि,
रोक्न नसकिने, ती पलहरू
हॉस्न नसकिएका, ती क्षणहरू
सबै सबैलाई पटाक्षेप लगाउँदै,
आशाका महलहरू ठड्याउने
इच्छा र आकाँक्षाको घान हालिसकिएको छ;
त्यसैले सपनालाई,
मनको मन्दिरमा सजाउने रहर कसले छोड्न सक्ला र!
बरु,
त्यसको अँशियार तिमीहरू पनि पक्कै हुनेछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *